चौदण्डीगढी नगरपालिकाले नगर शिक्षा नीतिको अपहेलना गर्ने निजी शैक्षिक संस्था (बोर्डिङ)हरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । नगरपालिकाभित्र सञ्चालित निजी तथा संस्थागत विद्यालयहरुले नगरपालिकासँग सहमति गरे अनुसार काम गर्न आग्रह गर्दै अन्यथा कारबाही गर्ने चेतावनी दिएको हो ।
दुवैपक्षबीच पटकपटकको बैठकमा गरेको सहमति कार्यान्वयन नगरेपछि नगरपालिका आक्रामक रुपमा प्रस्तुत हुन लागेको हो । नगरपालिकाको शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन गर्न बसेको दुईपक्षीय बैठकमा निजी विद्यालयहरुले सहमति गरे पनि अझै कार्यान्वयन नगरेकाले कारबाहीको दायरामा ल्याउन बाध्य भएको चेतावनी दिइएको छ ।
नगरपालिका शिक्षा शाखा प्रमुख उपसचिव रामेश्वर कुँवरले शिक्षा ऐनको व्यवस्था अनुसार संस्थागत विद्यालयहरुसँग पटकपटक बसेर गरेको सहमति कार्यान्वयन नगरेको बताए । दुईपक्षको सहमति विद्यालयहरुले पालना नगर्ने विद्यालयहरुलाई कारबाहीको दायरामा ल्याइने कुँवरले बताए । दुईपक्षीय छलफलमा कार्यरत शिक्षकलाई नियुक्तिपत्र अनिवार्य दिनुपर्ने, उनीहरुको तलबभत्ता बैँकमार्फत भुक्तानी दिने तथा १० प्रतिशत छात्रवृत्ति दिने भन्ने ३ बुँदे सहमति भएको थियो । शिक्षा ऐनमै भएको सो व्यवस्था लागू गर्न नगरपालिकाले संस्थागत विद्यालयका प्रतिनिधिलाई राखेर कार्यान्वयन गर्ने सहमति गराएको थियो । तर, सो सहमति अहिलेसम्म लागू नभएको कुँवरले बताए ।
प्रमुख प्रशासकीय अधिकृत जितबहादुर श्रेष्ठले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न विद्यालयहरुलाई सहमति गराइए पनि पालना नगर्दा समस्या भएको बताए । कम्तीमा शिक्षा ऐनले गरेको व्यवस्था त जसरी पनि लागू गर्नुपर्ने भन्दै सहमति अनुसार कानुनको पालना नगर्नु बदमासी ठहरिने उनको बुझाई छ । दुईपक्षीय बैठकमा गरेको सहमति पालना गर्छु भन्ने तर, नगरेपछि कारबाही गर्नुको विकल्प नरहेको श्रेष्ठले बताए । उनले नगरपालिकाले नगरक्षेत्रभित्रका शैक्षिक संस्थाहरुको अनुगमन गर्ने क्रममा विद्यालयहरुको कमजोरी फेला परेको बताए ।
अनुगमनको क्रममा सरकारले तोकेको न्यूनतम पारिश्रमिक १७ हजार ३ सय रुपैयाँ शिक्षकहरुले नपाएको गुनासो गरेका छन् । धेरै विद्यालयबाट शिक्षक ठगिएका कुरा पनि गुनासोको रुपमा आएको उनले बताए । त्यसैगरी शिक्षकहरुलाई नियमितरूपमा तलबभत्ता नदिएको तथा बैँक खातामार्फत भुक्तानी नगरेको पनि अनुगमनको क्रममा भेटिएको नगरपालिकाले जनाएको छ । बैँक खातामार्फत भुक्तानी प्रक्रिया मिलाइए पनि विद्यालयहरुले सोको कार्यान्वयन अझै नगरेको नगरको भनाई छ ।
त्यसैगरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिसमेत नदिएको पाइएको छ । नगरपालिकाले अन्तिम पटक चेतावनी दिने र नमाने कानुन बमोजिम कारबाही गर्ने प्रक्रियाको थालनी गर्ने श्रेष्ठले बताएका छन् । कारबाही गर्दा कसैप्रति आग्रह र पूर्वाग्रह नराखी गर्ने उनको भनाई छ ।
नगर प्रवक्ता प्रकाश राउतका अनुसार सहमति पालना गराउन दैनिक ३ पटकसम्म पत्राचार र मौखिक आग्रह गर्दासमेत विद्यालयहरुले बेवास्ता गर्दै आएका छन् । पटकपटक मौका दिँदा पनि सहमति पालना नगरेकै कारण विद्यललयहरु कारबाहीको भागीदार बन्नलायक रहेको राउतले बताए ।
चौदण्डीगढी नगरभित्र २१ वटा संस्थागत विद्यालय सञ्चालनमा छन् । जसमा ४ हजार ८ सय ५६ जना विद्यार्थी अध्ययनरत छन् । नगर शिक्षामा व्यापक सुधार गर्ने उदेश्यले ‘४१ बँुदे विद्यालय सुधार योजना’ पारित गरेर लागू गर्ने क्रममा छ । समायोजनपछि चौदण्डीगढीभित्र सामुदायिक विद्यालय ४१ वटा छन् ।
प्रकाशित: ५ पुस २०८१ १९:०६ शुक्रबार