शिक्षा

सिल्भर माउन्टेन स्कुलका १४३ विद्यार्थी दीक्षित

सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टका १४३ जना विद्यार्थी दीक्षित भएका छन्।

राजधानीको होटल हायात रीजेन्सीमा आयोजित १८औं दीक्षान्त समारोहमा १४३ जना विद्यार्थीहरूले अन्तर्राष्ट्रिय आतिथ्य र पर्यटन व्यवस्थापनमा स्नातक उपाधि प्राप्त गरेका हुन्।

समारोहमा विद्यालयका संस्थापक एवं प्राचार्य समीर थापाले स्नातक उपाधि प्राप्त विद्यार्थीहरूलाई बधाई दिँदै आतिथ्य उद्योगमा विश्वभर महत्त्वपूर्ण योगदान दिन सक्ने सम्भावनाको बारेमा जोड दिए। 

कार्यक्रमका प्रमुख अतिथि बेलायती राजदूतावासका महामहिम रोब फेनले सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टको सफलताको प्रशंसा गर्दै यसले गुणस्तरीय शिक्षा प्रदान गर्न गरेको अग्रणी प्रयासको चर्चा गरे।

समारोहमा उत्कृष्ट विद्यार्थी, कर्मचारी र संकाय सदस्यहरूलाई विशेष पुरस्कार वितरण गरी सम्मान गरिएको थियो।

पुरस्कार प्राप्त गर्नेहरूमा डिन्स अवार्ड-२०२४ का फैजा बानु, शैक्षिक उत्कृष्टता पुरस्कार-२०२४ का रचित अग्रवाल, वर्षको उत्कृष्ट विद्यार्थी-२०२४ का फैजा बानु, उत्कृष्ट शिक्षण-२०२४ का सुजन महर्जन र उत्कृष्ट कर्मचारी-२०२४ का सञ्जु गर्तौला रहेका छन्।

प्रकाशित: २९ जेष्ठ २०८१ १५:४९ मंगलबार