शिक्षा

पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउन स्कुलमै खोप केन्द्र, ढुक्क हुन चिकित्सकको आग्रह

१६ लाख बढी छात्रालाई खोप लगाइने

महिलालाई बढीजसो लाग्ने रोगमध्ये पाठेघरको मुखको क्यान्सर रहेको तथ्यांक सार्वजनिक भएसँगै नेपाल सरकार आफ्ना छोरीहरूलाई सुरक्षित बनाउन जुटेको छ। पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान विद्यालयमै संचालन गर्ने तय गरी छोरीहरूको अभिभावक राज्य बनेको छ।  

छोरीहरूलाई पाठेघरको मुखको क्यान्सर हुन नदिनका लागि सरकारले छात्रा केन्द्रित एचपिभी खोप अभियान संचालन गर्न स्कुलहरूमा स्वास्थ्यसेवीसहितको खोप केन्द्र स्थापना गरी विद्यालयका छात्राहरूलाई खोप दिने व्यवस्था गरेको छ।  

कक्षा ६ देखि १० सम्मका विद्यालयहरूमा अध्ययनरत र १० देखि १४ वर्ष उमेर समूहका विद्यालय बाहिर रहेका १६ लाख ८८ हजार ७ सय ६८ छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट सुरक्षित बनाउन सरकारले विद्यालयमै पुगेर एचपिभी खोप लगाउने अभियान थालनी गरेको हो।

१८ हजार ८ सय विद्यालयमा खोप केन्द्र स्थापना गरेरै राष्ट्रिय खोप अभियान संचालन गर्ने तय गरेको सरकारले अभियानमा निजी तथा सार्वजनिक विद्यालयका सबै छात्राहरूलाई समेटेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।  

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको नेतृत्वमा स्कुलहरूमा एचपिभी खोप अभियान ०८१ माघ २२ देखि फागुन ६ गतेसम्म संचालन गरिने विषय विज्ञ डा. सरिता घिमिरेले बताइन्। मन्त्रालयले विद्यालयभित्रका कक्षा ६ देखि १० मा अध्ययनरत र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई खोप अभियानमा समेटेको छ।  

शिक्षा पत्रकार संजाल नेपाल (इजोन)को सहकार्यमा महाशाखाले आयोजना गरेको शिक्षा पत्रकारहरूलाई खोपबारे अभिमूखीकरण गर्ने कार्यक्रममा डा. घिमिरेले नेपाली छोरीहरूलाई पाठेघरको मुखको क्यान्सरबाट रोकथाम गर्ने लक्ष्यसहित मन्त्रालयले विद्यालयहरूलाई यस पटक केन्द्रित गरी खोप अभियान संचालन गर्ने नीति अघि सारेको बताइन्। ‘क्यन्सर बोल्दैन। शरीरमा रोग फैलिएपछि मात्र क्यान्सर लागेको थाहा हुन्छ,’ डा. घिमिरेले अवगत गराइन्।

‘ग्लोबोक्यानको तथ्यांक अनुसार प्रत्येक चार महिलामा क्यान्सरको जोखिम हुन्छ। यस कारण शारीलाई सुन्नु पर्छ।शहरी क्षेत्रमा स्तन क्यान्सर बढी छ। एचपिभि भाइरस पाठेघरको मुखमा छिरेको २० वर्षपछि मात्र थाहा हुन्छ क्यान्सर लागेको भनेर,’ उनले सचेत गराइन्, ‘क्यान्सर कुनै पनि अंग, उमेर, वर्गमा सर्न सक्छ। उपचारपछि पनि फेरि फर्कन सक्छ। यसकारण यसको रोकथाम नै उत्तम उपाय हो। स्कुल र बालबालिका भनेको सूचना प्रभाहको प्रभावकारी माध्यम हो। यसकारण सरकारले स्कुलका छात्राहरूलाई केन्द्रित गरी विद्यालयमै खोप केन्द्र स्थापना गरी नि:शुल्क खोप अभियान सुरु गरेको हो।’

एचपिभी के हो?

