शिक्षा

अभिभावकको निगरानीले उत्कृष्ट श्रीमावि, दाङ

राष्ट्रिय शिक्षा दिवसको अवसरमा आयोजित कार्यक्रम। तस्बिरः रूबी रौनियार।

सार्वजनिक शिक्षामा अभिभावकको निगरानी रह्यो भने त्यो विद्यालय देशकै सर्वोत्कृष्ट विद्यालय बन्नसक्ने उदाहरण दाङ जिल्लाको एक विद्यालयले दिएको छ। भ्रष्टाचारको अखडा बनेर अख्तियार र अदालतको मुद्दा खेपिरहेको र दिनहुँको तालाबन्दीबाट एकै पटक देशको सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भएको दाङको श्रीमावि तुलसीपुर सेन्टरले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न शिक्षक, विद्यार्थी र विद्यालयको प्रयासले मात्र नभएर मुख्य रूपमा अभिभावकको निगरानी अनिवार्य हुनुपर्ने सावित गरेको छ ।

बुधबार काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको श्री मावि तुलसीपुर सेन्टरका प्रधानाध्यापक भागवत पौडेलको समूहलाई देशकै उत्कृष्ट विद्यालयको रूपमा घोषणा गरी तीन लाख नगद, प्रमाणपत्र, ध्वजासहित पुरस्कृत गर्दा उनी भावुक बने।

उनले आफूले पुरस्कार थापिरहँदा द्वन्द्वमा फसेका स्कुललाई विभिन्न चुनौतीको सामना गरी अब्बल बनाएका दिनहरू सम्झेर भावुकका साथ गर्वको अनुभूति गरेको अनुभव सुनाए। देशभरका सार्वजनिक विद्यालयमध्येबाट २०८० सालको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षामा पास गरेको नतिजाको आधारमा यो स्कुल सर्वोत्कृष्ट भएको हो।

‘म २०६६ सालमा आफ्नो दरबन्दी आफैं लिएर श्रीमाविमा प्रअ भएर आउँदा स्कुलमा अख्तियार र अदालतका मुद्दा चलिरहेका थिए। स्कुलमा तालाबन्दी भइरहन्थ्यो। जम्मा २३० विद्यार्थी र सात निमावि दरबन्दी थियो,’ सर्वोत्कृष्ट स्कुलको पुरस्कार पाएपछि गर्वसाथ प्रअ पौडेलले नागरिकसँग भने, ‘आज हाम्रो विद्यालयमा बाल कक्षादेखि १२ सम्म २८ सय विद्यार्थी अध्ययरत छन्। सातबाट ४० दरबन्दी पुर्‍याएँ। निजी स्रोतका ५५ जना शिक्षक गरी हाल कुल ९४ जना शिक्षक छन् भने प्राविधिक धारका ६ वटा विषय पढाइ हुने गरेको छ। दुई बिघा जग्गामा ९ वटा भवन छन्, जसमा ५५ कोठा छन्। ती कोठामा दैनिक ५९ वटा कक्षा सञ्चालन भइरहेका छन्। १९ वटा कक्षाकोठामा स्मार्टबोर्ड र एसी जडान गरिएको छ।’

‘म प्रअ भएपछि २०७३ देखि आफ्ना नानीहरूको निगरानी अभिभावकलाई मोबाइल एप बनाएर सबै अभिभावकको मोबाइलमा डाउलोड गरिदिएँ। यहीँबाट हाम्रो स्कुलले कोल्टो फेर्‍यो।’

यति मात्र होइन, पौडेल आफू प्रअ भएलगत्तै योग्य शिक्षकहरू प्रतिस्पर्धाको आधारमा नियुक्ति गरेको, विषयगत शिक्षकको अभाव हटाएको, स्विस सरकारका दुई वर्षे प्री–डिप्लोमा धारको प्राविधिक शिक्षादेखि कक्षा ९ देखि १२ सम्म र सिटिइभिटीको प्राविधिक धार गरी कुल ६ विषयमा प्राविधिक धारले थप विद्यार्थी र अभिभावकको विश्वास जित्न सफल भएको उनले अनुभव सुनाए।

यही भएर २०७७/७८मा सरकारले मेगा विद्यालयको अवधारणा अनुसार स्कुललाई २४ करोड रूपैयाँ थप सहयोग गरेको उनी सुनउँछन्। ‘हाम्रो स्कुलमा बिहान, दिउँसो र साँझ गरी तीन चरणमा कक्षा चल्छन्। यसले विद्यार्थीले आफैं कमाएर पढ्छन्,’ प्रअ पौडेलले भने, ‘दाङका व्यापारीको भ्याट बिल हाम्रा विद्यार्थीले इन्ट्री गरी मासिक ६० हजारसम्म कमाउने गरेका छन्,’ उनले भने, ‘विद्यार्थीको समयअनुसार रोजेर अध्ययन गर्न पाउने व्यवस्था हाम्रो विद्यालयले गरेको छ। यस्तै कामले नै शिक्षामा गुणस्तर कायम गर्न सकिन्छ। हामीले कर्म गरेका मात्र हौं।’

