शिक्षा

गुरुकुलमा ‘स्कुल’ र ‘हेत्छाकुप्पा’ मञ्चन

विराटनगरमा जारी नाटक महोत्सवको तेस्रो दिन सोमबार दुई वटा नाटक मञ्चन भएका छन्। हाटखोलास्थित गुरुकुलमा ह्वी क्यानले ‘स्कुल’ र पिस नेपालले ‘हेत्छाकुप्पा’ नामक नाटक मञ्चन गरे।

‘स्कुल’ ले कलात्मक रुपमा सकारात्मक व्यंग्यसहित वर्तमान नेपालको शिक्षा प्रणाली देखाएको छ। नवराज पराजुलीद्वारा लिखित तथा विकास बुढाथोकीद्वारा निर्देशित उक्त नाटकमा स्मृति चाम्लिङ राई, सदीक्षा पोखरेल, ओमप्रतीक चौधरी, सिकुम लिम्बूलगायतले अभिनय गरेका छन्।

यस्तै, हेत्छाकुप्पाले पौराणिक कथालाई सुन्दर ढंगले प्रस्तुत गरेको छ। प्रवीण पुमाद्वारा लिखित नाटकलाई सुमन कुइँकेलले निर्देशन गरेकी छिन्।

नाटकमा दुई दिदीहरुले मरेको भनी छोडेका भाइ हेत्छाकुप्पाले महिला राक्षस चक्रङ्गदिमाको पासोबाट बाँच्न र समृद्ध हुन गरेका संघर्षलाई देखाइएको छ।

बुधबारसम्म चल्ने नाटक महोत्सवमा मंगलबार गौरादह जेसिज तथा झोराहाट नाट्य समूहको नाटक ‘सुरुङ’ र कलालय इटहरीले ‘शत्रु’ नामक नाटक मञ्चन गर्ने जनाइएको छ।

महोत्सवको पहिलो दिन आयोजकले ‘चौथो अध्याय’ मञ्चन गरेको थियो भने दोस्रो दिन कदम थिएटर दमकले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गरेको थियो।

प्रकाशित: ३ असार २०८१ १८:१९ सोमबार