शिक्षा

अमेरिकामा संकलित पैसाले विद्यालयलाई शैक्षिक सामग्री

अमेरिकाको वाल्टिमोरमा आयोजित ‘डिनर च्यारिटी’ बाट संकलित साढे ६ लाख रुपैयाँ म्याग्दीको बेनी नगरपालिकास्थित दुई सामुदायिक विद्यालयको शैक्षिक सुधारमा खर्चिएको छ।

अमेरिकाको बाल्टिमोरमा बसोबास गर्ने नेपाली समुदायले स्थापना गरेको क्लबले डिनर च्यारिटीबाट संकलित रकमबाट विभिन्न शैक्षिक सामग्री खरिद गरी बेनी नगरपालिका–८, कालीपुलको बालमन्दिर मावि र सोही नगरपालिका–२ बगरफाँटमा रहेको सरस्वती आधारभूत विद्यालयलाई उपलब्ध गराएको हो।

लायन्स क्लब अफ लभ्लीहिलको स्थानीय व्यवस्थापनमा बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसिडेन्ट वैकुण्ठमान श्रेष्ठले कालिपुलस्थित बालमन्दिर माविलाई ९ थान कम्प्युटर, इन्टरनेट जडान, पुरानो कम्प्युटर तथा विद्युत् मर्मत, रङरोगन र सन्देशमूलक आर्ट गरी साढे ५ लाखबराबरको सामग्री हालै हस्तान्तरण गरेका हुन्।

त्यस्तै बगरफाँटको सरस्वती आवासीय माविलाई  एक लाख रुपैयाँबराबरका दुई थान कम्प्युटर र एक थान कलर प्रिन्टर विद्यालयमै पुगेर हस्तान्तरण गरिएको सो विद्यालयका प्रधानाध्यापक छेमबहादुर गर्बुजाले बताए।

सहयोग हस्तान्तरणमा बेनी नगरपालिकाका मेयर सुरत केसीले सामुदायिक विद्यालयमा कम्प्युटर ल्याब सञ्चालन गरे पनि प्रभावकारी रुपमा सञ्चालन नहुने समस्या रहेको बताए। ‘कतिपय कम्प्युटर कक्ष माकुराले जाल लगाइरहेको अवस्थामा समेत भेटिएको छ, अहिले कम्प्युटर सिप अत्यावश्यक छ,’ मेयर केसीले भने।

सोही अवसरमा सहयोगदाता लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजका चार्टर प्रेसिडेन्ट वैकुण्ठमान श्रेष्ठले नियमित कक्षा सञ्चालनका लागि मर्मत कोषसमेत आवश्यकता रहेको बताए।

कार्यक्रममा बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, बालमन्दिर माविका पूर्व विव्यस अध्यक्ष मनबहादुर चर्माकार, प्रधानाध्यापक सुरेन्द्र केसी, नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम र विद्यार्थी रेविका परियारले मन्तव्य राखेका थिए।

विद्यालय र विद्यार्थीको समस्याबारे पत्रकार महासंघका म्यादीका अध्यक्ष गौतमले बनाएको भिडियो साम्रगी च्यारिटी डिनरमा प्रस्तुत गरिएको थियो। च्यारिटी डिनरमा ६४ जनाले एक सय डलर तथा म्याग्देलीसहित अन्य संघसंस्थाले समेत सहयोग गरेकोमा खर्च कटाएर बाँकी सहयोग गरिएको अमेरिकामा सहयोग संकलन गरेका संयोजनकर्ता प्रेम सिकेले बताए।

तीन विद्यार्थीलाई ९० हजार सहयोग

म्याग्दीको सामुदायिक विद्यालयमा अध्ययनरत तीन बालबालिकाको पठनपाठनका लागि अमेरिकाको लायन्स क्लब अफ बाल्टिमोर नेप्लिजले ९० हजार रुपैयाँ सहयोग गरेको छ। प्रतिविद्यार्थी ३० हजार रुपैयाँ सहयोग गरिएको हो।

विद्यालयमा कम्प्युटर सहयोग गर्ने गरी आयोजित च्यारिटी डिनरमा आमाबुबाले छोडेपछि मावली हजुरआमासँग बस्दै आएकी सरस्वती आवासीय माविमा कक्षा ६ मा पढ्ने सृष्टि विक, बालमन्दिर माविमा कक्षा ८ मा पढ्ने दोबाका रिजन पुर्जा र कक्षा ५ की सोनिया क्षत्रीलाई बेनी नगरपालिकाका मेयर सुरत केसी, लायन्स क्लब अफ वाल्टिमोर नेप्लिजका चार्टर प्रेसिडेन्ट वैकुण्ठमान श्रेष्ठले सहयोग रकम हस्तान्तरण गरेका थिए।

कालिपुल घर भई अमेरिकामा रहेका प्रेम सिकेको पहलमा संकलन विद्यालय र भिडियोमा प्रस्तुत भएका विद्यार्थीलाई सहयोग गरिएको जिल्लामा सहयोग हस्तान्तरणको संयोजनकर्ता लायन्स क्लब अफ बेनी लभ्लीहिलका सचिव ओमप्रसाद शर्माले बताए।

विद्यार्थी सृष्टि विकका बुबा र आमाले दोस्रो विवाह गरेका थिए भने रिजनकी आमाले दोस्रो विवाह र बुबाले समेत बेवास्ता गरेपछि ७० वर्षीया हजुरआमाले पढाइरहेकी छिन्। त्यस्तै रघुगंगा गाउँपालिका–२ भगवतीकी सोनियाका बुबा भारतमा बेपत्ता छन् भने आमाले मासिक पाँच हजार तलबबाट पालनपोषण र पढाइमा खर्च  गर्छिन्।

प्रकाशित: २५ पुस २०८१ ११:२५ बिहीबार