शिक्षा

शैक्षिक सुधार गर्नैपर्छः सभामुख महरा

रोल्पा– ‘जीबनको २२ बर्ष मैले यहि स्कुलमा बिताएको छु। ८ बर्ष विद्यार्थीका रुपमा यहि पढे भने बाँकी समय शिक्षकका रुपमा बिताए। समग्रमा शिक्षाको गुणस्तर सुधार गर्न कठिन छ तर पनि गर्नैपर्ने चुनौती छ’, गृहजिल्ला रोल्पा पुगेका सभामुख कृष्णबहादुर महराले भने। ‘गुरु योजना तयार गरी अब शैक्षिक स्तरमा सुधार ल्याउनु पर्छ। २२ बर्ष मैले पनि पसिना बगाएको छु, गर्नसक्ने सहयोग म पनि गर्ने छु। अब सबै बिद्यालयहरुमा शैक्षिक सुधार गर्नै पर्छ।’ पूर्व बिद्यार्थी मिलन कार्यक्रममा बोल्दै सभामुख महराले बताए। 

शनिबार रोल्पा सदरमुकाम लिवाङमा बाल कल्याण नमुना माध्यमिक विद्यालयका पूर्ब बिद्यार्थीले शैक्षिक सुधारमा सहयोग गर्ने भन्दै औपचारिक कार्यक्रम आयोजना गरेका हुन। उपराष्ट्रपति नन्दबहादुर पुन, उर्जा मन्त्री बर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, नेता नेत्रबिक्रम चन्द बिप्लब, प्रदेश न. ५ का कानुन मन्त्री कुलप्रसाद केसी, पूर्वमन्त्री जयपुरी घर्ती लगायतले अध्ययन गरेको यो बिद्यालयको शैक्षिक सुधारका लागि भन्दै आयोजना गरिएको कार्यक्रमले बिद्यार्थी र बिद्यालय परिवारलाई थप हौसला दिएको कार्यक्रमका अयोजक समेत रहेका कुलबहादुर डाँगीले बताए।

देशकै राजनीतिमा उच्च प्रभाव राख्ने नेता जन्माएको यो बिद्यालयमा अझै पनि २२ जना शिक्षक निजी श्रोतका भरमा छन्। भौतिक रुपमा पनि प्रशस्तै सुधार गर्नुपर्ने छ। कार्यक्रममा बोल्दै प्रदेश न. ५ का कानुन मन्त्री कुलप्रसाद केसीले शैक्षिक सुधार गर्नुपर्नेमा सबैले ध्यान दिनुपर्ने बताए। भिआइपी जन्माउने बिद्यालयका रुपमा चिनिएको बाल कल्याण नमुना माध्यमिक बिद्यालयमा अहिले प्लस टु संगै प्राबिधिक शिक्षा पनि अध्यापन भइरहेको छ। 

प्रकाशित: ७ पुस २०७५ ११:१९ शनिबार

कृष्णबहादुर_महरा शैक्षिक_सुधार