शिक्षा

एसइईमा चितवनका पाँच विद्यालयको नतिजा शून्य

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चितवनका पाँच विद्यालयको नतिजा शून्य रहेको छ।

राष्ट्रिय परीक्षा बोर्डले बिहीबार सार्वजनिक गरेको एसइईको नतिजामा जिल्लाका पाँच वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो।

इच्छाकामना गाउँपालिकाका तीन, भरतपुर महानगरपालिका र राप्ती नगरपालिकाका एक/एक वटा विद्यालयको नतिजा प्रतिशत शून्य रहेको शिक्षा तथा समन्वय इकाई चितवनका प्रमुख भूमिलाल सुवेदीले जानकारी दिए।

उनका अनुसार इच्छाका मनाको जनप्रिय माध्यमिक विद्यालय काउले, माध्यमिक विद्यालय ढुङ्गे, माध्यमिक विद्यालय माझगाउँ, भरतपुर महानगरपालिकाको रामनगर माध्यमिक विद्यालय र राप्ती नगरपालिकाको गणेश माध्यमिक विद्यालय देउरालीटारको नजिता शून्य छ।

शून्य नजिता आएका विद्यालयमा रामनगर मावि बाहेक दुर्गम ठाउँका विद्यालय हुन्। यी चार वटा सामुदायिक विद्यालयमा अधिकांश सिमान्तकृत चेपाङ समुदायका बालबालिकाले अध्ययन गर्दै आएका थिए। रामनगर माविबाट २०, गणेश माविबाट २०, माध्यमिक विद्यालय ढुंङ्गेबाट १८, माझगाउँ माविबाट १६ र जनप्रिय माविबाट १३ जनाले परीक्षा दिएका थिए।

चितवन जिल्लामा सामुदायिक तर्फ सबैभन्दा धेरै नारायणी नमुना माध्यमिक विद्यालयले विद्यार्थी पास गराएको छ। यो विद्यालयको पास प्रतिशत ९० को हाराहारीमा रहेको सुवेदीले जानकारी दिए। सामुदायिक विद्यालयकोभन्दा संस्थागत विद्यालयको पास प्रतिशत राम्रो रहेको उनले बताए। ‘अहिले नै सबै विद्यालयको ग्रेड अनुसार नजिता छुट्टाएका छैनौँ। यो सार्वजनिक गर्नु पनि त्यति उपयुक्त नहोला,’ सुवेदीले भने ‘छानी छानी भर्ना लिने विद्यालयहरुसंग अरु विद्यालयको नतिजा तुलना गर्नु राम्रो पनि हुँदैन।’ समग्रमा चितवनमा यस वर्ष ४ हजार ७ सय ९१ जना विद्यार्थी अनुत्तीर्ण भएका छन्।

जिल्लामा यस पटकको एसइईमा उत्तीर्ण प्रतिशत दर ५६ प्रतिशत छ। जिल्लाबाट दश हजार ८ सय ३२ जना विद्यार्थीले परीक्षा दिएकोमा छ हजार ४१ जना विद्यार्थी उत्तीर्ण भएका छन्। सङ्ख्यात्मक रुपमा उत्तीर्ण विद्यार्थीको संख्या कम भएपनि गुणात्मक रुपमा चितवनको नतिजा गत वर्षभन्दा राम्रो रहेको सुवेदीको भनाई छ।

उत्तीर्ण मध्ये १६ जनाले ४ जिपिए ल्याएका छन्। गत वर्ष चितवनमा ६ जनाले मात्र ४ जिपिए ल्याएका थिए। यस्तै, जिल्लामा ‘ए’ प्लस ल्याउने विद्यार्थीको संख्या १ हजार ६ सय ९२ रहेको छ । यो संख्या अघिल्लो वर्षभन्दा ४ सय ८१ जनाले बढी हो। ‘ए’ ग्रेड ल्याउनेको संख्या १ हजार ९ सय ९९ रहेको छ। अघिल्लो वर्ष १ हजार ५ सय ९९ जना रहेको कार्यालय प्रमुख सुवेदीले जानकारी दिए।

जिल्लामा ४ जिपिए ल्याउने विद्यालयमा संस्थागत विद्यालय बढी छन्। ९ वटा संस्थागत विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याउन सफल हुँदा सामुदायिक तर्फका २ वटा विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन्। सामुदायिक विद्यालय तर्फ चितवन माध्यमिक विद्यालय र बालकुमारी कन्या माध्यमिक विद्यालयका विद्यार्थीले मात्र ४ जिपिए ल्याएका छन्। नन ग्रेडमा परेका विद्यार्थीले ग्रेड वृद्धि परीक्षा (पूरक परीक्षा) दिन पाउँछन्। यसका लागि सरकारले साउन १८ गतेदेखि परीक्षा तोकेको छ। 

प्रकाशित: १७ असार २०८१ १५:१२ सोमबार

#SEE Result 2080 #SEE Result Chitwan