शिक्षा

मोबाइल हेर्ने बानी छुटाउन विद्यालयमा सङ्गीत कक्षा

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दाना ज्ञानप्रकाश माविमा कक्षा १२ मा अध्ययनरत सिर्जना विकले सङ्गीत कक्षा लिन थालेको दुई वर्ष भयो। विद्यालयमा नियमित पठनपाठनसँगै उनको अतिरिक्त क्रियाकलापमा सबैभन्दा धेरै समय सङ्गीत कक्षामै बित्छ।

सिर्जना जस्तै कक्षा ६ का साहिल विकले सङ्गीत कक्षाबाट मिठो गीत गाउन सिकेका छन्। कक्षा ८ का नवीन विक र कक्षा ९ का सागर विक विद्यालयका हरेक स्वागत गीत बाहेक पनि  गीत अनुसार मादलेको भूमिकामा देखिन्छन्।

यस पटक ४९ औं वार्षिकोत्सवमा मादले नवीन, सागर र गायनका साहिलले उत्कृष्ट पुरस्कार समेत पाए। विगत दुई वर्षदेखि विद्यालयमा सञ्चालित सङ्गीत कक्षामा हरेक कक्षाका विद्यार्थी  पुग्ने भएपनि अहिलेसम्म २२ विद्यार्थी विभिन्न विधामा उत्कृष्ट छन्।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत हरेक दिन साँझ ४ देखि ५ बजेसम्म नियमित सङ्गीत कक्षामा सहभागी गराइन्छ। सङ्गीत कक्षा रमाइलो हुनुका साथै सिकाइको पनि सुन्दर अवसर भएको विद्यार्थी इशा विकले बताउँछिन्।

गीतसङ्गीतमा रुचि राख्ने विद्यार्थी, शिक्षकको सहयोगमा आधारभूत देखि मावि तहसम्मका विद्यार्थीलाई सिकाउने गरिएको विद्यालयका प्रधानाध्यापक शान्त नेपालीले जानकारी दिए।

’सबै विद्यार्थीलाई अनिवार्य गरेका छौं, बजाउन जान्नेले बजाउँछन्, गाउन सक्नेले गाउँछन्’ प्रमुख प्रशिक्षक समेत रहेका प्रअ नेपालीले भने।

सङ्गीत कक्षामा आउने अन्य विद्यार्थीको तुलनामा मोबाइलको प्रयोग कम गर्ने, फुर्सदमा पनि विभिन्न थरीथरिका बाजा बजाउन ध्यान दिने गरेको पाइएको प्रअ नेपालीको भनाई छ।

सङ्गीत प्रशिक्षक नहुँदासम्म प्रअ नेपालीले सिक्ने र सिकाउने मात्रै गरेका छैनन् हरेक प्रस्तुतिमा हार्मोनियमको जिम्मेवारी समेत सम्हाल्ने गरेका छन्। विद्यालयका सबै विद्यार्थीलाई गाउन र बजाउन सिकाउने र सुरिलो स्वर भएकालाई विद्यालयमा गतिविधिमा गाउने अवसर समेत दिने गरिएको छ।

‘सङ्गीत अपार चिज हो, पढाइमा मेधावी विद्यार्थीले पनि जीवन जिउने गीत सङ्गीतको आवश्यकता पर्छ’ प्रअ नेपालीले भने।

सङ्गीत कक्षाले आफ्ना बालबच्चालाई मोबाइल हेर्ने बानी कसरी हटाउने भन्ने चिन्तामा रहेकोमा अभिभावकलाई समेत सहज भएको अभिभावक गंगा कुमाईंको भनाई छ।

‘मोबाइलमा भेटिने विद्यार्थीलाई सङ्गीत कक्षाले समय तानेको छ, मोबाइलमा रमाउने बालबालिकाको बानी कसरी हटाउने भन्ने उपाय समेत यहाँ व्यस्त रहेका बालबालिकाबाट सिक्न सकिन्छ’ यस वर्ष विद्यालयका उत्कृष्ट अभिभावक समेत रहेकी कुमाईंले भनिन्।

गीत–सङ्गीतमा रुचि राख्ने विद्यार्थीको संख्या बढ्न थालेपछि शिक्षा विकास कोषका अध्यक्ष कृष्ण तुलाचनले विभिन्न समयमा सामाग्री समेत हस्तान्तरण गर्ने गरेका छन्। विद्यालयका सहयोगदाताले समेत सङ्गीत कक्षालाई सहयोग गरेकाले अहिले सञ्चालनमा सहज भएको छ।

अन्नपूर्ण गाउँपालिकामा नमुना विद्यालयले रुपमा छनौट भएको विद्यालयले पहिलो चरणमा आफ्नै कोषबाट करिब २ लाखको लागतमा बाँसुरी, खैँजडी, मुजुरा, मादल, हार्मोनियम, किबोर्ड, गितार, सारङ्गी लगायतका बाजा खरिद गरेको थियो भने सहयोगदाताबाट समेत प्राप्त सहयोगले नियमित कक्षा सञ्चालन प्रभावकारी भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर पुर्जाको भनाई छ।

उनले बालबालिकाको मोबाइल हेर्ने बानी छुटाउन समेत सङ्गीत कक्षा प्रभावकारी देखिएको बताए। म्याग्दीमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा सामुदायिक विद्यालयतर्फ ज्ञानप्रकाश मावि समेत अग्रणी स्थानमा आउँछ।

प्रकाशित: १६ पुस २०८१ १८:२१ मंगलबार