शिक्षा

भौतिकशास्त्रका विद्यार्थीलाई खगोलसम्बन्धी प्रशिक्षण

तस्बिर : नासाे

काठमाडौं – विज्ञानका विद्यार्थीलाई अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राजधानीमा सञ्चालन गरेको ‘खगोल र अन्तरिक्ष विज्ञान’ विषयक ६ दिने प्रशिक्षण समापन भएको छ।

नासोले ‘समर स्कुल’ नाम दिएको उक्त प्रशिक्षणमा स्नातक तहमा भौतिकशास्त्र अध्ययनरत १५ जना विद्यार्थी सहभागी थिए । प्रशिक्षण साउथ वेस्टर्न स्टेट कलेज, वसुन्धरामा सञ्चालन गरिएको थियो।

तारापुञ्ज, वायुमण्डल, अन्तरिक्ष गतिविधि आदिबारे विज्ञहरूले प्रशिक्षण दिएका थिए। विद्यार्थी खगोल तथा विज्ञानका विभिन्न विषयवस्तुबारे जानकारी दिन प्रशिक्षण आयोजना गरिएको नासोका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। ‘नासोले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन्छ, जसले विद्यार्थीमा विज्ञान तथा अनुसन्धानमा लाग्न उत्प्ररित गर्छ,’ उनले भने।

 त्रिभुवन विश्वविद्यालयका प्रा. डा. उदयराज खनाल, भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा. डा. विनिल अर्याल, दक्षिण कोरियाको योनसे विश्वविद्यालयमा अनुसन्धानरत नेपाली वैज्ञानिक डा. सञ्जय पौडेल, सेन्ट जेभियर कलेजका उपप्राध्यापक डा. विनोद अधिकारी, अमृत साइन्स क्याम्पसका उपप्राध्यापक देवेन्द्रराज उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कम्प्युटर इन्जिनियर प्रमिशा मिश्रलगायतले प्रशक्षिण दिएका थिए।

प्रकाशित: २५ असार २०७५ ०६:३९ सोमबार

भौतिकशास्त्रका विद्यार्थीलाई खगोलसम्बन्धी प्रशिक्षण