जुम्ला लगायतका हिमाली जिल्लाको शैक्षिक सत्र फागुन १ गतेदेखि सुरु गर्न माग गरिएको छ।
अहिलेको शैक्षिक सत्रले जुम्ला लगायत हिमाली जिल्लाहरूको पठनपाठन उपयुक्त नभएको भन्दै फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु गर्न माग गरिएको हो।
वैशाख महिनादेखि हुने शैक्षिक सत्रले हिमाली जिल्लाका विद्यालयहरु प्रभावित बनेको भन्दै साबिकको फागुन १ गतेदेखि नै शैक्षिक सत्र सुरु गर्न माग गरिएको शिक्षा विकास तथा समन्वय इकाई जुम्लाले जनाएको छ।
शिक्षा विकास तथा समन्वय इकाई जुम्लाका प्रमुख रमेश मल्लका अनुसार शैक्षिक सत्र संशोधनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्र पठाइसकिएको छ । जिल्लामा बसेको शिक्षाका सरोकारवाला, माध्यमिक विद्यालय तहका प्रधानाध्यापकहरू र जनप्रतिनिधिहरूसँगको छलफलको निष्कर्षलाई आधार मानेर शैक्षिक सत्र संशोधनको माग गरिएको हो।
जाडो महिनामा सहज रूपमा पठनपाठन सुनिश्चित गर्न साबिककै फागुन १ गतेबाट शैक्षिक सत्र सुरु गर्नुपर्ने सुझाव सहितको माग पत्र पठाइएको प्रमुख मल्लले बताए।
गत मंसिर २० गते बसेको माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरूको बैठकले पनि हिमाली जिल्लाहरूको शैक्षिक सत्र संशोधन गर्नुपर्ने निष्कर्ष निकालेका थिए । यो भन्दा अघि वैशाख महिनामा पनि शिक्षाका सरोकारवालासँग अहिलेको शैक्षिक सत्रले पारेको समस्याका बारेमा छलफल भएको थियो । उनीहरूको राय पनि फागुन १ देखि नै शैक्षिक सत्र सुरु हुनुपर्ने थियो ।
प्रकाशित: २ माघ २०८१ १३:०९ बुधबार