शिक्षा

घाँसदाउरा गर्ने हात कम्प्युटरमा

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिका ५ स्थित चिसापानी माविमा कक्षा १० मा अध्ययनरत छात्रा प्रतिमा सापकोटा विद्यालय समयमा कम्प्युटरको किबोर्डमा झुमिरहेकी हुन्छिन्। कम्प्युटर इन्जिनियरिङतर्फकी विद्यार्थी सापकोटा साथीसँगै कम्प्युटर ल्याबमा गएर कम्प्युटर प्रोगाम चलाउनेदेखि अंग्रेजी–नेपाली टाइप गर्ने गति बढाउने अभ्यासमा तल्लीन हुन्छिन् । यस्तै छात्र रविन बिष्ट पनि कक्षामा सैद्धान्तिक सिकाइपछि कम्प्युटर ल्याबमा पुगेर कम्प्युटरसम्बन्धी नयाँनयाँ ज्ञान लिँदै सीप विकास अभ्यास गरिरहेका छन्। ‘रुचि भएकाले कम्प्युटर इन्जिनियरिङलाई रोजेकी हुँ,’ छात्रा सापकोटाले भनिन्।

जन्तेढुंगा गाउँपालिकाको प्रमुख शैक्षिक केन्द्रका रूपमा विकास हुँदै गएको चिसापानी माविले प्राविधिक तथा व्यावसायिक विषयअन्तर्गत सुरु गरेको कम्प्युटर इन्जिनियरिङको कक्षामा हाल कक्षा ९ र १० का ९६ विद्यार्थी छन्। बिदाबाहेकका दिन उनीहरू कलिला औंला कम्प्युटरको किबोर्डमा चलमलाइरहेका हुन्छन्। गाउँकै विद्यालयमा कक्षा ९ देखि कम्प्युटर इन्जिनियरिङ पढ्ने अवसर पाउँदा छात्रछात्रा र तिनका अभिभावक दंग छन्। विद्यार्थीलाई व्यावसायिक र सीपमूलक शिक्षा प्रदान गर्ने लक्ष्यका साथ २०७३ सालदेखि सुरु गरिएको कम्प्युटर इन्जिनियरिङतर्फका कक्षामा विद्यार्थीको आकर्षण बढ्दो रहेको चिसापानी माविका प्रधानाध्यापक रामबहादुर राउतले बताए।

कम्प्युटर इन्जिनियरिङतर्फ कक्षा ९ मा ४८ विद्यार्थीका लागि कोटा निर्धारण गरिएको छ। निर्धारित संख्याभन्दा बढी विद्यार्थीको भर्ना लिन मिल्दैन। शिक्षा विभागको स्वीकृतिमा कम्प्युटर इन्जिनियरिङको कक्षा सुरु भएयता तोकिएको कोटा सँधै ‘फुल’ हुने गरेको छ। नमुना विद्यालयका लागि छनोटमा परेको विद्यालयमा सो कोटाका लागि विद्यार्थी र अभिभावकबीचमा तँछाडमछाड नै चल्ने गरेको छ। प्राविधिक विषय भएकाले कम्प्युटर इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दो रहेको प्रअ राउतले बताए। ‘विद्यार्थीलाई व्यावसायिक र सीपमूलक शिक्षा दिने उद्देश्यले कम्प्युटर इन्जिनियरिङ कक्षा सुरु गरिएको हो,’ प्रअ राउतले भने, ‘कम्प्युटर इन्जिनियरिङप्रति विद्यार्थीको आकर्षण राम्रो पाएका छौं।’

२०७३ सालमा कक्षा ९ मा भर्ना भएका कम्प्युटर इन्जिनियरिङका पहिलो ब्याचका ४२ विद्यार्थीले यसपल्ट एसइई परीक्षा दिए। उनीहरूको एसइई नतिजा उत्साहजक रहेको विद्यालयले जनाएको छ। २०२० सालमा स्थापना भएको विद्यालयमा कम्प्युटर इन्जिनियरिङको छुट्टै कक्षाको व्यवस्था छ। सैद्धान्तिक विषयको ज्ञान कक्षामा दिइन्छ। प्राक्टिकल ज्ञानका लागि उनीहरूलाई कम्प्युटर ल्याबमा लग्ने गरिएको छ। ‘विद्यालय समयभन्दा बाहिर घाँसदाउरा र मेलापात गर्ने हातले कम्प्युटरको किबोर्ड चलाउने अवसर पाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलकबहादुर बस्नेतले बताए। कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि विद्यालयमा २ इन्जिनियर र २ ओभरसियर कार्यरत छन्।

कम्प्युटर इन्जिनियरिङमा विद्यार्थीको आकर्षण बढ्दै जाँदा चिसापानी माविले यस शैक्षिक सत्रदेखि कक्षा ११ र १२ को कक्षा सञ्चालनका लागि सम्बन्धन पाएको छ। हाल कक्षा ११ मा ३० विद्यार्थी भर्ना भइसकेको प्रअ राउतले बताए।

प्रकाशित: २३ भाद्र २०७५ ०६:३१ शनिबार

विद्यार्थी कम्प्युटर_इन्जिनियरिङ