शिक्षा

शिक्षकलाई तलब दिन विद्यालयमा स्याउ खेती

भैरव आधारभुत विद्यालय जोगिबाडाले गरेको स्याउ खेती। तस्बिर : गोल्डेन बुढा/नागरिक

हिमा गाउँपालिका– ३ जोगीबाडास्थित भैरव आधारभूत विद्यालयले शिक्षकलाई तलब खुवाउन स्याउ खेती गरिरहेको छ। पछिल्लो समयमा शिक्षक अभाव भइरहेको भन्दै कुनै पनि बेला निजी शिक्षक राख्न सकिने भएकाले स्याउ खेती गरिएको हो।

स्याउ खेतीबाट प्राप्त आम्दानी निजी शिक्षकलाई तलब दिन खर्चिने विद्यालयको तयारी छ। विद्यालयले २०७० सालमा पाँच सय स्याउका बिरुवा रोपेको थियो। अहिले बर्सेनि १५-२० हजार रुपैयाँबराबरको स्याउ बेचिरहेको प्रध्यानाध्यापक लालनाथ योगीले बताए।

विद्यालयले रेड, रोयल र गोल्डेन जातका स्थानीय स्याउ रोपेको छ। यी जातका स्याउले रोपेको तीनदेखि चार वर्षपछि उत्पादन दिने भएकाले अहिले कमै फलिरहेको छ। उच्च घनत्व स्याउ जिल्ला भित्रिँदा पुराना जातका स्याउ हराउन सक्ने सम्भावना बढेकाले पनि स्याउको संरक्षण गर्न विद्यालयले स्याउ खेती गरिरहेको यागीले बताए।

स्याउलाई चाहिने सिचाइँदेखि मलखाद व्यवस्थापनमा पनि शिक्षक र विद्यार्थीहरू नै खटिरहन्छन्। ‘यसपटक सबै अभिभावकलाई एक–एक डोको मल सहयोग गर्न भनिएको छ’, कक्षा ५ मा अध्ययनरत छात्रा अरुनिमा योगी भन्छिन्, ‘अभिभावकले मल दिएबापत बगैंचामा उम्रिएका घाँस र बगैंचाभित्र कोशेबाली लगाउन दिने भनिएको छ। यसले बगबगैंचा व्यवस्थापनमा राहत मिलेको छ।’

हरेक स्याउ मौसममा शिक्षकहरू विद्यार्थी लिएर बगैंचा पुगिरहेका हुन्छन्। विद्यार्थीहरूले स्याउको काँटछाँट, मल र सिँचाइ व्यवस्थापनका बारेमा कक्षा लिइरहेको सुनाउँछन् कक्षा ५ मा अध्ययनरत छात्र प्रवेशनाथ योगी। सानैदेखि विद्यार्थीले स्याउमा लाग्ने रोग, किरा र बगैंचा व्यवस्थापनका बारेमा सिप पाइरहेका छन्। यसले आगामी दिनमा स्याउ खेतीमा विद्यार्थीहरू जागरुक हुने देखिएको छ।

आर्थिक रूपमा विद्यालयलाई सबल बनाउन र निजी शिक्षक राखेर भए पनि गुणस्तरीय शिक्षा प्रदान गर्नमा कुनै कमी नहुन दिने योजनाका साथ स्याउ खेती थालिएको स्थानीय पुष्कर नाथयोगीले बताए। ‘स्याउ र जुम्ला पर्यायवाची हुन्। अब भावी पुस्ताले पनि सानैदेखि स्याउबारे ज्ञान आर्जन गर्नुपर्ने हुन्छ, जसका लागि विद्यालयले गरेको स्याउ खेती उदाहरणीय बन्न सक्छ’, प्रअ लालनाथले भने।

विद्यालयमा हाल चारजना अनुदानका शिक्षक छन्। अहिले निजी शिक्षक राख्नु परेको छैन, तर अनुदानमा शिक्षक राख्दा गाउँपालिकाले जुनसुकै बेला छाड्न सक्छ, त्यतिबेला स्याउ खेतीले महत्वपूर्ण काम गर्नेछ। एक सय २० जना विद्यार्थी छन्, जसमध्ये ६० छात्रा ६० छात्र रहेको भैरव आधारभुत विद्यालयका चारजना अनुदानका र चारजना स्थायी शिक्षक छन्।

विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेको छ। विद्यालय २०४५ सालमा स्थापना भएको हो। विद्यालयले स्याउ खेती गरेर बाँझो जमिनको उपयोग गरेको भन्दै किसानहरू पनि स्याउ खेतीमा आकर्षित भइरहेका छन्। दुईतीन वर्षपछि स्याउ बेचेर विद्यालयले बर्सेनि लाखौं रुपैयाँ भित्र्याउने आशा गरेको छ।

प्रकाशित: ५ आश्विन २०८१ ११:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App