शिक्षा

स्वास्थ्य र सरसफाइ सिकाउन सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी

विद्यार्थीलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गरी विद्यालय स्वास्थ्य तथा सरसफाइ प्रवर्द्धनका लागि लुम्बिनी प्रदेश सरकारले बाँके र रोल्पाका सामुदायिक विद्यालयमा स्वास्थ्यकर्मी नियुक्त गर्ने भएको छ।

विद्यालय तहबाटै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन उत्प्रेरित गर्न र विद्यालयमा आधारित स्वास्थ्य तथा पोषण सेवाको पहुँच वृद्धि गर्न विद्यालय स्वास्थ्य कार्यक्रममार्फत लुम्बिनी सरकारले स्वास्थ्यकर्मी विद्यालयमा पठाउने भएको हो।

यसका लागि लुम्बिनी प्रदेश विनियोजन ऐन, २०८१ को दफा १० को उपदफा (२) बमोजिम सामाजिक विकास मन्त्रालयले कार्यविधिसमेत स्वीकृत गरेको छ ्। विद्यालयमा स्वच्छ सफा र सिकाइमैत्री वातावरण तयार गर्न, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य जस्ता विषयमा परामर्श सेवा प्रदान गर्न र प्राथमिक उपचारात्मक सेवा उपलब्ध गराउन यसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। विद्यालय स्वास्थ्यकर्मी कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन, नीतिगत मार्गदर्शन र समन्वय गर्न सामाजिक विकास मन्त्रालयका सचिव संयोजक रहने गरी ६ सदस्यीय निर्देशक समितिसमेत रहने छ।

कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि प्राथमिकता निर्धारण, नीतिगत मार्ग निर्देशन, योजना तथा मापदण्ड तर्जुमा गर्ने, कार्यक्रमको प्रभावकारीताका लागि अनुगमन तथा मूल्याङ्कन गर्ने गराउने र छनोट समितिका कार्यमा आवश्यक सहजीकरण गर्न यस समितिलाई अधिकार दिइएको छ। यहाँका विद्यालय छनोट गरी यो कार्यक्रम सञ्चालन गरिने छ। यसका लागि पनि छट्टै समिति हुनेछ।

डिभिजन कार्यालय प्रमुख संयोजक रहने गरी चार सदस्यीय समिति हुने सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशले जनाएको छ। समितिले उक्त कार्यविधिको अनुसूची १ मा उल्लेखित आधार र मापदण्ड अनुसार विद्यालय छनोट गर्ने छ। समान प्रकृतिका कार्यक्रम सञ्चालन भइरहेका विद्यालयमा दोहोरो पर्ने गरी विद्यालय छनोट नगरिने कार्यविधिमा उल्लेख गरिएको छ।

संघ तथा स्थानीय तहबाट विद्यालय तर्स नियुक्ति नभएका र कार्यक्रम सञ्चालन नभएका विद्यालय र कुनै पनि निकाय तथा गैरसरकारी संस्थाबाट विद्यालय स्वास्थ्य तथा विद्यालय नर्ससम्बन्धी कार्यक्रम सञ्चालन नभएका विद्यालय हुनुपर्ने लुम्बिनी प्रदेश सरकारले जनाएको छ। पहाड र तराईमा विद्यालय संख्याको अनुपात र अङ्कको वर्गीकरण पनि विद्यालय छनोटको मापदण्ड रहेको छ।

रोल्पा र बाँके जिल्लामा छनोट भएका सामुदायिक माध्यमिक विद्यालयका विद्यालय स्वास्थ्यकर्मी छनोट गर्ने प्रयोजनका लागि सम्बन्धित डिभिजन कार्यालय योग्यता पुगेका व्यक्तिलाई छनोट गर्ने छ। कार्यविधि स्वीकृत भएर प्रक्रिया अगाडि बढेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा तथा सामाजिक विकास निर्देशनालयका निर्देशक रेश्मीराज अर्यालले जानकारी दिए। प्रदेश सरकारको चालु आर्थिक वर्षको बजेटअनुसार नै उक्त कार्यक्रम गर्न थालेको उनको भनाइ छ।

उनका अनुसार प्रदेश सरकारले बाँके र रोल्पामा सञ्चालन हुने यस कार्यक्रमका लागि ४५ लाख रुपैयाँ विनियोजन गरेको छ। यसका लागि अब निर्देशक समितिको बैठक बस्ने र विद्यालय छनोटका लागि सूचना आह्वान गर्ने शिक्षा तथा सामाजिक विकास निर्देशनालयले जनाएको छ। ‘यो कार्यक्रम यस वर्षका लागि मात्र विनियोजन भएको छ,’ उनले भने, ‘अर्काे वर्ष पनि बजेट विनियोजन भए यसलाई निरन्तरता दिन सकिन्छ।’ जम्मा विनियोजित रकममध्ये बाँके र रोल्पालाई बजेट बाँडफाँड गरिएको छैन। आवश्यक छलफलपछि दुई जिल्लामा बजेट बाँडफाँड गरिने उनको भनाइ छ।

प्रकाशित: १९ मंसिर २०८१ १७:५४ बुधबार