शिक्षा

राम्रो नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार

बेनी – बेनी सामुदायिक माविबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शिक्षकले आफ्नो तलबबाट प्रतिविद्यार्थी १० हजार नगद र कदरपत्रले सम्मान गरेका छन्।

मंगलबार विद्यालयमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा अंग्रेजी विषयका शिक्षक भरत थापा, विज्ञानका प्रकाश सुवेदी र गणित विषयका शिवराम पौडेलले ३.७० जिपिए ल्याउने विद्यार्थी अमृत आचार्य, अश्नवी शर्मा र आशिका आचार्य प्रत्येकलाई नगद १० हजारसहित सम्मान गरेका हुन्।

अभिभावककै उपस्थितिमा शिक्षकले प्रतिविद्यार्थी १० हजार र प्रमाणपत्रले सम्मान गरेका थिए। विद्यार्थीले जिल्लामै उत्कृष्ट नतिजा ल्याएर शिक्षक र विद्यालयको शिर उच्च बनाएको भन्दै शिक्षकले नगद पुरस्कारको शुरुवात गरेका हुन्। तीनवटै विषयमा विद्यार्थीले अपेक्षा गरे अनुसारको जिपीए ल्याएका छन्।

विद्यालयमा आयोजित सम्मान कार्यक्रममा शिक्षा विकास समन्वय एकाइका प्रमुख दलबहादुर थापा, सल्लाहकार यामबहादुर शाक्य र शिक्षकले विद्यार्थी र अभिभावकलाई पुरस्कार हस्तान्तरण गरेका थिए। रासस

प्रकाशित: १३ असार २०७५ ०४:२८ बुधबार

नतिजा ल्याउनेलाई शिक्षकले दिए दशहजार