नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी चयन भएका छन् । नेपाल विश्वविद्यालयको सर्वोच्च शासकीय निकाय, संरक्षण परिषद्को पहिलो बैठकले डा. लोहनीलाई चार वर्षका लागि कुलपति चयन गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारको निजामती सेवाबाट आफ्नो पेसागत जीवन सुरु गरेका डा. लोहनी एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैंकमा विभिन्न महत्त्वपूर्ण पदमा ३० वर्ष कार्यरत थिए । उनले एसियाली विकास बैंकको उपाध्यक्षका रुपमा समेत काम गरेका छन् ।
उनले सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका छन् ।
डा लोहनीले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।
प्रकाशित: ५ पुस २०८१ १५:४७ शुक्रबार