शिक्षा

काठमाडौंमा अब ‘स्मार्ट’ शिक्षा, डिजिटल बोर्ड जडान सुरु

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयहरूमा डिजिटल स्मार्ट बोर्ड जडानसहित शिक्षामा रूपान्तरणको अभियान थालेको छ।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले शिक्षालाई प्रभावकारी बनाउन बजेट र कार्यक्रमलाई चार क्षेत्रमा विभाजन गरी लगानी बढाएको बताए। यसअन्तर्गत रामशाह पथस्थित पद्मोदय माध्यमिक विद्यालयको कक्षा १० ‘ए’ सहित विभिन्न विद्यालयमा ३१३ स्मार्ट बोर्ड जडान सुरु भएको छ।

महानगरले पहिलो क्षेत्रमा विद्यार्थीको आवश्यकताअनुसार भवन निर्माण, दोस्रोमा बालकक्षाका लागि पठन सामग्री, तेस्रोमा खेलकुद र स्वास्थ्य, र चौथोमा ल्यापटप तथा डिजिटल स्मार्ट बोर्डलाई प्राथमिकता दिएको छ।

शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत ल्याइएका यी बोर्डहरू सूचना प्रविधि विभागले प्राविधिक जाँच गरेर जडान थालेको हो।

५० हजार घण्टा डिस्प्ले क्षमता भएका र सामान्य ठक्करबाट नचर्किने यी बोर्डहरू शिक्षकको तत्परता, क्षमता र उपयोग स्थानका आधारमा क्रमशः सबै कक्षामा जडान गरिने सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जानकारी दिए। तालिम लिएका शिक्षक भएका विद्यालयमा पहिलो चरणमा जडान हुने र अन्यमा तालिमपछि मात्र बोर्ड राखिने उनको भनाइ छ।

प्रमुख शाहले फेसबुकमार्फत भने, “हाम्रा बालबालिका पहिलो प्राथमिकतामा छन्। उनीहरूप्रति गरेको लगानीले विद्यालय, समाज र देशप्रति गर्व गर्न सिकाउँछ। यसमा सबैको अपनत्व आवश्यक छ।”

महानगरले ‘प्रमाणमा आधारित पूर्वाधार विकास, सिकाइमा प्रविधि र उपकरण, शिक्षक तालिममार्फत मानव पुँजी विकास, सुशासन र दिगोपना’ का लागि लगानी गरेको छ।

‘महानगर गौरव योजना’ अन्तर्गत ‘गरी खाने शिक्षा’, ‘सूचना प्रविधिमैत्री विद्यालय’ र ‘डिजिटल शिक्षण सिकाइ’ कार्यक्रमका लागि चालु र क्रमागत गरी करिब २० करोड रुपैयाँ विनियोजित रहेको निमित्त शिक्षा अधिकारी केशव ज्ञवालीले बताए।

शिक्षण सिकाइलाई प्रभावकारी बनाउन महानगरले परियोजना र समूहगत कार्य, सहपाठीसँग सिकाइ र पुनरावलोकन कक्षामा जोड दिएको छ।

बालबालिकाको चौतर्फी विकासका लागि फेस्टिभल क्याम्प, हिउँदे शिक्षण शिविर र ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम सञ्चालन गरिएको छ।

‘पुस्तकरहित शुक्रबार’ मा २५ विषय समेटिएका छन्, जसमध्ये ‘बालबालिका तथा वातावरण (वावा)’ र ‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, आर्टस र गणित (स्टीम)’ अनिवार्य छन्।

अन्य विषयहरू स्काउट, नृत्य, पठन संस्कार, योग, म्युरल, नेतृत्व विकास, नाट्य, कथा वाचन, संगीत (मादल, बाँसुरी, सारङ्गी), चलचित्र सिकाइ, विपद व्यवस्थापन, संस्कृति, ट्राफिक व्यवस्थापन, उद्यमशीलता, कोडिङ, व्यक्तित्व विकास, एनिमेसन, फिल्म मेकिङ र ड्रोन रहेका छन्।

प्रारम्भिक बाल विकास (इसिडी) पछि कक्षा १ देखि ३ सम्म एकीकृत सिकाइ, कक्षा ४ देखि ८ सम्म सिर्जनात्मक सिकाइ र माध्यमिक तहमा ‘शिक्षामा सीप’ कार्यक्रम सञ्चालित छन्।

‘शिक्षामा सीप’ अन्तर्गत मोबाइल र इलेक्ट्रोनिक्स, कुलिनरी आर्टस, व्युटिसियन, फेसन डिजाइन, हाउस वायरिङ, कृषि, प्लम्बिङ, कला, कार्पेन्ट्री र परम्परागत डकर्मी कला जस्ता विषय समेटिएका छन्।

यी कार्यक्रमबाट गुणात्मक शैक्षिक नतिजा हासिल गर्ने महानगरको लक्ष्य छ। सहरी योजना आयोगका सहायक विज्ञ सस्मित पोखरेलले यस्ता क्रियाकलापले विद्यार्थीमा नयाँ दृष्टिकोणबाट सिक्ने वातावरण सिर्जना हुने बताए।

प्रकाशित: २३ चैत्र २०८१ १८:२१ शनिबार