शिक्षा

कृषि विश्वविद्यालयमा ताला: विद्यार्थीको भविष्य अन्योलमा

चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लागेको ताला तत्काल खुल्ने संकेत देखिएको छैन। भदौ १३ गते सत्तारूढ दल कांग्रेस र एमालेनिकट विद्यार्थीबिच भएको झडपपछि नेविसंघले लगाएको ताला खुलाउन विश्वविद्यालय असमर्थ देखिएको छ। जसकारण सञ्चालन भइरहेका र हुन लागेका स्नातक तहका विभिन्न सेमेस्टरका मौका र नियमित परीक्षासमेत प्रभावित हुन पुगेका छन्।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. पुन्यप्रसाद रेग्मीले विद्यार्थीबिच भएको झडपको विषय प्रशासनले मिलाउन सक्ने अवस्था नरहेको बताए। विश्वविद्यालयले प्रशासन खुलाउन नसकेपछि मंगलबार उच्चस्तरीय छानबिन समिति गठनका लागि शिक्षामन्त्रीलाई पत्रसमेत काटेको थियो।

‘घटनाको छानबिन गर्न विश्वविद्यालयले प्राध्यापक भूमिनन्दन देवकोटाको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति बनाएका थियौं। यो समितिले लामो समयदेखि भएको विवादका कारण झडप भएको र प्रशासनले ध्यान नदिएको निष्कर्ष निकालेको छ,’ उपकुलपति प्राध्यापक डा. रेग्मीले भने, ‘यस्तो अवस्थामा हामीले मिलाउनसक्ने अवस्था छैन।’

उनले ठुलो मास नै झडपमा सहभागी भएकाmे कारबाही गर्न कठिन भएको बताए। ‘घटना गम्भीर छ। एक जना विद्यार्थीको आँखाको ज्योति नै गुमेको भन्ने छ,’ उनले भने, ‘समस्या समाधान नभएसम्म विश्वविद्यालय खुलाउन कठिन देखिन्छ।’

विश्वविद्यालयको सुरक्षा र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरे पनि समाधान हुन नसकेको उनले बताए। अहिले विश्वविद्यालय प्रशासनको सुरक्षा घेराभित्र रहेको छ।

विश्वविद्यालयअन्तर्गत आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूको पठनपाठन ठप्प हुनुका साथै परीक्षा पनि प्रभावित भएको विश्वविद्यालयका परीक्षा नियन्त्रक सहदेव चौधरीले बताए। ‘पशु संकायको तेस्रो, छैटौं र सातौं सेमेस्टरको परीक्षा भदौ २ गतेदेखि सञ्चालित हुनुपर्ने थियो। स्नातकोत्तरको पहिलो सेमेस्टरको भदौ १४ गते, कृषि संकायको पूरक परीक्षा भदौ ११ गतेदेखि र वन विज्ञान संकायतर्फ छैटौं र सातौं समेस्टरको परीक्षा थियो,’ परीक्षा नियन्त्रक चौधरीले भने, ‘ताला लगाएपछि परीक्षा नै रोकिएको छ।’ उनका अनुसार करिब एक हजार विद्यार्थीको परीक्षा अन्योलमा परेको छ।

विद्यार्थीबिच विवाद भएपछि भदौ १५ गते नेपाल विद्यार्थी संघले विश्वविद्यालयका सबै संकायका प्रशासनमा तालाबन्दी गरेको थियो। नेविसंघले रामपुरमा भएको घटनालाई दाहोरो झडप नभएको दाबी गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। घटनामा आठजना आफ्ना विद्यार्थी घाइते भएको नेविसंघले बताएको छ।

कसरी भएको थियो विवाद?

