शिक्षा

विद्यार्थीका आवश्यकता बुझ्न विद्यालयमा शिक्षामन्त्री

राजधानीको एक विद्यालयको अनुगमनका क्रममा शिक्षामन्त्री विद्या भट्टराई। तस्बिर: नागरिक

विद्यालय शिक्षा विधेयकबारे संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा दफाबार छलफल भइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई विद्यालयको कक्षाकोठामा पस्न थालेकी छन्। विद्यार्थी र विद्यालयको आवश्यकता बुझेर तिनलाई विधेयकमा समेट्ने उद्देश्यका साथ उनी कक्षाकोठामा पुग्न थालेकी हुन्। यसक्रममा बुधबार उनी काठमाडौं उपत्यकाका तीन विद्यालयमा पुगिन्।

मन्त्री भट्टराई काठमाडौंको जोरपाटीस्थित खगेन्द्र नवजीवन विशेष माध्यमिक विद्यालय, ललितपुरको न्यु मिलेनियम स्कुल र काठमाडौंको बुढानीलकण्ठस्थित इम्मेरियल वल्र्ड स्कुलमा पुगिन् र ती विद्यालयका विभिन्न पक्षको अवलोकन गरिन्। उनले कक्षाकोठामै पुगेर विद्यार्थीहरूका समस्या बुझ्ने, उनीहरूलाई प्रश्न राख्ने र सुझाव लिने प्रयास गरिन्।

खगेन्द्र नवजीवनमा अध्ययनरत अपांगता भएका बालबालिकालाई भेटेर उनी भावुक पनि बनिन्। शारीरिक अपांगता भएका बालबालिका मात्र अध्ययन गर्ने विद्यालय भए पनि पछिल्लो समय यहाँ स्थानीयका बालबालिका, दलित, सीमान्तकृत तथा आदिवासी जनजातिका बालबालिकालाई पनि पठनपाठनको व्यवस्था गरिएको छ। मन्त्री भट्टराईले त्यहाँ करिब एक घण्टा समय बालबालिकालाई दिइन्। कक्षाकोठामा हुने पठनपाठन र शिक्षण सिकाइबारे नजिकबाट बुझ्ने मौका पाउँदा मन्त्री भट्टराई प्रफुल्ल देखिन्थिन्।

विद्यालय अवलोकन र विद्यार्थीसँगको अन्तक्र्रियाले अब बन्ने विधेयकमा फरक क्षमता भएका बालबालिकाबारे आवश्यक विषयवस्तु समेट्न सहज हुने धारणा त्यहाँका प्रधानाध्यापक राघवप्रसाद दवाडीसँग साझा गरिन्।

‘हरेक बालबालिकाका आवश्यकता फरकफरक हुन्छन्। संविधानले नै आधारभूत शिक्षाको सुनिश्चितता गरिसकेको अवस्थामा शिक्षाको पहुँचमा सबै बालबालिका हुने विधेयक बन्नुपर्छ भन्ने मेरो प्राथमिकता हो,’ मन्त्री भट्टराईले प्रअ दवाडीसँग भनिन्, ‘अब बन्ने नयाँ शिक्षा ऐनमा आपांगता भएका बालबालिकाको आवश्यकता सम्बोधन हुन्छ।’

प्रअ दवाडीले शिक्षामन्त्रीले आकस्मिक रूपमा निरीक्षण गरेर सामुदायिक विद्यालयको कक्षाकोठाको सिकाइ स्तरबारे बुझ्ने चाहना राख्नु सकारात्मक पक्ष रहेको प्रतिक्रिया दिए। ‘हाम्रो विद्यालयमा त्रैमासिक परीक्षा चलिरहेको छ।

बालबालिकाले दिएको परीक्षाको प्रणालीबारे समेत मन्त्रीज्यूले बुझ्नुभयो,’ दवाडीले नागरिकसँग भने, ‘सामुदायिक विद्यालयको समस्या पहिचान र समाधानको उपायको खोजीमा समेत मन्त्रीज्यूको निरीक्षणले काम गर्नेछ भन्ने विश्वास लिएको छु। सबै बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने प्रयत्न गर्नुभएको देखियो।’

प्रअ दवाडीले एक सय २० जना फरक क्षमता भएका सबै विद्यार्थीलाई सरकारले छात्रवृत्ति उपलब्ध गराएको जानकारी दिँदै आवासीय विद्यालय निर्माणका लागि पहल गरिदिन मन्त्रीसँग आग्रह गरे।मन्त्री भट्टराईका स्वकीय सचिव कृष्णप्रसाद आचार्यका अनुसार दुई सरकारी र दुई निजी विद्यालय निरीक्षण गर्ने बिहीबारको तालिका थियो। तर व्यस्तताका कारण उनले दुई निजी र एक सरकारी विद्यालयको मात्र अनुगमन गर्न भ्याइन्।

