शिक्षा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज दीक्षान्त समारोह, प्रधानमन्त्री ओली जुम्ला आउँदै

जुम्लाको सदरमुकाम खलंगामा अवस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह आज हुँदैछ। 

प्रथम दीक्षान्त समारोहको आयोजनामा भाग लिन प्रधानमन्त्री केपी शर्मा ओली आज जुम्ला आउँदैछन्।

प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले ५८ जना विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको छ।

दीक्षान्त समारोहको सबै तयारी पूरा भएको उपकुलपति डा. मंगल रावलले बताए। उनका अनुसार समारोहमा कुलपति तथा प्रधानमन्त्री ओली, सहकुलपति स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डा. अन्जनीकुमार झा, अमेरिकास्थित हार्डबर्ड मेडिकल कलेज सेन्टर अफ प्राइमरी केयर सिस्टम स्ट्रेन्थेनिङका निर्देशक क्रिस्टिन मसेंगर पनि सहभागी हुनेछन्।

शिक्षाध्यक्ष डबलबहादुर धामीका अनुसार  स्नातकतर्फ वीपीएचमा ३८,एमबीबीएसमा १३ र स्नातकोत्तरतर्फ एमडीजीपीमा तीन, एमडी एनेस्थेसियामा एक र एमडी पेडियाट्रिक्समा एक गरेर ५८ जना विद्यार्थी दीक्षित हुनयोग्य छन्।

दीक्षान्त समारोहअघि प्रतिष्ठानको सभा बैठक बस्ने र दीक्षान्त समारोहपछि शैक्षिक भवनको उद्घाटन गर्ने कार्यतालिका तय भएको रजिस्ट्रार नृपेन्द्र महतले बताए।

प्रतिष्ठानले स्वास्थ्य सेवा, शिक्षा र अनुसन्धानको क्षेत्रमा योगदान पु¥याइरहेको छ। प्रतिष्ठानसभा बैठकमा भावीयोजना र भइरहेका गतिविधि बारेमा छलफल हुने उनको भनाइ छ।

प्रथम दीक्षान्त समारोहको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान चिटिक्क सजाइएको छ। रजिस्ट्रार महतका अनुसार दीक्षान्त समारोहको लागि प्रतिष्ठानका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले बिहान १० बजे जुम्ला आइपुग्ने कार्यतालिका छ।

प्रकाशित: २८ कार्तिक २०८१ ०९:२८ बुधबार

#Karnali academy of health sciences #KP Sharma Oli