शिक्षा

महानगरको छात्रवृत्तिमा किन देखिएन रुचि?

छात्रवृत्तिबारे गलत बुझाइका कारण योग्य विद्यार्थीले काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने भनिएको छात्रवृत्तिका लागि आवेदन नै गरेनन् भने कतिपय विद्यार्थीले छात्रवृत्ति पाए पनि स्कुलले शुल्क माग्ने त्रासले राम्रो स्कुलमा भर्नाका लागि आँट नगरेको पाइयो। यसले महानगरले कक्षा ११ मा उपलब्ध गराउने भनिएको छात्रवृत्ति कोटामा अपुग रहे भने अर्कातिर लक्षित विद्यार्थीले यसको लाभ उठाउन पाएनन्। महानगरले देशभरिकै कक्षा ११ मा काठमाडौंमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराए पनि अझै एक हजार एक सय ७० कोटा खाली रह्यो।

किन विद्यार्थीले छात्रवृत्तिमा रुचि देखाएनन्?

दाङका मिनराज चौधरी काठमाडौंको एक सरकारी स्कुलबाट एसइई पास भए। उनले ३.२२ जिपिए ल्याएका थिए, तर महानगरले उपलब्ध गराउने छात्रवृत्तिबारे उनी अनभिज्ञ छन्। एसइई परीक्षा दिएलगत्तै उनी आफ्नो घर दाङ गए। नतिजा प्रकाशनअघि रोपाइँ पनि भ्याइन्छ भन्ने उद्देश्यले उनी घर गएका थिए।

आर्थिक रूपले विपन्न परिवारका मिनराज अझैसम्म कक्षा ११ भर्ना हुन सकेका छैनन्। ‘एक त उनलाई महानगरले छात्रवृत्तिका लागि आवेदन खुलाएको थाहै भएन। न कसैले उनलाई जानकारी नै दिए’, व्यवस्थापनमा आइटी पढ्ने इच्छा लिएका मिनराजले नागरिकसँग भने, ‘काठमाडौं फर्किएपछि अन्तिम समयमा थाहा पाए। शुक्रबार कार्यालय बन्द थियो। मैले आवेदन दिनै भ्याइनँ।’ मिनराजले थपे, ‘आमा ज्यामी काम गर्नुहुन्छ। पैसा तिरेर कक्षा ११ भर्ना हुने अवस्था छैन।’ एक संस्थाको सहयोगले मिनराजले कक्षा १० सम्मको पढाइ पूरा गरेका थिए।

अर्कातिर एसइईमा ३.२१ जिपिए ल्याएर पास भएका निर श्रेष्ठ छात्रवृत्तिमा भर्ना भएका विद्यार्थीसँग स्कुलहरूले शुल्क मागेको थाहा पाएपछि आफूले आवेदन नै नगरेको सुनाए। कालिमाटी निरवाराही स्कुलबाट एसइई पास भएका उनी आइतबार सोल्टीमोडमा रहेको काठमाडौं कलेज अफ सेन्टर स्टेटमा व्यवस्थापनमा भर्ना भए।

‘छात्रवृत्ति पाएका विद्यार्थीसँग कक्षा ११ मा भर्नापछि स्कुलले पछि विभिन्न बहाना गरेर शुल्क मागेको थाहा पाएको थिएँ’, निरले नागरिकसँग भने, ‘यति मात्र होइन, छात्रवृत्तिका विद्यार्थी फेल भएमा शुल्क तिर्नुपर्ने डरले पनि मैले छात्रवृत्तिमा आवेदन गरिनँ।’

छात्रवृत्ति पाएकी रञ्जना प्रधानले ठूला स्कुलले शुल्क माग्ने त्रासले पाएको छात्रवृत्तिमा भर्ना हुन आँट नगरेको सुनाइन्। ‘काठमाडौंको राम्रो प्लस टुमा छात्रवृत्ति पाएकी छु’, निरबाराही स्कुल कालिमाटीबाट एसइई उत्तीर्ण रञ्जनाले नागरिकसँग भनिन्, ‘भोलि त्यो स्कुलले मसँग शुल्क माग्यो भने म तिर्न सक्दिनँ। खै र भर्ना हुने कि नहुने सोचले अन्योल भएँ।’

उनले थपिन्, ‘स्कुलहरूले बिचैमा फेल गराइदिने पनि सुनेकी छु। यसले गर्दा शुल्क तिर्नुपर्ने अवस्था आए म बिचल्लीमा पो पर्ने हो कि?’

एसइईमा ३.४ जिपिए ल्याई महानगरको छात्रवृत्ति पाएकी अर्की छात्रा सुस्मिता श्रेष्ठले छात्रवृत्ति छाडेर आफूले रोजेको स्कुलमा कक्षा ११ मा भर्ना भएको बताइन्।

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि लिइएको परीक्षाबाट मनोनयन सूची (म्याचिङ) मा परेका दुई हजार आठ सय ५९ जना विद्यार्थीको नाम सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोट समितिको निर्णयअनुसार शनिबार पहिलो चरणको सूची प्रकाशन गर्दा दुई हजार आठ सय ५९ जना विद्यार्थी मात्र छात्रवृत्तिका लागि योग्य देखिए। जबकि महानगरभित्र विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी कुल छात्रवृत्ति कोटा चार हजार ६ सय २९ तोकिएको छ।

