शिक्षा

हुनु र नहुनुकाे अवस्थामा छ सिंजा बहुमुखी क्याम्पस

तीर्थबहादुर नेपाल सिंजा बहुमुखी क्याम्पसका प्रमुख हुन्। उनले २०७६ सालमा ७५ हजार रुपैयाँ तलब बुझेका थिए, जुन एक वर्षअघिको हो। त्यसयता उनले तलब पाएका छैनन्, तर क्याम्पसमा भने नियमित खटिएकै छन्।

उनीसँगै पार्टटाइम पढाउने १० जना शिक्षक छन्। उनीहरुले पनि पढाएको पारिश्रमिक पाएका छैनन्। क्याम्पसको आयस्रोत नभएको र सरकारले पनि क्याम्पस सञ्चालनका लागि आर्थिक सहयोग नगरेकाले क्याम्पस अलपत्र अवस्थामा रहेको उनले बताए।

क्याम्पस प्रमुख नेपालले विद्यार्थी भर्ना गरेबापत् संकलन भएको रकमले प्रशासनिक खर्च जुटाउने गरेको गुनासो गरेका छन्। उनले भने, ‘यो वर्ष २० जना मात्रै विद्यार्थी क्याम्पसमा भर्ना भएका छन्। प्रति विद्यार्थी सात हजार शुल्क उठाउँदा एक लाख ४० हजार रुपैयाँ मात्र संकलन भएको छ। यो रकमले क्याम्पसको वार्षिक प्रशासनिक खर्च मात्रै चल्छ।’

शिक्षक र प्राध्यापक नभएका र पार्टटाइम शिक्षकहरुले काम चलाउ शिक्षा दिइरहेकाले भर्ना भएर विद्यार्थी जिल्लाबाहिर जाने गरेको उनले बताए। उनी भन्छन्, ‘यो क्याम्पस बाह्रै महिना सुनसानजस्तै छ। भवनहरु पुराना र जीर्ण छन्। क्याम्पसमा न पूरै समय होमिएका शिक्षक छन्, न त भर्ना भएका विद्यार्थीको नियमित पठनपाठन हुन्छ। नाग्म –गमगडी सडकसँगै जोडिएको सिंजा बहुमुखी क्याम्पस साधारण विद्यालयजस्तो पनि छैन। बर्खामा गौचरणजस्तो देखिन्छ।’

कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिका गरेर तीन स्थानीय तहका विद्यार्थीको पठनपाठन सहज होस् भन्ने उद्देश्यले २०६७ सालमा स्थापित क्याम्पसमा स्थापना कालमा विद्यार्थी आकर्षण थियो। उतिबेला तीन सय विद्यार्थी एकैपटक भर्ना भएका थिए। घरआँगनमै क्याम्पस स्थापना हुँदा स्थानीय बासिन्दा खुसी थिए। विद्यार्थीमा पनि पढ्ने ऊर्जा बढेको थियो, तर पछिल्लो समयमा सरकारले सिंजा क्याम्पस व्यवस्थापनमा कुनै चासो नदेखाएपछि विद्यार्थीबिनाको क्याम्पसका रुपमा चिनिन थालेको क्याम्पस प्रमुख नेपाल बताउँछन्।

क्याम्पस प्रमुख नेपालका अनुसार परीक्षा केन्द्र अर्कै क्याम्पसमा हुने र स्वअध्ययनले मात्र परीक्षा दिनुपर्ने भएकाले विद्यार्थी भर्ना हुनसमेत मानिरहेका छैनन्। स्थानीय सरकारले बर्सेनि भवनलगायतका संरचना निर्माणका लागि अपुग बजेट छुट्याइरहेको हुन्छ, जसले गर्दा निर्माणाधीन अवस्थामै अलपत्र बन्ने गरेका छन्।

प्रदेश सरकार र स्थानीय सरकारले क्याम्पसपरिसरमै दुईवटा भवन बनाइरहेका छन्। एक भवनको डेकुरेसन नहुँदा प्रयोगमा आउन सकेको छैन। एउटा भवनको पिलर मात्रै ठड्याइएको छ। भवन बनाउन प्रयोग भएका निर्माण सामग्री खिया लागेर काम नलाग्ने भइसकेका छन्। स्थानीय सुनौलो क्षेत्रीले शैक्षिक जनशक्ति उत्पादन गर्न स्थापना भएको क्याम्पसको हालत दयनीय रहेको बताए।

उनले भने, ‘यही अवस्था हो भने खारेज गरिदिँदा भयो। यो त क्याम्पसका नाममा बेइज्जत भएको छ।’ क्याम्पसमा शिक्षा संकायतर्फ अंग्रेजी, नेपाली, अर्थशास्त्र र म्याथम्याटिक्स विषयमा अध्ययन भइरहेको छ। व्यवस्थापनतर्फ मार्केटिङ विषय पढाइ भइरहेको छ। भर्खरै बनेका दुई भवनसमेत अलपत्र अवस्थामा छन्। प्रदेश र स्थानीय सरकारले वर्षेनि संरचना निर्माणमा बजेट छुट्याउने गरे पनि भवनहरु अधुरै अवस्थामा छन्।

क्याम्पसको वृद्धि विकासमा स्थानीयले पनि खासै चासो नदेखाए पनि गुणस्तरीय शिक्षा प्रदान गर्न र हराभरा बनाउन क्याम्पस व्यवस्थापन समितिले पहल गरिरहेको प्रमुख नेपालले बताए। क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर जिसीले यसअघिको व्यवस्थापन समितिले काम नगर्दा क्याम्पसको अवस्था खस्किएको बताए। उनले भने, ‘क्याम्पस निर्माण र व्यवस्थापनका लागि सरकारी पक्षसँग बारम्बार कुराकानी भइरहेको छ। केही वर्षमा क्याम्पसको अवस्था सुध्रने पक्का छ।’

उनले शिक्षक, विद्यार्थी, अभिभावक र सरकारबीचको आपसी सम्बन्धले मात्र क्याम्पसको स्तर वृद्धि हुने बताए। उनका अनुसार अहिले बजेट भित्र्याउन पहल भइरहेको छ। दुगर्मका विद्यार्थीलाई सर्भसुलभ तरिकाले पढाउने सिंजा क्याम्पसको सपना पूरा गर्न क्याम्पस परिवार, अभिभावक, विद्यार्थी र सरोकारवाला निकायको ध्यान जान जरुरी देखिएको छ।

दुर्गममा खोलिएको क्याम्पसको मर्मअनुसारको काम हुन नसके क्याम्पस हुनु र नहुनुमा खासै अर्थ नहुने शिक्षाविज्ञ बताउँछन्। अहिले नाग्म–गमगढी सडकमा ओहोरदोहोर गर्ने जोसुकैले क्याम्पसलाई गिज्याइरहेका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १२:२४ बिहीबार

सिंजा क्याम्पस तीर्थबहादुर नेपाल क्याम्पसका प्रमुख