गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका लागि दक्ष जनशक्ति एक मुख्य कडी हो। दक्ष जनशक्तिलाई विश्व स्वास्थ्य संगठनले प्राथमिक तर महत्त्वपूर्ण क्षेत्रका रूपमा लिएको छ।
विश्वमा हरेक पाँच सेकेन्डमा एक मानिस दृष्टिविहीन भइरहेको तथ्यांक छ। करिब तीन करोड ६० लाख मानिस दृष्टिविहीन छन् भने दुई अर्बभन्दा बढी मानिसको दृष्टि कमजोर रहेको तथ्यांक छ। दृष्टिविहीनमध्ये करिब ९० प्रतिशत मानिस ग्रामीण र सीमान्तकृत समुदायका छन्।
नेपालले उच्च शिक्षामा चिकित्सा शिक्षातर्फ नेत्र (आँखा) स्वास्थ्यमा गुणस्तरीय शिक्षा प्रदान गर्न तथा गुणस्तरीय सामग्रीको उत्पादन गरी अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाउन तिलगंगा नेत्र विश्वविद्यालयको आवश्यकता महसुस गरिरहेको छ।
यही आवश्यकता महसुस गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डा. सन्दुक रुइतको सहकार्यमा विश्वविद्यालय स्थापना गर्ने योजनासहितको विधेयक तयार पारी छलफलमा ल्याएको हो।
पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठको पहलमा तयार पारिएको उक्त विधेयक हाल राष्ट्रियसभामा छलफल भइरहेको छ। नेपालमा हालसम्म स्थापना भएका १३ वटा विश्वविद्यालय सबैको कार्यक्रम र पठनपाठन एउटै किसिमको छ। तर तिलगंगा नेत्र प्रतिष्ठान भने फरक रूपमा स्थापना हुने विधेयकले प्रस्ताव ल्याएको छ।
तिलगंगा आँखा अस्पतालका प्रमुख सञ्चालन अधिकृत पिताम्बर अधिकारीले तिलगंगा नेत्र विश्वविद्यालयले शैक्षिक गतिविधिका साथै उत्पादनलाई पनि जोड दिने भएकाले यसको स्थापना महत्त्वपूर्ण रहेको बताए
साथै विश्वविद्यालयले यस क्षेत्रमा प्रविधिको विस्तार गर्न विभिन्न नवीनतम विधामा अध्ययन अध्यापनमार्फत शैक्षिक गुणस्तर हासिलमा समेत सहयोग पुग्ने उनको दाबी छ।
विश्वविद्यालय विधेयकले उल्लेख गरेअनुसार विश्वविद्यालय स्थापना भए यसले नेत्ररोग विशेषज्ञ, दृष्टि विशेषज्ञ, सामुदायिक आँखा स्वास्थ्य, आँखा स्वास्थ्य व्यवस्थापन, आँखा अस्पताल व्यवस्थापन, आँखा स्वास्थ्य नर्सिङलगायत विषयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्य लिएको छ।
‘यो विश्वविद्यालयको प्रस्तावित संरचनाले अनावश्यक प्रशासनिक खर्च कम गर्न छरितो संरक्षक परिषद्को प्रस्ताव गरेको छ,’ विधेयकमा संलग्न एवं अस्पतालका प्रमुख सञ्चालन अधिकृत अधिकारीले भने, ‘संरक्षक परिषद्मातहतका पदाधिकारी विभिन्न पदमा कार्य गर्ने कर्मचारीसरह नै हुने भएकाले आर्थिक भार कम गर्न सहयोग पुग्छ,’ उनले थपे, ‘हाल संस्थाले सञ्चालन गरिरहेको अस्पतालले प्रदान गर्ने सेवामा आर्थिक रूपमा सबल व्यक्तिहरूले बढी रकम तिर्ने र नसक्ने व्यक्तिहरूले निःशुल्क उपचार पाउने अवधारणा अनुसार चलिरहेको छ। जसले गर्दा प्रिमियम सेवादेखि जनरल सेवा एउटै छातामुनि सबै वर्गका मनिसलाई सेवा प्राप्त गर्न सहज छ।’
तिलगंगा आँखा अस्पतालका सहायक प्रबन्धक कृष्णगोपाल श्रेष्ठले प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय आत्मनिर्भर संस्था हुने भएकाले सञ्चालनका लागि अनुदानबाहेक दैनिक प्रशासनिक खर्च, तलबभत्तामा राज्यको कुनै व्यय भार नपर्नेमा स्पष्ट पारे।
