उदयपुर – नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण उदयपुरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दको पहिलो दिन मंगलबार यहाँका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो।
बन्दका कारण सदरमुकाम त्रियुगा नगरपालिका ११ गाईघाटको त्रियुगा नमूना मावि, त्रिनपा १० बोक्सेको बालमन्दिर मावि, मनमोहन आधारभूत विद्यालय, त्रिनपा १२ को जनप्रेमी आधारभूत विद्यालय, त्रिनपा ३ मोतिगडाको रामजानकी मावि र सत्यवती मावि, त्रिनपा ४ बगाहाको राष्ट्रिय मावि, त्रिनपा ५ को जनता मावि देउरी, त्रिनपा ९ को अम्बेवर मावि, त्रिनपा ६ को जनज्योति माविलगायत विद्यालयको पठनपाठन अवरुद्ध भएको छ।
त्रियुगा नगरपालिकाका १ सय १९ वटै सामुदायिक विद्यालयमा पठनपाठन ठप्प पारिएको नेपाल राहत शिक्षक जिल्ला समिति उदयपुरले जनाएको छ। समितिका अध्यक्ष गेसराज कार्कीले त्रियुगा मात्र नभएर जिल्लाका ४ वटा नगरपालिका र ४ वटा गाउँपालिका गरी ८ वटै स्थानीय तहका सामुदायिक विद्यालयको पठनपाठन ३ दिनसम्म बन्द गर्ने कार्यक्रम रहेको बताए।
अध्यक्ष कार्कीका अनुसार उदयपुरमा राहत शिक्षकको संख्या ५ सय ४८ जना रहेको छ। २ सय ३७ वटा प्राविमा ४ सय ३० राहत शिक्षक कार्यरत छन् भने १ सय १० वटा निमाविमा २ सय ४२ र ६९ वटा माविमा १ सय ४६ शिक्षक कार्यरत रहेका छन्। जिल्लाभरी आधारभूत र मावि गरी ४ सय ५८ वटा सामुदायिक विद्यालयमा कार्यरत ५ सय ४८ जना शिक्षक रहेको कार्कीले बताए।
समितिको केन्द्रीय निर्देशन अनुसार भदौ २६, २७ र २८ गते ३ दिन देशभरका सबै सामुदायिक विद्यालय बन्द गराउने निर्देशन अनुसार जिल्लाका विद्यालय बन्द आव्हान गरिएको राहत शिक्षक समितिका सदस्य चुडामणि राईले बताए। उनका अनुसार शान्तिपूर्ण आन्दोलनले सरकारको ध्यान नखिचेपछि तेस्रो चरणको आन्दोलनअन्तर्गत यो बन्द आव्हान गरिएको हो। उदयपुरमा ५ सय ४८ सहित देशभर ४० हजार राहत शिक्षकले नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएपनि राज्यले सौताको व्यवहार गरिरहेको विरुद्धमा यो संघर्ष गर्न समिति बाध्य भएको उनले बताए।
प्रकाशित: २६ भाद्र २०७५ ०५:५३ मंगलबार