शिक्षा

बीचमै पढाइ छाड्छन् चेपाङ विद्यार्थी

भोटे गाउँ आधारभूत विद्यालयका विद्यार्थी। तस्बिरः सविता/नागरिक

चितवन – भोटे गाउँ इच्छाकामना गाउँपालिकाको वडा नम्बर २ मा पर्छ। चितवनको पहाडी क्षेत्रमा रहेको उक्त गाउँमा चेपाङ जातिको मात्र बसोबास छ। गाउँमा शिशु कक्षादेखि ३ सम्म पढाइ हुने भोटे गाउँ आधारभूत विद्यालय पनि छ। जहाँ चेपाङ बालबालिका मात्र पढ्छन्। विकट क्षेत्र भएकाले बालबालिकालाई घरबाट विद्यालय आइपुग्न एक घण्टासम्म लाग्ने विद्यालयका प्रध्यानाध्यापक निमबहादुर बुढाथोकीले जानकारी दिए।

गाउँमा २०४५ सालमा विद्यालय खोलिएको हो। प्रस्तावित विद्यालय खोलिएकै ठाउँमा २०४७ सालमा अहिलेको विद्यालय स्थापना गरिएको उनले बताए। स्थापना कालदेखि नै निमबहादुर विद्यालयमा कार्यरत छन्। सुरुका केही वर्ष विद्यालयमा २० जनाजति विद्यार्थी थिए। विद्यालय खुलेको पाँच वर्षपछि विद्यार्थीको संख्या ३० भन्दा माथि नै छ। ‘प्रायजसो ४०–४५ जना हुन्छन्,’ उनले भने, ‘३० भन्दा तल भएको छैन।’

गाउँमै रहेको विद्यालयमा ३ कक्षासम्म पढ्ने विद्यार्थीको संख्या राम्रो भएको उनले सुनाए। यहाँबाट ३ पास गरेपछि भने इच्छाकामना गाउँपालिका–२ कै कल्याणटारमा रहेको जनप्रिय माविमा पढ्न जानुपर्छ। जहाँ पुग्न भोटे गाउँ विद्यालयबाट एक घण्टा हिँड्नुपर्छ।

गाउँपालिकाकै अरू स्थानका बासिन्दा भोटे गाउँलाई ‘लेक’ भन्छन्। विकटमा रहेको चेपाङ बस्तीमा विकास हुन सकेको छैन। गाउँमा विद्यालय खोलिएका ३० वर्ष पुग्दा पनि चेपाङ समुदाय शिक्षामा अघि बढ्न नसकेको प्रध्यानाध्यापक बुढाथोकी बताउँछन्। भोटे गाउँमा १२ कक्षासम्म पढ्ने चेपाङ दुई जना मात्र भएको उनले बताए। यस्तै एसएलसी÷एसइई गर्ने पाँच जना मात्र छन्। ‘३ कक्षा पास भएपछि कति त अर्काे विद्यालय नै जाँदैनन्,’ उनले भने, ‘केही भर्र्ना भए पनि बीचमै पढाइ छाड्छन्।’

कमजोर आर्थिक अवस्था भएकाले उनीहरूले बीचमै पढाइ छाड्ने गरेको उनी बताउँछन्। ११÷१२ वर्ष पुग्नासाथ पढाइ छाडेर कुल्ली र ज्यालादारी काममा जाने गरेको उनले बताए। गत शैक्षिक वर्षमा भोटे गाउँ विद्यालयबाट ३ कक्षा पास गरेका प्रदीप चेपाङ ४ कक्षामा भर्ना भएका छैनन्। आफूसँगै पढेका अरू साथीहरू पनि पढ्न नगएको प्रदीपले बताए। विद्यालय टाढा भएकाले पढ्न नगएको उनी बताउँछन्।

मैटेसमा रहेको सरस्वती आधारभूत विद्यालयमा पनि चेपाङ विद्यार्थी नै बढी छन्। ३९ विद्यार्थीमध्ये ३० जना चेपाङ समुदायका रहेको शिक्षक ज्ञानबहादुर चेपाङले जानकारी दिए। गाउँको विद्यालयमा पढाइ पूरा गरेका आधा विद्यार्थी मात्र माथिल्लो कक्षा पढ्न अर्को विद्यालयमा जाने गरेको उनले बताए। ‘अर्को विद्यालयमा भर्ना भएपछि पूरा पढ्ने थोरै मात्र हुन्छन्,’ उनले भने, ‘स्कुल टाढा छ, परिवार गरिब छन्, भर्ना गरेर पनि स्कुल नै जाँदैनन्।’

कल्याणटारमा रहेको जनप्रिय स्कुलमा माध्यमिक तहसम्म पढाइ हुन्छ। जहाँ भुर्केस, बाँसपुर, कोटथाप्के, मैटेस, फौदत, थापाथली, लेक (भोटेगाउँ) लगायतका ठाउँबाट विद्यार्थी पढ्न आउँछन्। उनीहरूलाई विद्यालय आइपुग्न आधा घण्टादेखि साढे दुई घण्टासम्म लाग्ने विद्यालयका प्रध्यानाध्यापक नेत्रबहादुर अधिकारीले बताए। घरायसी अवस्था, कामको खोजीमा बाहिर जाने तथा सानै उमेरमा बिहे गरेर विद्यार्थीले बीचमै पढाइ छाड्ने गरेको उनले जानकारी दिए।

कक्षा ५ पढेपछि धेरैजसो चेपाङ विद्यार्थी कुल्ली कामका लागि बाहिर जाने गरेको उनले बताए। कक्षा ५ सम्म पढ्नेलाई विद्यालयमै खाजा दिने व्यवस्था भएकाले विद्यार्थी पढ्न आउने गरेको प्रधानाध्यापक अधिकारी बताउँछन्। ‘५ कक्षा माथिका विद्यार्थीलाई भने नियमित विद्यालयमा आउने गराउन गाह्रो छ,’ उनले भने, ‘लेकका र अरू ठाउँका चेपाङ विद्यार्थीलाई नियमित पढ्न आउने गराउन सकिएको छैन।’

प्रकाशित: १२ मंसिर २०७५ ०२:०० बुधबार

इच्छाकामना_गाउँपालिका चेपाङ_विद्यार्थी पढाइ