कतिपय विद्यार्थीलाई महानगरको छात्रवृत्ति थाहै छैन भने कतिपयलाई स्कुलले समेत सूचना दिएनन्। कतिपय विद्यार्थीले थाहा पाएर पनि छात्रवृत्तिका लागि आवेदन दिएनन् किनभने उनीहरूको एउटै त्रास छ– कलेजले पैसा माग्यो भने के गर्ने ? कतिपय विद्यार्थी छात्रवृत्ति पाएर पनि आफूले राम्रो अंक ल्याउन नसके स्कुलले शुल्क माग्ने पो हो कि भन्ने त्रासले पाएको छात्रवृत्तिसमेत छाड्न चाहेका छन् भने कतिपय विद्यार्थी रुचाएको स्कुल नपाएपछि पनि छात्रवृत्ति छाड्नुपरेको बताउँछन्।

शनिबार प्रकाशन भएको सूची, साउन ४ गते लिइएको परीक्षा नतिजामा विषयगत र समूहगत योग्यताक्रम, परीक्षार्थीले अनलाइन आवेदन फाराम भर्दा शिक्षण संस्थाहरूमा गरेको प्राथमिकताक्रमअनुसार आरक्षण र समूहगत रूपमा छुट्याइएको सिट संख्याका आधारमा सूची प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर शैलेन्द्र झाले जनाए। नाम प्रकाशन भएका विद्यार्थीले साउन १५ भित्र भर्ना भइसक्नुपर्ने उनले जनाए।

छात्रवृत्ति छनोट समितिका संयोजक एवं शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माले विद्यार्थीले तोकिएको समयभित्र भर्ना नभए त्यसपछि कुनै पनि प्रकारको दाबी विरोध गर्न नपाइने स्पष्ट पारे। ‘साउन १५ भित्र भर्ना नभई रिक्त रहेका सिटसमेतका लागि दोस्रो सूची प्रकाशन हुनेछ’, शिक्षा अधिकारी शर्माले नागरिकसँग भने, ‘महानगरले उपलब्ध गराएको छात्रवृत्ति कक्षा ११ र १२ का लागि हो। विद्यार्थीले कुनै किसिमको अन्योलमा पर्नु पर्दैन।’

उनले जोड दिए, ‘निजी विद्यालयहरूले दिनुपर्ने १० प्रतिशत छात्रवृत्तिमा विद्यार्थी छनोट भएका हुन्। विद्यार्थीले दुई वर्ष पूर्णरूपमा निःशुल्क पढ्छन्। कुनै शुल्क तिर्नु पर्दैन। विद्यार्थी भनाइबहिनीहरू, ढुक्क भएर भर्ना हुनुहोस्। कतिपय विद्यालयले भर्ना, प्रयोगशाला शुल्क माग गरेको गुनासो आएको छ। हामी यस विषयमा जानकारी लिँदै छौं।’

विज्ञान विषयमा छात्रवृत्तिका लागि एक हजार सात सय ५७ वटा छात्रवृत्ति कोटा उपलब्ध छ। यसमा आठ हजार चार सय ९७ जनाले आवेदन दिए। परीक्षामा सात हजार ६ सय ६५ जना सहभागी भए। ६ हजार सात सय २० जना उत्तीर्ण भए। उत्तीर्णमध्ये एक हजार ६ सय ३७ जनाको नाम पहिलो सूचीमा प्रकाशन भएको छ।

व्यवस्थापन विषयमा दुई हजार चार सय ९३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि दुई हजार पाँच सय ८१ जना विद्यार्थीले आवेदन दिए। दुई हजार तनि सय २८ जनाले परीक्षा दिए। परीक्षार्थीमध्ये एक हजार तीन सय ८१ जना उत्तीर्ण भए। यस विषयका लागि पहिलो म्याचिङ सूचीमा एक हजार एक सय ४६ जनाको नाम प्रकाशन भएको छ।

कानुन विषयमा एक सय ३६ वटा छात्रवृत्ति कोटा छ। यस विषयका लागि एक सय ५३ जनाको आवेदन परेको थियो। एक सय ३२ जनाले परीक्षा दिएकोमा ७३ जना उत्तीर्ण भए। उत्तीर्णमध्ये ५३ जनाको नाम प्रकाशन भएको छ।

मानविकी अध्ययनका लागि एक सय ७३ वटा छात्रवृत्ति कोटा छ। यसका लागि १३ जनाको आवेदन थियो। आवेदकमध्ये ११ जनाले परीक्षा दिए। यस्तै आठजना उत्तीर्ण भए। यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन भएको छ।

शिक्षाका लागि ७० वटा छात्रवृत्ति कोटा छ। यसका लागि ३७ जना आवेदकमध्ये ३२ जना परीक्षामा सहभागी भए। १५ जना उत्तीर्ण यस विषयका लागि उत्तीर्ण सबैको नाम प्रकाशन गरिएको सहरी योजना आयोगका सदस्य इन्जिनियर झाले जनाए। अनलाइन प्रणालीबाट ११ हजार आठ सय ७१ जना विद्यार्थीले आवेदन दिएका थिए, जसमध्ये ११ हजार दुई सय ८१ जनाको आवेदन स्वीकृत भएको थियो।

प्रकाशित: १४ श्रावण २०८१ ०७:०६ सोमबार

# Misunderstandings about scholarships