बुढानीलकण्ठको इम्मेरियल स्कुल पुगेकी मन्त्री भट्टराईसँग कुरा गर्न पाउँदा त्यहाँका विद्यार्थी दंग थिए। उक्त स्कुलका विद्यार्थीले प्रयोगात्मक शिक्षाको माग गरे। ‘के यहाँलाई लाग्छ, हाम्रो अहिलेको शिक्षा प्रणाली राम्रो छ ? त्यो प्रयोगात्मक छ ? त्यसले हामीलाई भविष्यमा हाम्रो करिअर वा हाम्रो जीवनका सबै कुरामा सहयोग गर्छ ?’ यसरी एक विद्यार्थीले राखेको प्रश्नको जबाफमा भन्त्री भट्टराईले प्रतिप्रश्न पनि गरिन्, ‘तपाईंहरूलाई के लाग्छ त ? के यो व्यावहारिक छ ?’ विद्यार्थीहरूले पनि उत्तर दिए, ‘कुनै कुनै विषय ठिकै छ। आधारभूत कुरा चाहिहाल्यो। अंग्रेजी विषय अन्तर्राष्ट्रिय आवश्यकता भइहाल्यो। नेपाली पनि कक्षा १० सम्म ठिक छ। आधारभूत गणित अहिले हामी पढिरहेका छौं। मलाई लाग्छ, यो प्रयोगात्मक छैन।’

विद्यार्थीको सिकाइ, पाठ्यक्रम कार्यान्वयन, विद्यालय शिक्षामा विद्यार्थीको बुझाइ, जिज्ञासा, समस्या बुझ्ने प्रयास मन्त्रीबाट भएको स्कुल सञ्चाल कुमार कार्कीले बताए। ‘अवलोकन तथा विद्यार्थीसँग साक्षात्कार गर्दै गर्दा विद्यार्थीहरूले मन्त्री भट्टराईसँग देशको शिक्षा प्रणाली, पाठ्यक्रमको गहिराइ र हाम्रो विद्यालय शिक्षाको अवस्थाबारे बुझन जिज्ञासा राखेका थिए,’ कार्कीले नागरिकसँग भने, ‘मन्त्रीज्यू शिक्षाबारे चासो राखेर निजी विद्यालयको कक्षाकोठामै प्रवेश गर्नु सकारात्मक पक्ष हो। हामीले गरेका राम्रा अभ्यास देखाउने अवसर पायौं। निजी र सरकारी विद्यालयको साझेदारी बारे बतायौं। मन्त्रीज्यूले निजीको पनि समस्या बुझेर विधेयकमा समेट्ने भन्नुभएको छ।’

न्यु मिलेनियम स्कुलका कक्षा १० का एक विद्यार्थीले अबको पाँच वर्षमा नेपालका सामुदायिक र निजी विद्यालयमा कस्तो विकास देख्न चाहनुहुन्छ भन्ने प्रश्न गरे। अर्का विद्यार्थीले एसइईमा सोधिने प्रश्न र पाठ्यपुस्तकको पढाइमा अन्तर रहेको बताए।

‘अहिलेलाई १० वर्षपछिको योजनाभन्दा पनि अहिले आफूले गरेका कामले १० वर्ष पछिसम्मलाई सहज हुने गरी काम गरिरहेकी छु,’ जबाफमा शिक्षामन्त्रीले भनिन्, ‘मैले अहिले गर्न खोजेको काम भने पाठ्यक्रमको ढाँचामा परिमार्जन, परीक्षा तथा मूल्यांकन र निजी विद्यालयमा भौतिक संरचनासँगै उत्कृष्ट कक्षाकोठा भए पनि सामुदायिक विद्यालयमा पनि उत्कृष्ट कक्षाकोठाको निर्माण गरेर समावेशी तरिकाले पठनपाठन गर्ने वातावरण बनाउन लागेको छु।’ एसइईलाई अब के गर्ने भन्ने विद्यार्थीको जिज्ञासामा उनले भनिन्, ‘एसइई त्यति आवश्यक छैन भन्ने मान्छे हुँ म। तर यही वर्ष नै हामी त्यसलाई रोक्न सक्दैनौं। नयाँ ऐनले एसइईबारे निर्णय गर्छ।’

विद्यार्थीले श्रमसँग जोड्ने र देश चिनाउने पाठ्यक्रम माग गरे

- विद्या भट्टराई, शिक्षामन्त्री

मैले सरकारी र निजी दुवै विद्यालयका विद्यार्थीसँग पाठ्यक्रम, परीक्षा प्रणाली र सिकाइका समस्याबारे छलफल गरें। मुख्य रूपमा सरकारी विद्यालयका विद्यार्थीले श्रमसँग जोड्ने पाठ्यक्रम बनाइदिन अनुरोध गरे। निजीका विद्यार्थीले देश चिनाउने पाठ्यक्रम बनाइदिन अनुरोध गरे। निजीका विद्यार्थीले आफूहरू विदेशी विषयवस्तुबारे जानकार हुन सके पनि देशकै बारेमा भने खासै जानकार हुन नसकेको बताए। निजीका विद्यार्थी पढाइपछि देशमै बस्ने कि नबस्ने भनेर स्पष्ट छैनन्। तर सरकारीका विद्यार्थी श्रमसँग जोड्ने शिक्षा भएपछि आफूहरू अध्ययनपछि काम गरेर सक्षम बन्न सक्ने विचार व्यक्त गरे।  

प्रकाशित: १२ पुस २०८१ ०६:०२ शुक्रबार

# Minister of Education in schools #School education #Knowledgeable about foreign topics