शिक्षा

शिक्षा फाँटमा कर्मचारीको अभाव

डोल्पा – डोल्पाका आठ स्थानीय तहका शिक्षा फाँटहरू दरबन्दी अनुसारका कर्मचारी नहुँदा तीन जना स्रोत ब्याक्तिको भरमा चलेका छन्। उसले गर्दा स्थानीयलाई समस्या परेको छ।

यहाँको मुड्केचुला गाउँपालिकामा मात्रै एक जना प्राविधिक सहायक भएको र अन्य स्थानीय तहमा निरीक्षक तथा प्राविधिक सहायकको दरबन्दी भएपनि पदपूर्ति हुन नसक्दा कामकाजमा समस्या परिरहेको त्रिपुरासुन्दरी नगरपालिकाका निमित्त कार्यकारी नेत्रराज गिरीले बताए।

कर्मचारी नहुँदा स्रोत ब्याक्तिले चिठी दर्तादेखि चलानी गर्नेसम्मको काम पनि आफैं हेर्नुपरेको गिरीले बताए। कर्मचारी नहुँदा शिक्षा योजना निमार्ण, विद्यालय निरीक्षण, जिल्लास्तरीय परिक्षा संचालन लगायतका कामकाज गर्न कठिनाई हुने गरेको छ। स्थानीय तहको निर्वाचन भएको यतीका सयमसम्म पनि कर्मचारी नपठाउँदा शिक्षा क्षेत्रमा काम गर्न नसकिएको जनप्रतिनिधिले बताउँदै आएका छन्।

कर्मचारी नहुँदा नियमित कामकाज गर्न पनि समस्या परिरहेको ठुलीभेरी नगरपालिकाका निमित्त मेयर तथा वडा नम्बर ९ का अध्यक्ष बिरमल भण्डारीले बताए। जिल्लामा तीन जना स्रोत ब्याक्ति भएको र ३ जनाले आठ स्थानीय तहमा पालैपालो काम गर्ने गर्नुपरेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सिँहराज डाँगीले बताए।

प्रकाशित: ११ पुस २०७५ ०८:१४ बुधबार

डोल्पा स्थानीय_तह शिक्षा_फाँट कर्मचारी