इटहरी क्षेत्रमा सञ्चालित ३६ वटा सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले दुई हजार तीन सय ३४ थान डेस्क–बेन्च हस्तान्तरण गरेको छ। सामुदायिक विद्यालयमा डेस्क–बेन्च अभाव हुँदा पठनपाठनमा समस्या परेकाले विद्यालयकै मागबमोजिम हस्तान्तरण गरिएको इटहरी उपमहानगरपालिकाले जनाएको छ।
इटहरी– १ मा सञ्चालित राष्ट्रिय माविमा सोमबार एक कार्यक्रम आयोजना गरी डेस्क–बेन्च हस्तान्तरण गरिएको हो। विद्यालयको आवश्यकताअनुसार न्यूनतम १० थानदेखि बढीमा तीन सय १० थानसम्म डेस्क–बेन्च हस्तान्तरण गरिएको उपमहानगरको शिक्षा शाखाका प्रमुख रमेशकुमार साहले बताए।
उपमहानगरको रेकर्डअनुसार वडा नं १ मा सञ्चालित राष्ट्रिय माविलाई तीन सय १०, इटहरी– ६ मा सञ्चालित जनता माविलाई एक सय ५०, इटहरी– २० मा सञ्चालित जनसहयोग माविलाई एक सय २८, इटहरी– १४ मा रहेको शान्ति सिर्जना माविलाई एक सय १४ र इटहरी– ३ मा सञ्चालित सरस्वती माविलाई एक सय १२ थान डेस्क–बेन्च प्रदान गरिएको छ। यस्तै, इटहरी– १६ को सरस्वती जब्दी मावि, वडा नं १५ मा रहेको शम्भुनाथ मावि, वडा नं २ मा रहेको महेन्द्र मावि र इटहरी– १२ मा रहेको शारदा माविलाई सय÷सय थान डेस्क–बेन्च हस्तान्तरण गरियो। अन्य विद्यालयलाई आवश्यकताअनुसार हस्तान्तरण गरियो।
डेस्क–बेन्च हस्तान्तरण कार्यक्रममा नगर प्रमुख हेमकर्ण पौडेलले विद्यालयको आवश्यकताबमोजिम कतिपय विद्यालयको शौचालय निर्माण भइरहेको र प्रत्येक विद्यालयमा सिसी क्यामेरा र स्मार्ट बोर्डको तत्काल व्यवस्था गरिने जानकारी दिए। उनका अनुसार जुन विद्यालयलाई सवारी साधन आवश्यक परेको छ, तिनका लागि सवारी साधन खरिद गर्न पुस महिनाभित्र पैसा उपलब्ध गराइने छ। उनले शिक्षा क्षेत्रमा देखिएका समस्यालाई नीतिगत ढंगले समाधान गर्दै अघि बढ्ने नीति लिइएको जनाए।
इटहरी क्षेत्रमा एक सय ७० वटा विद्यालय रहेका छन्, जसमा ३६ वटा निजी विद्यालय छन् भने अरू निजी रहेका छन्। नगर प्रमुख पौडेलले इटहरी उपमहानगरले एकै प्रकारका पोसाक इटहरीभरि लागू गर्ने निर्णय अघिल्लो शैक्षिक सत्रदेखि नै गरिए पनि कार्यपालिकाका सदस्यहरूको अवरोधले निजी विद्यालयमा लागू गर्न नसकिएको जिकिर गरे।
इटहरी उपमहानगरले यहाँका सामुदायिक विद्यालयका लागि एक विद्यालय एक नर्स कार्यक्रम पनि लागू गरेको छ। विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिन र स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।
प्रकाशित: ३ पुस २०८१ ०९:४१ बुधबार