शिक्षा

छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने काठमाडौँ महानगरको चेतावनी

काठमाडौँ महानगरपालिकाले छात्रवृत्ति नदिने निजी विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ।

महानगरले आज एक सूचना जारी गर्दै चालु शैक्षिक सत्रका लागि संस्थागत विद्यालयले ३ दिनभित्र विद्यार्थीलाई उपलब्ध गराइएको छात्रवृत्ति विवरण नपठाए कालोसूचीमा राखेर कानून बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो।

महानगरका अनुसार हालसम्म चालु शैक्षिक सत्रका लागि ४७३ संस्थागत विद्यालयबाट कक्षा १० सम्मसम्मका विद्यार्थी सङ्ख्या र उपलब्ध गराइएको छात्रवृत्ति विवरण प्राप्त भएको छ। जसअनुसार विद्यार्थीको सङ्ख्या १ लाख ४९ हजार ९५० जना छन्। यसमध्येका १८ हजार १८ हजार ४२२ जनाले छात्रवृत्ति प्राप्त गरेका छन्।

अझै पनि केही विद्यालयले विवरण बुझाउन बाँकी छ। यस्ता विद्यालयहरूलाई ३ दिनभित्र https://datacollection.kathmandu.gov.np/ मा विवरण पठाउन मौका सूचना प्रकाशित गरिएको महानगरले जनाएको छ।

यसपटक तोकिएको अवधिभित्र विवरण नपठाउने विद्यालयहरूलाई ‘बन्द विद्यालयको अभिलेख’ मा राखेर सोहीबमोजिमको कारबाही गरिने महानगरको सूचनामा उल्लेख गरिएको छ।

प्रकाशित: २४ जेष्ठ २०८१ १०:३४ बिहीबार

#kathmandu #Kathmandu Metropolitan City #Scholarships #private_school