शिक्षा

डिन छनोट प्रक्रियामै विवाद, विद्यार्थी आन्दोलित

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को मानविकी अध्ययन संकायको डिन नियुक्ति प्रक्रिया अघि बढेसँगै विवाद खडा भएको छ। त्रिविले राजनीतिक दबाबलाई निरुत्साहित गर्ने लक्ष्यसहित रिक्त हुने कार्यक्रम संयोजकदेखि अनुसन्धान केन्द्र निर्देशकसम्मका पदपूर्तिका लागि मापदण्डका आधारमा प्रक्रिया अगाडि बढाएपछि छनोट समितिले आफूखुसी गरेको भन्दै विरोध भइरहेको छ।

त्रिविले मानविकी संकायको डिन नियुक्ति प्रक्रिया मापदण्डकै आधारमा अगाडि बढाए पनि योग्य उम्मेदवार छनोटमा समितिले आफूखुसी गरेको भन्दै विवाद उत्पन्न भएको हो।

विद्यावारिधि उपाधि हासिल गरेको प्रमाणपत्र पेस गर्दासमेत आफ्नो विद्यावारिधिको नम्बर नै नजोडी सर्टलिस्ट निकालिएपछि डिनका उम्मेदवार प्राध्यापक कृष्णराज आचार्यले उपकुलपति कार्यालयमा छनोट प्रक्रियाविरुद्ध निवेदन दर्ता गराएका छन्।

आचार्यले आफूले नामको पछाडि पिएचडी लेख्ने गरेको र त्रिविले दिएको दीर्घसेवा पदकसम्बन्धी प्रमाणपत्रमा भने नामको अगाडि डा. लेखिएको बताए। उनले दीर्घसेवा पदक पाएको उक्त प्रमाणपत्र पेस गर्दा पनि विद्यावारिधिको ८ अंक मूल्यांकन समितिले नजोडी आफूलाई प्रतिस्पर्धाबाट बाहिर निकालेको गुनासो गरेका छन्।

‘मैले संस्कृत विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेको शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको छु। तर मेरो विद्यावारिधिको ८ अंक गणना नगरी पाँचजनाको नाम सर्टलिस्टमा प्रकाशित गरिएको रहेछ,’ आचार्यले नागरिकसँग भने, ‘छनोट समितिले मेरो विद्यावारिधिको अंक नजोडी त्रुटिपूर्ण ढंगले नतिजा प्रकाशन गरेकाले त्यसलाई सच्याउन उपकुलपतिसमक्ष निवेदन पेस गरेको छु। त्रिविले त्रुटि नसच्याए मैले कानुनी उपचार खोज्नेछु। कुनै कागजात नपुगेको भए समितिले माग्नुपथ्र्यो। विद्यावारिधि गरे पनि त्यसको अंक नदिएर मलाई रिङआउट गरी छनोट समितिले आफ्नालाई रोज्यो।’

छनोटको आधार मापदण्ड बनाइए पनि दलनिकटकै व्यक्ति नियुक्ति गर्न चलखेल गरिएको हुन सक्ने उनले बताए।

हरेक पदमा नियुक्तिका लागि त्रिविले यसपटक मापदण्ड बनाएको छ। मापदण्डअनुसार जिम्मेवार निकायका पदाधिकारीहरू जवाफदेही र उत्तरदायी बन्न सके त्रिविले कोल्टो फेर्न सक्ने प्राध्यापकहरूले विश्वास लिएकै बखत मानविकी संकायको डिन नियुक्तिमा चलखेल सुरु भएपछि त्यस्तो विश्वास गर्न मुस्किल बनेको प्राध्यापक केशव पौडेलले बताए। मानविकी संकायमा डिन नियुक्ति प्रक्रियामा भएको त्रुटि सच्याउन माग राखेर विद्यार्थीले बुधबार शिक्षाध्यक्षको कार्यालयमा घेराउ गरेका थिए।

त्रिविले सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ तय गरेको छ। यही विनियममा आधारित भएर त्रिविले अहिले आठ डिन, एउटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक, योजना निर्देशनालयका निर्देशक, १७ वटा क्याम्पस प्रमुख र ६ सहपरीक्षा नियन्त्रक गरी ३१ पदपूर्तिका लागि विज्ञापन गरेको थियो। जसका लागि दुई सय ७१ आवेदन परेको शिक्षाध्यक्षको कार्यालयका निजी सहायक राजु श्रेष्ठले बताए।

