शिक्षा

काठमाडाैंका विद्यार्थीले दिए कैलालीका विद्यार्थीलाई पुस्तक

धनगढी – काठमाडौंको कलंकीमा रहेको एलआरआई स्कुलमा अध्ययनरत विद्यार्थीले कैलालीका तीन विद्यालयलाई पुस्तक सहयोग गरेका छन्। विद्यालयमा नाटक मञ्चन गरेर संकलन भएको रकमले पुस्तक खरिद गरी उनीहरूले वितरण गरेका हुन्।

कैलालीको गौरीगंगा नगरपालिकाको महालक्ष्मी आधारभूत विद्यालय, चनौराको केदारेश्वर आधारभूत विद्यालय र गोदावरी नगरपालिकाको अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयका विद्यार्थीका लागि उनीहरूले पुस्तक प्रदान गरेका हुन्। ती विद्यालयमा पुस्तकालय स्थापनाका लागि पुस्तक प्रदान गरिएको एलआरआई कक्षा ९ मा अध्ययरत दीपांशु जोशीले बताए। दसैंअघि ‘टुटेको सपना’ शीर्षकको नाटक प्रदर्शन गरेर रकम संकलन गरिएको थियो।

अत्तरियास्थित सुदूरपश्चिम समावेशी आधारभूत विद्यालयमा अध्ययनरत अपांगता भएका विद्यार्थीहरूलाई पुस्तक वितरण गर्दै एलआरआईकी छात्रा आकृति कर्माचार्यले भनिन्, ‘हामीले नाटकबाट संकलित रकमले पुस्तक सहयोग गर्न पाउँदा खुसी छौं।’ उनले आर्थिक अवस्था कमजोर भएका दुर्गमका विद्यालयलाई सामाजिक क्रियाकलापअन्तर्गत हरेक वर्ष विभिन्न सहयोग गर्दै आइरहेको जानकारी दिइन्।

विद्यार्थीहरूले कैलालीको तीनवटा विद्यालयलाई १ लाख २५ हजार रुपैयाँ बराबरका विभिन्न पुस्तक वितरण गरेको एलआरआईकी संस्थापक यशोधरा पन्तले बताइन्। उनले भनिन्, ‘विद्यार्थीहरूलाई किताबी ज्ञान मात्रै नभई समाजिक क्षेत्रमा पनि अग्रसर गराउन यस्ता सिर्जनात्मक क्रियाकलाप गराउँदै आएका छौं।’

प्रकाशित: ७ कार्तिक २०७५ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App