एचपिभी भनेको एक प्रकारको भाइरस हो। यसलाई ह्युमन प्यापिलोमा भाइरस भनिन्छ। पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक एचपिभी नै हो। एचपिभी दुई सयभन्दा बढी किसिमको प्रजातिहरूमा हुन्छन् र यसमध्ये कम्तीमा १२ वटा प्रजाति पाठेघरको मुखको क्यान्सर गराउन प्रमुख कारक मानिन्छ भने यसमध्ये १६ र १८ वटा प्रजाति प्रमुख कारक हुन्।

नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सरको १६ र १८ प्रजातिबाट भएको देखिएकाले सरकारले १० देखि १४ वर्ष उमेरका छात्राहरूलाई रोग लाग्नुभन्दा पहिले नै सुरक्षित बनाउन एचपिभी खोप अभियान विद्यालयमा केन्द्रित गरेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख अभियान गौतमले बताए।  

हाल विश्वमा पाठेघरको मुखको क्यान्सरको तथ्यांक हेर्ने हो भने हरेक वर्ष ५ लाख ७० हजार महिलालाई हुने र सन् २०३० सम्ममा ७ लाखसम्म पुग्ने अनुमान गरिएको छ। हरेक वर्ष ३ लाख ११ हजार जना महिलाहरूको मृत्यु हुने र सन् २०३० सम्ममा ४ लाख पुग्ने अनुमान रहेको तथ्यांकले देखाएको छ। महिलाहरूमा पाठेघरको मुखको क्यान्सर चौथो मुख्य क्यान्सर रहेको छ। ८८ प्रतिशत पाठेघरको मुखको क्यान्सरका बिरामीहरू र मृत्यु हुने संख्या न्यून आय भएका र मध्यम आय भएका देशहरूमा देखिएको छ।

नेपालको अवस्था हेर्ने हो भने हरेक वर्ष २ हजार १ सय ६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान गरिएको डा. गौतमले बताए। उनले प्रस्तुत गरेको प्रतिवेदनको अध्ययन अनुसार हरेक वर्ष एक हजार ३ सय १३ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ। जसअनुसार औषतमा प्रत्येक दिन ४ जना महिलाहरूको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुन्छ भन्ने अनुमान गरिएको छ। 

डा. गौतमले भने, ‘महिलाहरूमा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको छ र क्यान्सरबाट महिलाको मृत्यु हुने यो पहिलो मुख्य कारण हो।' उनले एचपिभी संक्रमण र पाठेघरको मुखको क्यान्सर हुने सम्भावनाबाट बच्न १० देखि १४ वर्ष उमेर समूहका सबै छोरीहरूले अनिवार्य रूपमा विद्यालयको खोप केन्द्रमा एचपिभी खोप लगाउनु पर्ने बताए। साथै अन्य महिलाहरूले नियमित रूपमा पाठेघरको मुखको क्यान्सरको जाँच गराउँदा रोगको पहिचान हुने र सुरुको अवस्थामै उपचारबाट निको पार्न सकिने उनले उल्लेख गरे।

क्यान्सरको प्रारम्भिक परीक्षणको अवस्था हेर्ने हो भने नेपालमा प्रत्येक दिन कम्तीमा ११ प्रतिशतले पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएकामध्ये ७ प्रतिशतमा सम्भावित क्यान्सर पोजिटिभ देखिएको तथ्यांक छ। भने, ३० देखि ४९ वर्ष उमेरका सबै महिलालो प्राथमिकतासाथ स्क्रिनिङ्ग गर्नु पर्ने भए पनि नेपालमा १० मध्ये करिब एकको मात्र स्क्रिनिङ्ग गरिएको देखिएको छ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले एचपिभी खोप विश्व स्वास्थ्य संगठनले सुरक्षित भनी प्रमाणित गरेकाले सुरक्षाको सबालमा खोप शतप्रतिशत सुरक्षित भएकाले लक्षित उमेर समूहका छोरीहरूलाई खोप लगाउन आग्रह गरेका छन्। ‘एचपिभी खोप अत्यन्तै सुरक्षित छ। १० देखि १४ वर्ष उमेर समूहका सबै छोरीहरूलाई खोप लगाउन सरकारको नीति छ,’ निर्देशक डा लालले भने, ‘विश्व स्वास्थ्य संगठनले प्रमाणित खोप मात्र नेपालमा खरिद/आपूर्ति गरिन्छ। यो खोप नेपालमा प्रयोग गर्नका लागि औषधि व्यवस्था विभागले समेत अनुमति दिएकाले अभिभावकहरू ढुक्क भएर आफ्ना छोरीहरूलाई खोप लगाउनुपर्छ।'

