शिक्षा

ऋण गरेर ट्युसन पढ्न विद्यार्थी खलंगामा

खाना–नास्ता गरेर मासिक १० हजार खर्च

जुम्लाको हिमा गाउँपालिका–१ आचार्य लिहीगाउँका हिक्मत रावत तीन हप्तादेखि सदरमुकाम खलंगामा छन्। श्री राहदेव माध्यमिक विद्यालय मोफ्लामा १० कक्षामा अध्ययनरत उनी डेरा लिएर सदरमुकाममा पढ्न आएका हुन्। गणित, विज्ञान र अंग्रेजी विषयको ट्युसन पढेबापत उनी प्रतिविषय दुई हजार पाँच सय रुपैयाँका दरले ट्युसन सेन्टरलाई बुझाउँछन्। ‘२५ सय कोठा भाडा तिर्छन्। खाना–नास्ता गरेर मासिक १० हजार खर्च भइरहेको छ,’ हिक्मतले भने, ‘स्कुलमा क्लास नभएपछि यहाँ आएर पढ्न थालेको हुँ। एसइईको तयारी त गर्नै पर्‍यो।’

बुबा लोग रावतले भारतका विभिन्न सहरमा मजदुरी गरेको पैसाले खर्च चलाइरहेको बताउने उनले राहदेव माविका सबैजसो विद्यार्थी मंसिरदेखि खलंगा आएर ट्युसन पढिरहेको बताए। ‘खर्च जुटाउन नसक्ने कोहीकोही मात्रै गाउँमा होलान्। नत्र ऋण गरेरै भए पनि सबैजना जुम्ला सदरमुकाम खलंगामा आएर पढिरहेका छन्,’ उनले भने। जुम्लाका विद्यार्थी आगामी चैतमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा छन्। 

गाउँका विद्यालयमा हिउँदमा पढाइ बन्द हुने भएपछि धेरैजसो विद्यार्थी ट्युसन पढ्नकै लागि सदरमुकाम खलंगा झरेका छन्। तर न्यून आर्थिक अवस्था भएकाहरू न नियमित कक्षामा सहभागी हुन पाएका छन् न ट्युसन पढ्न नै। ‘कसै–कसैलाई बिहान खाए साँझ के खाऊँ भन्ने अवस्था छ। छोराछोरीको कापी–किताब र स्कुल ड्रेस पनि किन्न नसक्नेहरू खलंगामा डेरा खोजेर त्यत्रो खर्च गरेर कसरी पढाउन सक्छन्?’ 

हिमा गाउँपालिकाका दानबहादुर रावतले भने, ‘कोर्स पूरा भएको हुँदैन। स्कुलमा पढाइ हुँदैन। जोसँग ट्युसन पढाउने पैसा छैन, उनीहरू कसरी एसइई देलान्?’ ग्रामीण क्षेत्रका सबै विद्यार्थी अवस्था उस्तै रहेको उनले सुनाए। यस्तै जुम्लाको गुठिचौर–१ विवेक ऐडीका अनुसार यो बेला जिल्लाका सबैजसो गाउँपालिकाका विद्यार्थी ट्युसन पढ्न सदरमुकाम ओइरिएका छन्। विद्यार्थी सदरमुकाम खलंगा आएका कारण बजारका घरमा भाँडामा कोठा पाउन पनि मुस्किल हुन थालेको छ। ट्युसन सेन्टरमा विद्यार्थीको घुइँचो लागेको छ। 

प्रकाशित: ७ पुस २०८१ ०९:४२ आइतबार

#Jumla #NagarikNews #tuition