शिक्षा

रङ लगाउन सिक्दै धौलागिरि माविका विद्यार्थी

बेनी नगरपालिका– ४ सिंगास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई घरमा रङ लगाउने तालिम दिइएको छ।

बेनी नगरपालिकाको ‘हामी सक्छौं, हामी गर्छौं’ कार्यक्रममार्फत धौलागिरि माविले विद्यार्थीलाई व्यावसायिक सीप सिकाउन घरमा रङ लगाउने तालिम दिएको हो। कक्षा १० का २५ जना विद्यार्थीलाई सात दिनसम्म रङ लगाउने तालिम दिइएको विद्यालयका शिक्षक खोमराज पौडेलले बताए।

‘दुईजना प्रशिक्षकबाट २५ जना विद्यार्थीलाई सात दिनसम्म रङरोगनसम्बन्धी आधारभूत तालिम दिएका छौं’, उनले भने, ‘यसअघि विद्यार्थीलाई च्याउ खेती गर्न र मुढा बुन्न सिकाएका थियौं।’

रङ लगाउने सीप दैनिक जीवनयापनका अलावा पढाइ पूरा गरेपछि व्यवसाय सञ्चालन र रोजगारीका क्रममा उपभोगी हुने विद्यार्थीले बताएका छन्। डिलबहादुर किसान र मुकेश शाहले तालिम दिएका थिए।

तालिमका क्रममा विद्यार्थीले विद्यालय भवनमा रङ लगाएर चिटिक्क पारेका छन्। रङ खरिद र प्रशिक्षकलाई  भत्ता खर्च विद्यालयले उपलब्ध गराएको थियो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न १६ वटा विद्यालयका माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन हामी सक्छौं, हामी गर्छौं कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। हालसम्म दुई हजार जनाभन्दा बढी विद्यार्थी सीपमूलक तालिममा सहभागी भएका छन्।

‘हाउस वायरिङ, प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १६ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा एक लाख रुपैयाँका दरले बजेट उपलब्ध गराएको छ। –रासस

प्रकाशित: ३१ जेष्ठ २०८१ ०८:४० बिहीबार

#students #Coloring Training #Dhaulagiri Secondary School