उनले खोप लगाएपछि केहीमा समान्य रूपमा खोप लगाएको ठाउँमा दुख्ने, सुनिने, रातो हुने, ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने , रिंगटा लाग्ने, थकाई लाग्ने, बान्ता आउने जस्ता हुन सक्छ। तर केही समयपछि आफैँ ठीक हुने र चिन्त लिन नपर्ने बताए। उनका अनुसार अभियान सफल बनाउन सरकारले स्कुलका शिक्षक, छात्रा र अभिभावकलाई समेत मानसिक रूपमा तयार पार्दै छ।

१० देखि १४ वर्ष उमेर समूहका ९० प्रतिशत किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिने सरकारी लक्ष्य रहेको जनाउँदै ९० प्रतिशत ३० देखि ४९ वर्ष उमेर समूहको महिलाहरूको पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्ने लक्ष्य सरकारको रहेको उनले बताए। यसैगरी पाठेघरको मुखको क्यान्सर निदान भएका ९० प्रतिशत महिलाहरूको उपचार गर्ने महत्वाकांक्षी लक्ष्य सरकारको रहेको उनी बताउँछन्।  

त्यसो त नेपालमा एचपिभी खोप सेवा नौ वर्ष अगाडि नै चितवन र कास्की जिल्लामा संचालन गरिएको थियो। त्यस बेला कक्षा ६ का छात्राहरू र विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई हरेक विद्यालयमा खोप केन्द्र संचालन गरिएको थियो। ६ महिनाको फरकमा दुई मात्रा खोप दिएको थियो। ति जिल्लाका सबै किशोरीहरूले दुवै मात्रा खोप लगाएको उनले जनाए। एचपिभी खोप कार्यक्रम राष्ट्रपतिबाट नीति तथा कार्यक्रममा ०७६, ०७९ र ०८१ मा पनि समेटिएको छ। विद्यालय नभएका गाउँ, टोल र पिछडिएका वर्ग समुदायको पहुँचका लागि थप खोप केन्द्रबाट एचपिभी खोप अभियान संचालन हुने महिनामा एचपिभी खोप दिने व्यवस्था गर्ने र छुटेका छात्राहरूलाई समेत अभियानको अन्तिम दिन स्वास्थ्य संस्थाबाट निःशुलक एचपिभी खोप दिने एचपिभी खोप सेवा संचालन गर्ने कार्यनीति बनेको छ। पछिलो अध्ययन अनुसार एचपिभी खोप वर्षदिन लगाएको खोप एक मात्र भए पुग्ने र खोप शतप्रतिशत प्रभावकारी रहेकाले खोप नियमित गर्न नियमित खोप संचालन कार्यनीति आर्थिक वर्ष ०८२/०८३ देखि कार्यन्वयनमा हुने भएको छ।

डिल्लीबाजरमा रहेको पद्यमकन्या माविकी प्रधानाध्यापक रिता तिवारीका अनुसार उनको स्कुलका शिक्षक, अभिभावक र छात्राहरू खोप लगाउन पूर्ण रूपमा तयार छन्। ‘सरकारले छोरीहरूको अभिभावकत्व लिएर खोप अभियान ढिलै भए पनि यस पटक सुरु गर्ने तयारी सकरात्मक छ,’ उनले खुसी हुँदै भनिन्, ‘कक्षामा स्वास्थ्य शिक्षा विषयमा पढाइने विषय पनि हो। हाम्रो स्कुल खोप केन्द्र स्थापना गरी १० देखि १४ वर्ष कक्षा ६ देखि १० सम्मका सबै छात्रा र अभिभावकहरू खोप लिन तयार छन्।’

प्रकाशित: ९ माघ २०८१ १०:१० बुधबार

#HPV khop