शिक्षा

शैक्षिक सत्र अगावै बैतडी पुगे पाठ्यपुस्तक

आगामी शैक्षिक सत्र सुरु हुनुअगावै बैतडीमा पाठ्यपुस्तक पुगेको छ। शैक्षिक सत्र २०८१ सुरु हुनुपूर्व  जिल्लाको पूर्चौडी नगरपालिका,दशरथचन्द नगरपालिका र पाटन नगरपालिकाका पाठ्यपुस्तक विक्रेताहरुसँग पुगिसकेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए। 

अन्य पालिकाहरुमा पनि १,२ दिनभित्रै पाठ्यपुस्तक पुर्‍याइने बताए। बैतडीमा कक्षा १ देखि १० सम्म ६७ हजार ६४६ जना विद्यार्थी रहेकाले त्यति नै संख्यामा पाठ्यपुस्तकको सेट आवश्यक पर्ने अवस्थीले बताए। बैतडीमा ५ सय ३९ ओटा सामुदायिक विद्यालय रहेका छन्। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको धनगढीस्थित कार्यालयले पाठ्यपुस्तक उपलब्ध गराएको हो।  

कक्षा १ देखि १० सम्मका सबै बिषयका पाठ्यपुस्तक विक्रेतासंग पुगिसकेका छन्। सम्बन्धित स्थानीय तहहरुले विद्यालयहरुको खातामा पाठ्यपुस्तक खरीदका लागि रकम निकासा गर्ने गरेको उनले बताए।  

शैक्षिक सत्र सुरु हुनुभन्दा अगावै पाठ्यपुस्तक पुगेपछि पठनपाठनका लागि सहज हुने दोगडाकेदार गाउँपालिका-१ रिममा रहेको पञ्चदेव मा.वि की शिक्षिका इश्वरी खड्काले बताइन्। पाठ्यपुस्तकको अभावमा पठनपाठन कार्य अब प्रभावित नहुने उनको भनाइ छ। 

वैशाख १५ गतेसम्म भर्ना अभियान सञ्चालन हुने शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख अवस्थीले बताए। भर्ना अभियानको पहिला हप्ता विद्यार्थीहरुले विद्यालयमै गएर भर्ना हुने कार्यक्रम रहेको छ। वैशाख ७ गतेदेखि छुटेका विद्यार्थीहरुलाई विद्यालयमा पहुँच पुर्याउन घरदैलो अभियान सञ्चालन हुने अवस्थीले जानकारी दिए । 

प्रकाशित: २० चैत्र २०८० १५:५७ मंगलबार

बैतडी पाठ्यपुस्तक शिक्षा विकास तथा समन्वय इकाइ बैतडी प्रमुख नरेन्द्र अवस्थी