शिक्षा

एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको त्रुटि तत्काल सच्याउन सरकारलाई संसदीय समितिको निर्देशन

संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ ।

बुधवार सिंहदरबारमा बसेको सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सो प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै आम जनता र सम्बन्धित विद्यार्थीहरूलाई विश्वासमा लिएर त्यसलाई सच्याउन सरकारलाई निर्देशन गरेको हो ।

सो परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्ताङ्क अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिए। समितिले सो सम्बन्धमा तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र सो प्रतिवेदन समितिमा पेस गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि नै डामाडोल हुने गरी सो परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यता, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पनि आयोगले सो गम्भीर त्रुटि गरेको औँल्याउँदै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिवद्धता समिति समक्ष गरेकी छिन् । 

प्रकाशित: १९ भाद्र २०८१ १६:४९ बुधबार

#MBBS Entrance Exam