शिक्षा

आज स्ववियु निर्वाचन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन मंगलबार हुँदै छ। देशभरिका आंगिक र सम्बन्धन प्राप्त कलेजमा निर्वाचन हुन लागेको हो। त्रिविअन्तर्गत ६२ आंगिक र एक हजार ५३ सम्बन्धन प्राप्त गरी एक हजार एक सय १५ क्याम्पस सञ्चालनमा रहे पनि निर्वाचन भने आधाभन्दा कममा हुने त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख एवं स्ववियु निर्वाचन २०८१ केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिए।

विद्यार्थी संगठनहरूबिच विभिन्न निहुँमा उत्पन्न विवादका कारण १६ आंगिक कलेजमा चैत्र ५ गते निर्वाचन नहुने भएको छ भने ४६ आंगिक र सम्बन्धन प्राप्त करिब चार सय कलेजमा मात्र निर्धारित समयमै निर्वाचन हुने सदस्य सचिव अधिकारीले जनाए। ‘त्रिविका कुल क्याम्पस/कलेजमध्ये आधाभन्दा कममा मात्र चैत ५ गते निर्वाचन हुने निश्चित भएको सूचना मिलेको छ,’ उनले नागरिकसँग भने, ‘त्रिवि केन्द्रीय क्याम्पसमै पनि अवरुद्ध भएको निर्वाचन चैत ८ गतेलाई तोकिएको छ। अवरोध सिर्जना भएका अन्य कलेजहरूमा स्ववियु निर्वाचन गराउन सर्वपक्षीय छलफल भइरहेको छ।’

सदस्य सचिव अधिकारीले ५ गतेको निर्वाचन सकिएको १५ दिनभित्रै अवरुद्ध भएका कलेजमा पनि निर्वाचन सम्पन्न गराउनुपर्ने व्यवस्था निर्देशिकाले गरेकोबताए। ‘१५ दिनभित्र पनि निर्वाचन हुन नसकेका कलेजहरूमा स्ववियु नै रहन्नन्,’ उनले भने, ‘यो कानुनी व्यवस्था हो।’  

उनका अनुसार २०७९ सालमा निर्वाचित स्ववियुको दुई वर्षे कार्यकाल सोमबार (चैत ४ गते) सकिएको छ। स्ववियु निर्वाचन प्रक्रियाअन्तर्गत दुई आंगिकसहित ९० कलेजका सभापति सर्वसम्मत चुनिसकिएका छन्। तीमध्ये ४० क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुबाट सभापति निर्विरोध भएका छन्। २२ क्याम्पसमा माओवादी केन्द्रनिकट क्रान्तिकारी विद्यार्थी संगठनबाट स्ववियु सभापति निर्विरोध निर्वाचित भएका छन्। नेपाली कांग्रेसनिकट नेविसंघका २८ सभापति निर्विरोध भएका छन्।

यसैगरी काठमाडौं उपत्यकाका त्रिवि केन्द्रीय क्याम्पस कीर्तिपुर, त्रिचन्द्र क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव कलेज, थापाथली कलेज, आयुर्वेद कलेज, सरस्वती बहुमुखी कलेज, विश्वभाषा क्याम्पस र पब्लिक युथ कलेजमा निर्वाचन अवरुद्ध भएको छ। उपत्यकाबाहिर जनकपुरको रामस्वरूप रामसागर बहु्मुखी क्याम्पस, पश्चिमाञ्चल इन्जिनियरिङ कलेज, महेन्द्र मोरङ कलेज, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, कृषि क्याम्पस रामपुर, सुर्खेत बहुमुखी कलेज र बुटवल बहुमुखी कलेजमा पनि निर्वाचन अवरुद्ध भएको छ। यी १६ वटा क्याम्पस/कलेजमा मंगलबार उम्मेदवारी दर्ता गर्ने समयमा निर्वाचान प्रक्रिया अवरुद्ध भएको थियो।

प्रकृया अवरुद्ध भएका कलेजहरूमा सर्वपक्षीय समझादारी गरेर निर्वाचन प्रक्रिया पुनर्तालिकीकरणको प्रयास जारी रहेको सदस्य सचिव अधिकारीले बताए। ‘निर्वाचन प्रक्रिया अवरुद्ध भएका कलेजहरूमा निर्वाचन प्रक्रिया अगाडि बढाउने सर्वपक्षीय छलफल भइ नै रहेको छ,’ अधिकारीले नागरिकसँग भने, ‘पछिलो समय निर्वाचनमा हार्ने सम्भावना भएका र भर्ना नभएका विद्यार्थीलाई पनि मताधिकार दिनुपर्ने गलत मनशाय भएका विद्यार्थीहरूले निर्वाचन अवरुद्ध गरिरहेका छन्।’ 

उनले थपे, ‘हालसम्म १६ आंगिक कलेजमा निर्वाचन अवरुद्ध भएको र पुनः प्रक्रिया सुरु गराउने समझदारी भइरहेको छ। ४७ आंगिक र सम्बन्धन प्राप्त करिब साढे तीन सय बढी क्याम्पस/कलेजमा निर्वाचन प्रक्रिया सुरु भएको छ। ९० क्याम्पस/कलेजमा सर्वसम्मत निर्वाचन सम्पन्न भएको छ। चितवनको वीरेन्द्र क्याम्पसमा निर्वाचन प्रक्रिया सुरु भइसकेको छ। अन्य अवरुद्ध कलेजहरूमा पनि निर्वाचन प्रक्रिया सुरु गर्न छलफल जारी छ।’

प्रकाशित: ५ चैत्र २०८१ ०६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App