रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–६ मा रहेको गोसाइँकुण्ड माविले कम्प्युटर शिक्षा पढाउन थालेको तीन वर्ष भयो। विद्यालयमा विभिन्न दाताले दिएका आठवटा कम्प्युटर पनि छन् । तर कक्षाकोठा अभावका कारण विद्यार्थीले कम्प्युटर छुन पनि पाएका छैनन्।
यो विषयको पाठ्यभार १०० पूर्णाङ्कको छ । जसमा ५० पूर्णाङ्कको थेउरी र ५० पूर्णाङ्कको प्राक्टिकल(प्रयोगात्मक) गर्नुपर्छ । प्रधानाध्यापक गुणराज पौडेलका अनुसार भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणको काम भर्खरै सुरु भएकाले कक्षाकोठा अभाव भएको हो । जसले गर्दा कम्प्युटर भएर पनि सञ्चालन गर्न नसकिएको उनले बताए । ‘हामीले स्थानीय विषयअन्तर्गत कम्प्युटर शिक्षा राखेका छौं,’ उनले भने, ‘तर भएका कम्प्युटर सञ्चालन गर्न नसक्दा पढाइ थेउरीमा मात्रै सीमित छ।’
नौकुण्ड गाउँपालिकाकै टिखर्कमा रहेको दुप्चेश्वर आधारभूत विद्यालयमा पनि तीन वर्षदेखि कम्प्युटर शिक्षा पढाइ भइरहेको छ । त्यहाँ पनि आठवटा कम्प्युटरमध्ये चारवटाले मात्रै काम गर्छन् । दसकोठे नयाँ भवनको एउटा कक्षामा कम्प्युटर शिक्षा दिने गरिएको प्रधानाध्यापक दावा छिरिङ तामाङले बताए । विद्यार्थीको अनुपातमा कम्प्युरटर नभएका कारण प्राक्टिकल गराउन नसकिएको उनको भनाइ छ।
रसुवामा आधारभूत तथा माध्यमिक गरी ४३ विद्यालय छन् । तीमध्ये ३९ विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन्छन् । त्यसमध्ये पाँच विद्यालयमा त कम्प्युटर नै छैन । भएका विद्यालयमा पनि कतै कक्षाकोठा त कतै शिक्षक अभावका कारण विद्यार्थीले कम्प्युटर चलाउन पाउँदैनन्।
गोसाइँकुण्ड गाउँपालिका–५, भार्खुस्थित भीमसेन आधारभूत विद्यालयमा कम्प्युटर भए पनि यो विषय पढाउने शिक्षक नहुँदा विद्यार्थीलाई ‘प्राक्टिकल’ ज्ञान दिन सकिएको छैन । विद्यालयमा कम्प्युटर हुँदाहँुदवै पनि कम्प्युटर शिक्षा सैद्धान्तिक ज्ञानमा मात्र सीमित भइरहेको छ।
जिल्लामा आधारभूत तथा माध्यमिक गरी ४३ विद्यालय छन् । तीमध्ये ३९ विद्यालयमा कम्प्युटर शिक्षा पढाइ हुन्छन् । त्यसमध्ये पाँच विद्यालयमा त कम्प्युटर नै छैन । चिलिमेको सरस्वती आधारभूत विद्यालय, गत्लाङको नेपाल राष्ट्रिय मावि, ग्रेको ग्रे आधारभूत विद्यालय र लहरेपौवाको ढुंगे आधारभूत विद्यालयमा कम्प्युटर नै छैन । भएका विद्यालयमा पनि कतै कक्षाकोठा त कतै शिक्षक अभाव छ । तोकिएको दरबन्दीअनुसार शिक्षक नभएका विद्यालयमा यो विषयका लागि मात्रै शिक्षक राख्न सक्ने अवस्था छैन।
भार्खुको भीमसेन आधारभूत विद्यालय र टिमुरेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कम्प्युटर त छन् तर विद्यार्थीले सिक्न पाएका छैनन् । यी विद्यालयमा कम्प्युटर शिक्षा भने पढाइ हुन्छ । विद्यालयहरूले कक्षा ६ देखि ८ सम्म कम्प्युटर शिक्षा पढाउँदै आएका छन् । शिक्षासम्बन्धी कार्यक्रम स्थानीय तहमा गएकाले यस विषयमा उनीहरूसँग समन्वय गर्ने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख बालकृष्ण सिंखडाले बताए।
प्रकाशित: ५ मंसिर २०७५ ०७:१९ बुधबार