शिक्षा

वैशाख २ मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी

भक्तपुर – समयमा किताब छाप्न नसकेकोमा आलोचना खेप्दै आएको जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष वैशाख २ मै विद्यार्थीको हातहातमा किताब पु-याउने तयारी गरेको छ। एक दशकदेखि विद्यार्थीले पाठ्यपुस्तकबिना नै अन्तिम परीक्षामा सहभागी हुनुपर्ने बाध्यता थियो।

सरकारले वैशाख २ गते ‘हामी सबैको इच्छा, अनिवार्य, निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारासहित भर्ना अभियान थाल्ने भएको छ। बिहीबार सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा जनक शिक्षाका प्रबन्ध सञ्चालक महेशप्रसाद तिमलसिनाले यस वर्षको अनुमानित तथ्यांकअनुसार ९०.९३ प्रतिशत पुस्तक छापिसकेको तथ्यांक प्रस्तुत गरे।

शिक्षा विभागले जनक शिक्षा सामग्री केन्द्रलाई कक्षा ६–१० का लागि १ करोड ९२ लाख ३९ हजार ६ सय ५६ थान पाठ्यपुस्तक छाप्ने जिम्मेवारी दिएको थियो। जनकले भने गत वर्षको तथ्यांकका आधारमा १ करोड ८३ लाख ६ हजार थान पुस्तक छाप्ने तयारी गरी बिहीबारसम्म १ करोड ६६ लाख ४५ हजार ७ सय ४ थान पुस्तक छापिसकेको तिमलसिनाले बताए। ‘बाँकी २६ लाख थान किताब हामी एक साताभित्र तयार पारिसक्छौं’, उनले भने, ‘चैत २५ गतेभित्र ११ सय डिलरबाट सबै स्कुलमा पुस्तक पु-याउने तय भइसकेको छ।’ विराटनगर डिपोमा मागको ८०.९७ प्रतिशत, जनकपुरमा ७१.६६ प्रतिशत, भरतपुरमा ६९.२४ प्रतिशत , पोखरामा ९३.१ प्रतिशत, नेपालगन्जमा ८९.८५ प्रतिशत र धनगढीमा ८६.६७ प्रतिशत पुस्तक पठाइसकेको उनले बताए। ‘ढुवानीमा कुनै बाधा अवरोध भएन भने वैशाख २ मा स्कुलका नानीको हातहातमा पुस्तक पुग्छ’, उनले भने।

सरकारले कक्षा १–५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी निजी छापाखानालाई दिएको छ । कक्षा १–५ का लागि १ करोड ६५ लाख २८ हजार ७० थान पुस्तक छाप्न निजी छापाखानालाई जिम्मा दिइएकोमा बिहीबारसम्म एक करोड थान छापिसकेको र २५ लाख थान तयारी रहेको निजी छापाखानाका प्रतिनिधि दीपक भण्डारीले बताए। जनक शिक्षाले पनि कक्षा १–५ का साढे १२ लाख थान किताब छापेको छ।

शिक्षा विभागका उपनिर्देशक देवीराम अर्यालले यस वर्ष समुदायिक विद्यालयमा  कक्षा १–१० मा अध्ययनरत ५५ लाख ३० हजार ५ सय ३१ विद्यार्थीलाई पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउन सरकारले २ अर्ब २२ करोड २२ लाख २२ हजार रुपैयाँ विनियोजन गरेको बताए।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले समेत पाठ्यपुस्तकबापतको रकम विद्यालयको खातामा निकासा दिन स्थानीय तहलाई पत्राचार गरिसकेको जानकारी पाएको अर्यालले बताए। उनका अनुसार चैत २५ गतेसम्म मुद्रक तथा वितरकले सबै जिल्लामा पुस्तक पु¥याइसक्नुपर्छ।

प्रकाशित: १६ चैत्र २०७४ ०१:१७ शुक्रबार

मै विद्यार्थीका हातमा पुस्तक पु-याउने तयारी