शिक्षा

सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाली विश्वविद्यालयबीच समझदारी

नेपालको सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोन बुक नेसनल युनिभर्सिटीबिच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने समझदारी भएको छ । शुक्रवार देखि ललितपुरमा सुरु भएको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनका बीच आइतबार बिहान दुई विश्वविद्यालयले पाँच बुँदे समझदारी पत्र आदानप्रदान गरे । 

सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा. डा. हेमराज पन्त र दक्षिण कोरियाको जोन बुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा.ओ बोङ याङले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । 

दुई देशको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा मिलेर काम गर्ने गरी दुई विश्वविद्यालयबिच यो समझदारी भएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. पन्तले बताए । उनका अनुसार विश्वविद्यालयका फ्याकल्टी, प्राध्यापक र अनुसन्धानकर्ताहरू आदानप्रदान गरेर सिकाइ साटासाट गर्ने, विद्यार्थीहरूले दुवै विश्वविद्यालयमा शैक्षिक भ्रमणका माध्यमबाट आदानप्रदान गर्ने, दुवै विश्वविद्यालयबिच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान गर्ने, संयुक्त रूपमा अनुसन्धान सञ्चालन गर्ने, प्राज्ञिक बैठक तथा सेमिनारहरू आयोजना गर्ने समझदारी भएको छ । 

सन् १९४७ मा स्थापना भएको जोन बुक विश्वविद्यालयका प्रा. डा. ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारिधिका लागि सुपरभाइज गरेका छन् । समझदारी पत्र आदानप्रदान गर्दै उनले नेपाली विद्यार्थीहरूको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् । 

सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको  छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सह आयोजकको रूपमा रहेको छ ।

प्रकाशित: ११ कार्तिक २०८१ १२:२५ आइतबार

#FarWest-University #JohnBook_University #International ScientistSummit