शिक्षा

विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा

काठमाडौं – शिक्षा ऐन नवौं संशोधनको विरोध गर्दै आएका प्रमुख तीन विद्यार्थी संगठन अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेका छन्।

३ विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै यही चैत १७ देखि अनिश्चितकालसम्म शैक्षिक हड्तालको घोषणा गरेका हुन्।

शिक्षक सेवा आयोगले यही चैत २३ गतेका लागि निर्धारण गरेको अस्थायी शिक्षकहरूको परीक्षा स्थगीत गर्नुपर्ने उनीहरूको प्रमुख माग छ। संशोधनको माग राख्दै विद्यार्थीहरू आमरण अनसनमा बस्दा समेत सरकार गम्भीर नबनेको उनीहरूको आरोप छ।

“अनसनरत विद्यार्थीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ। तर यस्तो गम्भीर विषयमा अहिलेसम्म सरकारले न त आँखा खोलेको छ, न त कान। हाम्रो न्यायपूर्ण मागलाई वेवास्था गरी शैक्षिक अराजकता पैदा गरिएकाले उक्त माग पूरा नहुँदासम्म निर्णायक संघर्षमा उत्रन बाध्य भएका छौं,” विज्ञप्तिमा भनिएको छ।

आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गरेका छन्। त्यस्तै भोली शनिबार बाट देशभरका कलेजमा अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित: १६ चैत्र २०७४ ०८:२६ शुक्रबार

विद्यार्थी संगठनद्वारा अनिश्चितकालीन शैक्षिक हड्ताल घोषणा