जिल्लाकाे नरहरिनाथस्थित नन्दादेबी बहुमुखी क्याम्पस कोटवाडाको स्ववियु निर्वाचन स्थगित भएको छ।
क्याम्पसमा असहज वातावरण निर्माण भएको जनाउँदै निर्वाचन अधिकृत कमलप्रसाद सापकोटाले गएराति ९ बजे सूचना प्रकाशित गरेर स्ववियु निर्वाचन स्थगित गरेका हुन्।
क्याम्पसमा भएको असहज वातावरणका कारण अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख छ।
नेविसंघ र अनेरास्ववियुको गठबन्धनले २०० विद्यार्थीको भोटर कार्ड एकमुष्ट बुझेर लिएको जनाउँदै अखिल क्रान्तिकारी र समाजवादी अखिलले ४ गते दिउँसो क्याम्पसमा तालाबन्दी गरेका थियो।
विद्यार्थीको चुनावमा सत्ताको दुरुपयोग गरेर धाँधली गर्न सम्बन्धित विद्यार्थीले बुझेर लिनुपर्ने २०० जनाको भोटर कार्ड एकै जनाले लिएको क्याम्पसमा प्रशासनले जनाएको छ।
४२५ मतदाता रहेको क्याम्पसमा २०० नेविसंघ र १५० कार्ड अनेरास्ववियुले कब्जा गरेकाले बाध्य भएर अखिल क्रान्तिकारीले तालाबन्दी गरेको हो। भोटर कार्ड क्याम्पसमा फिर्ता भएपछि मात्र ताला खोलिने स्ववियु सभापतिका उम्मेदवार यशोदा शाहीले बताइन्।
यस्तै सान्नी त्रिवेणीस्थित जनचेतना बहुमुखी क्याम्पसमा भने ९ बजेदेखि निर्वाचन सुरु भएको छ।
प्रकाशित: ५ चैत्र २०८१ ०८:१९ मंगलबार