शिक्षा

प्रादेशिक विश्वविद्यालयबारे सुझाव संकलन

खोटाङ – प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि ओखलढुंगामा सुझाव संकलन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ अन्तर्गत प्रादेशिक विश्वविद्यालय सम्भाव्यता अध्ययन कार्यदलले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका क्याम्पस प्रमुख, प्राध्यापक, क्याम्पस सञ्चालक समितिका अध्यक्ष, विद्यार्थी भेला गरेर अन्तक्र्रिया गर्दै सुझाव संकलन गरेको हो।

राज्यको पुनःसंरचनासँगै प्रदेशस्तरीय विश्वविद्यालय स्थापनाका लागि आवश्यक सुझाव संकलन गर्न विभिन्न जिल्लामा कार्यक्रम राखिएको कार्यदल सदस्य डा. देवी क्षत्रीले बताए। ‘प्रादेशिक विश्वविद्यालय स्थापनाको सम्भाव्यता लागि इलाम र ओखलढुंगामा सुझाव संकलन गरिसक्यौं, अब सुनसरी र धनकुटामा पुगेर सुझाव संकलन गरिन्छ,’ उनले भने, ‘विभिन्न ठाउँमा गरिएको छलफल तथा अन्तक्र्रियाबाट प्राप्त सुझाव समेटेर माघ २५ गतेभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेगरी काम गरिरहेका छौं।’

जिल्ला समन्वय समिति ओखलढुंगाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागीले हालको त्रिविकै संरचनाअनुसार प्रादेशिक विश्वविद्यालयको संरचना निर्माण गर्न, प्रदेश विश्वविद्यालमया साधारण, प्राविधिक र खुला विषय समेट्न, प्राविधिक विषयलाई बढी प्राथमिकता दिएर शैक्षिक संरचना तयार गर्न, प्राज्ञिक क्षेत्रलाई राजनीतिक प्रभावमुक्त र संगठनरहित बनाउन, सघन विश्वविद्यालयको अवधारणाअनुसार पठन–पाठनको व्यवस्था हुनेगरी प्रदेश विश्वविद्यालय स्थापनाको सम्भावना रहेको सुझाव दिइएको छ। यस्तै स्थानीय तथा प्रदेश सरकारले कुल बजेटको न्यूनतम १० प्रतिशत बजेट शिक्षामा खर्च गर्ने व्यवस्था मिलाएर तथा प्रदेशका आयोजनाको मुनाफाको केही अंश प्रादेशिक विश्वविद्यालयको खातामा जम्मा गर्ने व्यवस्था गरेर प्रदेश विश्वविद्यालय सञ्चालनका लागि स्रोत जुटाउन सकिने ज्ञानज्योति क्याम्पस ओखलढुंगाका गणेशप्रसाद कट्टेलले सुझाव दिए।

सहभागीले विश्वविद्यालय सञ्चालनका लागि प्रदेशका प्राकृतिक स्रोत तथा सम्पदालाई समेत आर्थिक स्रोतको सम्भावनाका रूपमा उपयोग गर्न, स्थानीय–प्रदेश सरकारबाहेक वैदेशिक सहयोगबाट समेत आर्थिक रकम जुटाउन सकिने सुझाव दिएका छन्। यस्तै प्रदेश विश्वविद्यालय सञ्चालनका लागि स्रोत जुटाउन, स्वच्छ शैक्षिक वातावरण बनाउन र नीति निर्माणका क्रममा प्रदेश सरकार र स्थानीय सरकारबीच सहकार्य हुनुपर्ने, अहस्तक्षेपको नीति अवलम्बन गरिनुपर्ने सुझाव दिइएको छ। तीन जिल्लाका सहभागीले सुनसरीको इटहरी, खोटाङको दिक्तेल वा ओखलढुंगाको रुम्जटारमा प्रादेशिक विश्वविद्यालय स्थापनाका लागि उपयुक्त हुने धारणा राखेका छन्।

प्रादेशिक विश्वविद्यालय स्थापनाको सम्भाव्यताबारे सुझाव दिन खोटाङबाट दिक्तेल बहुमुखी क्याम्पसका प्रमुख हीराकुमार राई, सञ्चालक समितिका अध्यक्ष देवी रिजाल, साकेला क्याम्पसका प्रमुख शिवेन्द्र राई, रावा क्याम्पस खार्पाका प्रमुख दीपक पोखरेल, हलेसी क्याम्पसका चक्र राईलगायत ओखलढुंगा पुगेका थिए।

प्रकाशित: २० पुस २०७५ ०२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App