‘हाल यस प्रतिष्ठानबाट विभिन्न नौ प्रकारका करिब ७० लाख लेन्स उत्पादन भइसकेको छ। नेपालमा आवश्यक पर्ने इन्ट्राओकुलर लेन्समा देश आत्मनिर्भर रहेको छ,’ सहायक प्रबन्धक श्रेष्ठले तिलगंगाको अवस्था बताए, ‘उत्पादित लेन्समध्ये ५० प्रतिशतभन्दा बढी लेन्स ४० भन्दा बढी देशमा निर्यात भइरहेको छ।
जसबाट उल्लेख्य अर्थोपार्जनका साथै देशको नाम फैलाउनसमेत सहयोग पुगको छ। २२ जिल्लामा २५ वटा सामुदायिक आँखा केन्द्रहरू, ४० ग्रामीण आँखा केन्द्र तथा तीन सामुदायिक आँखा अस्प्ताल सञ्चालनमा रहेकाले विश्वविद्यालय सञ्चालन गर्न राज्यको आर्थिक भार पर्दैन।’
श्रेष्ठका अनुसार हाल नेपाल आँखा कार्यक्रम संस्थाअन्तर्गत सुविधा सम्पन्न आँखा अस्पताल, आँखा बैंक, अनुसन्धान केन्द्र, शैक्षिक तथा तालिम केन्द्र बाह्य कार्यक्रम विभाग र इन्ट्राओकुलर लेन्स उत्पादन विभागसहित आठवटा विभाग रहेका छन्।
नेपाल आँखा कार्यक्रमको अस्पतालका रूपमा तिलगंगा आँखा अस्पताल र यसमातहतका साझेदार अस्पताल, सामुदायिक अस्पताल, शल्यक्रिया आँखा केन्द्र तथा सामुदायिक आँखा केन्द्र गरी दैनिक तीन हजारभन्दा बढी बिरामीलाई बहिरंग सेवा उपलब्ध गराइरहेको छ।
दिनमा १५० भन्दा बढी बिरामीको शल्यक्रिया सेवा प्रदान गरिरहेको छ। यस अस्पतालद्वारा २०२३ सम्ममा ९० लाखभन्दा बढी नेत्र रोग सेवा प्रदान गरेको छ भने १० वटा अति विशिष्टीकृत सेवा सञ्चालनमा छन्। जसअन्तर्गत ४० भन्दा बढी नेत्र रोग विशेषज्ञले सेवा प्रदान गरिरहेका छन्।
काठमाडौं महानगरपालिका–८ स्थित १३ रोपनी जमिन र सोही स्थानमा एक लाख २५ हजार वर्गफुट भएको दुईवटा भवन, मकवानपुरमा डेढ बिघा जग्गा र तीनवटा भवन छन् भने विभिन्न जिल्लामा २५ सामुदायिक आँखा अस्पताल केन्द्र भवन छन् । यस अस्पतालले नेपाल लगायत भारत, भुटान, बंगलादेश, मध्यपूर्वी देश एवं अफ्रिकालगायत संसारभरका बिरामीले आवश्यक आँखा उपचार सेवाबाट लाभ लिइसकेका छन् । अस्पताल आफैंमा आत्मनिर्भर भई आवश्यक सम्पूर्ण सेवा प्रदान गर्दै आइरहेकाले विश्वविद्यालय स्थापनापनछि यी सबै संस्थागत हुने विश्वास लिइएको छ।
नेपालमा सन् २०१९ मा भएको एक सर्वेक्षणका अनुसार कुल दृष्टिविहीनहरूमध्ये मोतिबिन्दुका कारण ६२ प्रतिशत मानिस दृष्टिविहीन भएको पाइएको छ।
अधिकांश दृष्टिविहीन न्यून आयका र दुर्गम ग्रामीण भेगका रहेको तथ्यांकले उजागर गरेको थियो। ग्रामीण भेगमा गुणस्तरीय आँखा सेवा पुर्याउने उद्देश्यका साथ बाह्य कार्यक्रम विभागले वर्षेनि स्वदेश तथा विदेशका ५० भन्दा बढी स्थानमा मातिबिन्दुको शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्दै आएको श्रेष्ठले बताए।
‘हालसम्म यस्ता शिविरमार्फत नेपालमा सात लाख ७८ हजार ९०८ जनाभन्दा बढीको आँखा जाँच र दुई लाख १९ हजार ६७३ जनाको निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइसकेको छ,’ प्रबन्धक श्रेष्ठले भने, ‘विदेशमा भुटान, भारत, चीन, बंगलादेश, कम्बोडिया, लाओस, म्यानमार, मेक्सिको, मार्सल, आइल्यान्ड, हवाई, उत्तरकोरिया, इन्डोनेसिया, इथियोपिया, घाना, इरिटिया, तान्जेनियालगायत देशमा ५६ हजार ३४६ शल्यक्रिया भइसकेको छ।’
विकसित देशहरूमा करिब २२० अमेरिकी डलर पर्ने लेन्स नेपालमा करिब चार सय रूपैयाँमा उत्पादन भई वितरण भइरहेको उनले जनाए।
प्रकाशित: १३ भाद्र २०८१ ०७:०६ बिहीबार