शिक्षा

गर्मी बढेपछि हेटौँडाका विद्यालय बन्द

पछिल्लो केही दिन यता अत्यधिक गर्मी बढेपछि हेटौँडा उपमहानगरपालिकाका विद्यालय बन्द गरिने भएको छ।

गर्मीले विद्यार्थी बिरामी पर्नुका साथै पठनपाठन नै प्रभावित हुने अवस्था आएपछि हेटौँडा उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।

उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय सार्वजनिक गरेको हो। 

‘अत्यधिक गर्मीका कारण विद्यार्थी बिरामी परेको तथा पठनपाठनमा असहजता भएकाले केही समय विद्यालय बन्द गर्न जनप्रतिनिधि, विद्यालय तथा अभिभावकबाट अनुरोध भएकोले वर्षे बिदाबाट कट्टी हुने गरी जेठ ३१ र ३२ गते विद्यालय बन्द रहने ब्यहोरा जानकारी गराइन्छ’, सूचनामा भनिएको छ।

सूचना अनुसार नगर भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय तथा मन्टेश्वरी एवम् प्रारम्भिक बाल विकास केन्द्रहरू असार १ गते शनिबार परेकाले असार २ गतेबाट मात्र सञ्चालन हुनेछ। पछिल्लो करिब एक हप्ता यता मकवानपुरमा पनि गर्मी बढेको छ। गर्मीका कारण विद्यार्थी बिरामी समेत पर्न थालेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८१ १८:४२ बुधबार

#School closed