त्रिविले सबै पदका लागि छुट्टाछुट्टै छनोट समिति गठन गरी प्रक्रिया अगाडि बढाएको छ। तर त्रिविका जिम्मेवार पदाधिकारीहरू मापदण्ड पालनामा जवाफदेही र उत्तरदायी हुन्छन् भन्नेमा विश्वास गर्न सकिने आधार नदेखिएको प्राध्यापक पौडेलले बताए। यसअघि पनि समाजशास्त्र केन्द्रीय विभागको प्रमुख नियुक्ति प्रक्रियामा विवाद भएपछि सिफारिस सच्याउनुपरेको थियो।

‘विज्ञका नाममा त्रिविको बदनाम भयो। मेरिटोक्रेसीका नममा निरंकुशताको अभ्यास गरिनु दुःखद हो,’ पौडेलले नागरिकसँग भने, ‘विश्वविद्यालयका वैचारिक संघसंगठन पनि दलनिकट भएकाले दलकै प्रतिनिधिका लागि पो बोल्ने रहेछन्। दलमा आबद्ध नभएका शिक्षकका लागि बोलिदिने कोही छैनन्। अब कृष्ण सरसँगै हामी कानुनी उपचारमा जाने तयारीमा छौं।’

 उनले थपे, ‘प्राध्यापक डा. राजकुमार पोखरेललगायत उपकुलपतिसमेत दलका प्राविधिक टोली विज्ञका रूपमा डिन छनोट कार्यमा खटाइएका छन्। जो उपकुलपति हुन्छ, उसकै हालिमुहाली हुनेमा गुनासो रहेन। तर विज्ञ समितिका संयोजक पोखरेलले गोपनीयता राख्न नसकेर सामाजिक सञ्जालमा मैले जे गरें ठिक गरें भन्ने आशय लेख्नुभएकोमा आपत्ति छ।

’प्राध्यापक पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘हो, मैले पाएको गौरवशाली प्रमाणपत्र ठाउँमा प्रस्तुत नगरी घरमा थन्क्याएर राखी सेवा आयोगको परीक्षा दिन गए भने मेरो विद्यावारिधिको प्रमाणपत्र घरमा छ भनेर अयोगले मलाई त्यो प्रमाणपत्रको पाउने अंक दिन मिल्छ कि मिल्दैन ?’

क्याम्पस प्रमुखमा धेरै निवेदन

त्रिविमा सबैभन्दा आकर्षक पद क्याम्पस प्रमुख देखिएको छ। शिक्षाध्यक्ष कार्यालयका निजी सहायक राजु श्रेष्ठका अनुसार सबैभन्दा बढी आकर्षण क्याम्पस प्रमुख पदमा रहेको तथ्यांक उपलब्ध गराएका छन्।

कुल १७ क्याम्पस प्रमुख पद रिक्त भएकोमा ११६ जनाको आवेदन परेको उनले बताए। ‘सबैभन्दा बढी आवेदन पाटन संयुक्त क्याम्पसको प्रमुख पदका लागि छ। यो पदमा १७ जनाले आवेदन दिएका छन्,’ श्रेष्ठले भने।

डिन र निर्देशकहरूको नियुक्तिको जिम्मा उपकुलपति कार्यालयले पाएको छ भने सहनियन्त्रकको नियुक्तिको जिम्मेवारी रजिस्ट्रार कार्यालयले पाएको छ। यसैगरी कलेज प्रमुखको नियुक्तिको जिम्मेवारी शिक्षाध्यक्षको कार्यालयले पाएको छ। तीनै निकायले छनोट समिति बनाएर काम अघि बढाएको छ।’

त्रिविका प्रवक्ता यमसिंह बोहराले मानविकीको डिन नियुक्ति प्रक्रियामै रहेको बताए। उनले विज्ञसहितको छनोट समितिले मापदण्डमै रहेर डिनको नियुक्ति प्रक्रिया अगाडि बढाएको दाबी गरे।

प्रकाशित: ११ आश्विन २०८१ ०९:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App