विद्यार्थीमाथि आक्रमण १३ गते भए पनि विवाद १२ गतेदेखिको भएको नेपाल विद्यार्थी संघ कृषि विश्वविद्यालय रामपुरका सभापति निकेश शर्माले बताए। ‘भदौ १२ गते स्नातक तह सकेर जाने विद्यार्थीलाई बिदाइस्वरूप होस्टेलको कञ्चनजङ्घा भवनमा सामान्य पार्टी चलेको थियो।

 त्यहाँ एमालेनिकट अखिन नेपाल स्वतन्त्र विद्यार्थी युनियनका विद्यार्थी हल्ला भयो भनेर आए। त्यहाँ सामान्य विवाद भयो। त्यसको भोलिपल्ट साढे तीन बजेतिर अनेरास्ववियुका सयभन्दा बढी विद्यार्थीले सगरमाथा छात्राबासबाट निस्केर धौलागिरी छात्राबासमा बसेका विद्यार्थीमाथि आक्रमण गरे। उनीहरूको साथमा रड, चिर्पट दाउरा, बियरका बोतल, पाइप, इँटाढुंगा थिए।

 सुरुमा उनीहरूले झ्यालका सिसा फुटाले अनि बाहिरबाट दुईवटा कोठामा चुकुल लगाएर अर्को कोठाका चार जना साथीलाई बन्धक बनाएर कुटपिट गर्दा चार जना साथी घाइते भए, ६ जनालाई बन्धक बनाए,’ शर्माले भने। बन्धक भएका साथी बचाउन जाने क्रममा माथिबाट इँटा र ढुंगाले हानेर अर्का विद्यार्थी कमन दाहालको आँखासमेत गुमेको उनले बताए।

अनेरास्ववियुको आक्रमणबाट नेविसंघका निवर्तमान एकाइ अध्यक्ष शुभमसिंह ठकुरी, निवर्तमान उपाध्यक्ष अभिषेक ओली, सुशील क्षेत्री, एकाइ सचिव प्रितम भण्डारी, कोषाध्यक्ष कमन दाहाल, नरेश बस्नेत, जेनिश लामा घाइते भएको उनको आरोप छ। घाइतेमध्ये प्रितम र कमन गम्भीर थिए। उनीहरूको उपचार राजधानीमा भएर दुई दिनअघि डिस्चार्ज भएको उनले बताए।

नेविसंघले जिल्ला प्रहरी कार्यालय चितवनमा ६ जनालाई किटानी जाहेरीसहित दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ। नेविसंघले महेश खड्का, एकराज पराजुली, पवन पुरी, चिरन खनाल, विनोद भण्डारी, प्रसन्न पोख्रेललाई किटानी जाहेरी दिएको छ। त्यसमध्ये खनाल, भण्डारी र पोख्रेल प्रहरीको नियन्त्रणमा छन्। आँखा फुटाउनेलाई तत्काल विश्वविद्यालयबाट हटाउने र अध्ययनका लागि विश्वविद्यालयमा सुरक्षाको पूर्ण ग्यारेन्टी नहुँदासम्म ताला खुल्न नदिने अध्यक्ष शर्माले बताए।

अनेरास्ववियु कृषि विश्वविद्यालय रामपुरका अध्यक्ष सक्षम काफ्लेले झडपका क्रममा घटना घटेको बताएका छन्। ‘विश्वविद्यालय हामीले बन्द गरेका होइनौं। निर्दोष साथीहरू हिरासतमा हुनुहुन्छ,’ उनले भने, ‘मुठभेडमा भएको घटनालाई ठुलो मुद्दा बनाइएको छ।’

अहिले रामपुर क्याम्पसको होस्टेल खाली गरिएको छ। त्यहाँ बस्ने विद्यार्थी घरघर गएका छन्। होस्टेलका कारण रामपुरमा विवाद बढी हुने भएकाले सधैंका लागि होस्टेल खाली गर्ने तयारीमा विश्वविद्यालय छ। ‘२०७८ सालदेखि होस्टेल खाली गर्ने तयारीमा विश्वविद्यालय थियो। तर प्राध्यापक, कर्मचारीको आवासमा बाहिरी मानिसको आवागमन बढी हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सकेका थिएनौं,’ उपकुलपति रेग्मीले भने, ‘अहिले कर्मचारीको आवासमा बाहिरी मानिसको आवागमनका कडाइ गरेर व्यवस्थापन राम्रो गरेको अवस्थामा छात्राबासमा हात हाल्ने सोच्दासोच्दै घटना घट्यो।’

प्रकाशित: ५ आश्विन २०८१ ११:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App