यसैगरी दोस्रो उत्कृष्ट विद्यालय काठमाडौं त्रिपुरेश्वरस्थित विश्वनिकेतन मावि भएको छ। यो विद्यालयले दुई लाख नगदसहित सिल्ड र ध्वजा प्राप्त गरेको छ। विश्वनिकेतन विद्यालय यसअघि पनि देशकै सर्वोत्कृष्ट विद्यालयको रूपमा पुरस्कृत भइसकेको छ। तेस्रोमा दाङकै श्री जनकल्याण मावि, शान्तिगर सिमसुन्दरपुर बनेको छ। यो विद्यालयले एक लाख नगद, सिल्ड र ध्वजा प्राप्त गरेको छ।

यसैगरी निजी विद्यालयहरूतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण नतिजाको आधारमा देशकै उत्कृष्ट विद्यालयको रूपमा काठमाडौं जिल्लाको टोखा नगरपालिकास्थित फलोसेन्ट मावि बनेको छ।

यो विद्यालयले तीन लाख नगद, ध्वजा र सिल्ड प्राप्त गरेको छ भने दोस्रो काठमाडौं महानगरपालिका–१५ स्थित विजेश्वरी ज्ञान मन्दिर, सैनिक महाविद्यालयले पाएको छ। यो विद्यालयले दुई लाख नगदसहित सिल्ड र ध्वजा प्राप्त गरेको हो। तेस्रो स्थानमा बुढानिलकण्ठ नगरपालिकास्थित बुढानिलकण्ठ स्कुल नारायण स्थानले हासिल गरेको छ। सो स्कुलले एक लाख नगदसहित सिल्ड र ध्वजा प्राप्त गरेको छ।

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा खस्केर ४८ प्रतिशतमा झरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी एसइई नतिजालाई २२ प्रतिशतले वृद्धि गरी ७० प्रतिशत पुर्‍याउने नीतिगत पहल सुरु गरेको जनाएका छन्। उनले आउँदो एसइईको नतिजा ७० प्रतिशत पुर्‍याउने लक्ष्यसहित राज्यले मुख्य विषय गणित, विज्ञान र अंग्रेजीमा अनलाइन कक्षा सुरु गरी अघि बढेको स्पष्ट पारे।

बुधबार राजधानीमा आयोजित राष्ट्रिय शिक्षा दिवस २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एसइईको नतिजा ४८ प्रतिशत सन्तोषजनक नभएकाले यसलाई वृद्धि गरी कम्तीमा ७० प्रतिशत पुर्‍याउन सबै विद्यालय, शिक्षक, अभिभावक तथा शिक्षाका सरोकारवाला लाग्नुपर्ने बताए।

‘हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको छ। एसइईको ४८ प्रतिशत नतिजा सन्तोषजनक होइन। यसकारण राज्य हाल मुख्य विषय गणित, अंग्रेजी र विज्ञानका कक्षा अनलाइनमार्फत विद्यार्थीलाई सिकाउन पढाउन थालिएको छ,’ प्रम ओलीले भने, ‘सबै सामुदायिक विद्यालयमा अनलाइन कक्षाबाट पढाएर सुधार आउन थालेको पनि छ।’

 प्रधानमन्त्री ओलीले २००७ सालको प्रजातन्त्रको स्थापनासँगै नेपालमा गाउँगाउँमा स्वतःस्फूर्त रूपमा शिक्षा विकासको लहर चलेको थियो तर हामी जति अगाडि बढ्नुपर्ने थियो, त्यति अघि बढ्न नसकेको भन्दै आफ्नो धारणा राखेका थिए। राणा र राजाहरू ऐसआराम र शासनमा मात्रै बढी रमाएका थिए। उनले अहिले गणतन्त्र आइसकेकाले यो व्यवस्थामा शिक्षालाई पछाडि पर्न नदिनु हामी सबैको दायित्व रहेको अवगत गराए।

कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चशिक्षा, विद्यालय तह र सामाजिक क्षेत्रमा उत्कृष्टता हासिल गर्ने क्याम्पस, विद्यालय र संस्थालाई पुरस्कार वितरण गरेका थिए। यसैगरी सामुदायिक विद्यालयका अब्बल प्रदर्शन गरेका ७४ शिक्षकलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरिएको छ भने निजी शिक्षण संस्थाका शिक्षक र संस्थापक गरी ३२ जनालाई उत्कृष्ट शिक्षा पुरस्कार प्रदान गरिएको छ ।

‘ज्ञान, विज्ञान, सिप, उद्यम र मौलिकता: साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने आदर्श वाक्यका साथ बुधबार देशभर शिक्षा दिवस मनाइएको छ।

प्रकाशित: ३ आश्विन २०८१ ०६:१२ बिहीबार

# Aaviwako nigrani # Utkristha Shree mavi Dang