शिक्षा

केशर पुस्तकालय छिटो सञ्चालन गर्न संसदीय समितिको निर्देशन

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले केशर पुस्तकालय छिटो सञ्चालन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार निर्माणाधीन  पुस्तकालय भवनको निरीक्षण गरी यथासक्दो छिट्टो निर्माणकार्य पूरा गरी पुस्तकालय सञ्चालनका लागि पहल गर्न निर्देशन दिएको हो।

समितिका सभापति मायाप्रसाद शर्मासहितको टोलीले पुस्तकालयलाई सुरक्षित र व्यवस्थित गर्न पुस्तकालय प्रमुख सुरेशकुमार यादवलाई निर्देशन दिएका हुन। समितिले दोस्रोपटक पुस्तकालय भवनको निरीक्षण गरेको हो।  

त्यसअवसरमा समितिलाई हालसम्म ८० प्रतिशत प्रगति भएको जानकारी गराइएको थियो ।  विसं २०७२ को गोरखा भूकम्पमा क्षतिग्रस्त केशर पुस्तकालयको भवन विसं २०७६ बाट प्रवलीकरण (रेट्रोफिटिङ) सुरू गरिएको थियो। दुई वर्षभित्र कार्यसम्पन्न गर्ने भनिए पनि छ वर्षसम्म पनि पूरा नभएकामा सांसदहरूले आपत्ति जनाएका थिए।

समितिका सभापति शर्माले निर्माणमा भएको ढिलाइ र बाँकी काम कहिले सकिन्छ भनेर प्रश्न गरेकोमा पुस्तकालय प्रमुख यादवले भवनको सेलिङ राख्न केही ढिलाइ भएको जवाफ दिए। त्यसका लागि बोलपत्रको समय नौ महिना थप गरिएको उनले जानकारी दिए। ‘ चैतसम्ममा पुस्तकालय पूरै तयार हुन्छ भन्नेमा आशावादी छौँ’, उहाँले भने, ‘लगभग ८० प्रतिशत कार्यसम्पन्न भएको छ।’

यादवका अनुसार पुस्तकालयामा पुरातात्विक र नयाँ गरी ६५ हजार पुस्तक संरक्षित छन् । यहाँ एक हजार एक सय ५० वर्ष पुरानो हस्तलिखित ग्रन्थहरू छन् । यिनको ‘डिजिटलाईज’ गर्ने कार्य भइरहेको उनले जानकारी दिए ।  

पुस्तकालयका विषयमा सभापति शर्मा, सांसदहरू गोपाल भट्टराई, गोमादेवी तिमिल्सिना,गोपालकुमार बस्नेत, पदमबहादुर परियार, मदनकुमारी साह (गरिमा), युवराज शर्मा, रुक्मिणी कोइराला, रेणु चन्द, श्रीकृष्णप्रसाद अधिकारी र सुमित्रा विसी गरी १२ जनाले विभिन्न जिज्ञासा राखेका थिए ।  

प्रकाशित: २५ असार २०८१ १८:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App