शिक्षा

शैक्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्दै आठराई त्रिवेणी गाउँपालिका

आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभरिका विद्यालयहरूका प्रधानाध्यापकको भेला गरेको छ। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने सुझावका विषयमा छलफल गर्न पालिकाले भेला गरेको हो।

नीति तथा कार्यक्रमको अन्तिम तयारीमा रहेको पालिकाले सम्बन्धित विद्यालयहरूमा समावेश गर्नुपर्ने योजना तथा नीतिबारे सुझाव माग गर्न यस्तो भेला गरिएको पालिका अध्यक्ष दीपेन्द्र पोमु (दीपेन) ले जानकारी दिए।

आठराई त्रिवेणी गाउँपालिकाभरिका ३१ वटा विद्यालयका प्रधानाध्यापक भेलामा सहभागी भएका छन्। पालिकाले यो भेलामार्फत पालिकाभरिका विद्यालयहरूमा समावेश गर्नुपर्ने योजना तथा शैक्षिक नीतिहरूका विषयमा प्रधानाध्यापकको राय माग्ने छ।

विद्यालयहरूका प्रधानाध्यापकबाट प्राप्त रायलाई आगामी आवको नीति, कार्यक्रम र बजेटमा समावेश गरिने पालिका अध्यक्ष पोमुले जानकारी दिए। पालिकाले चालु आर्थिक वर्षभरिको सेवा प्रवाहका बारेमा जनताका गुनासा र आगामी आवको बजेटबारे जनताको सुझाव ग्रहण गर्ने गरी पालिकाका प्रत्येक वडामा पुगेर राय लिइरहेको छ।

पालिका उपाध्यक्ष शान्ताकुमारी आङवुहाङले असार ४ बाट सुरु भएको जनताका गुनासा तथा सुझाव ग्रहण गर्ने कार्यक्रम शनिबार पालिकाको केन्द्र रहेको वडा नं ३ हाङपाङमा आएर पूरा हुने जानकारी दिइन्।

पालिकाले विषयगत सेवा प्रवाहको क्लस्टर बनाई आगामी आवको बजेटबारे सुझाव लिइरहेको र आइतबारसम्ममा अन्तिम रुप दिई कार्यपालिकाबाट अनुमोदन गराई सोमबार सभामा पेस गर्ने कार्यसूची बनाएको छ।

पालिका अध्यक्ष पोमु केही साताअघि सम्पन्न शैक्षिक भेलाबाट प्राप्त निष्कर्ष तथा पालिकाभरिका विद्यालयहरूका प्रधानाध्यापकबाट प्राप्त सुझावका आधारमा आगामी आवको शैक्षिक योजना तथा कार्यक्रम तय हुने बताउँछन्।

‘विद्यालयको वास्तविक समस्या के छ, कस्तो शैक्षिक नीति आवश्यक छ भनेर प्रधानाध्यापकले दिएका सुझावका आधारमा शैक्षिक नीति, कार्यक्रम र बजेट बन्ने हो भने त्यो वास्तविक र परिणाममुखी हुने ठान्यौं’, पालिका अध्यक्ष पोमुले भने।

पालिकाले प्रत्येक विद्यालयलाई प्रशासनिक खर्चसमेत उपलब्ध गराउने गरेको छ भने प्रधानाध्यापकलाई मासिक भत्तासमेत उपलब्ध गराउँदै आएको पालिकाका शिक्षा शाखा प्रमुख सुरेश पुरीले जानकारी दिए।

प्रकाशित: ८ असार २०८१ ११:०७ शनिबार

#Athrai Triveni Rural Municipality #Discussion with school principal #Financial year policy program