शिक्षा

निःशुल्क पढाऊ, पत्रकारिता जोगाऊ !

आजको पत्रकारिताका कैयौं विधा अनेकौं अनिश्चितताले गाँजिएका छन्। तीमध्ये पाठकसम्म कसरी पुग्ने, हाम्रो कामप्रति सर्वसाधारणको विश्वास कसरी बढाउने, त्यसबापत कसले खर्च गर्ने भन्ने प्रमुख छन्। यी अनिश्चिततामध्ये एउटा कुरा निश्चित छ– अहिले जति संसार अँध्यारो देखिन्छ, त्यो अँध्यारोको रिपोर्ट गर्ने पत्रकार रहेनन् भने अझ बढ्ता अन्धकारको अवस्था आउनेछ। 

पछिल्लो शोधले देखाएको छ, जुन सहरमा स्थानीय समाचारहरू रिपोर्ट गर्ने अखबार बन्द भएका छन्, त्यस्ता ठाउँमा मतदान निकै न्यून हुन थालेको छ। त्यहाँ जनसहभागिता कम र सरकारी भ्रष्टाचार चुलिएको छ। बुझ्न जरुरी छ, यो देशमा जति बढी आवश्यकता नर्स, चिकित्सक तथा दमकलको छ, उति नै जरुरत पत्रकारहरूको छ। यस्तो अवस्थामा पत्रकारहरू जन्माइरहन पत्रकारिता शिक्षा निःशुल्क हुनुपर्छ।

कुनै पनि उद्योग चलाउन अत्यावश्यक जनशक्तिका लागि सरकारले सित्तैमा पढाउँदैन, शुल्क लाग्छ। पत्रकारिता उद्योगका लागि सरकारले सित्तैमा पढाइदिनुपर्ने कुरा अलि फरक जरुर सुनिन्छ। घट्दो आम्दानी र उस्तै घट्दो ग्राहक संख्याका कारण न्युजरुममा पत्रकारहरूको संख्या पनि घट्दै गइरहेको छ।

उनीहरूको जागिर धरापमा पर्दै गइरहेको छ। अमेरिकाका स्थानीय अखबार उद्योग हेज फन्ड सञ्चालकहरूको हातमा पुगिसकेको छ। हेज फन्डहरूले लगानी सुरक्षाका नाउँमा कर्मचारी कटौती गरिरहेका छन्। केही वर्षअघिसम्म खर्बपति व्यापारीहरू मिडिया उद्योगको रक्षकका रूपमा देखिएका थिए।

सुकिरहेको आम्दानीबाट आत्तिरहेका मिडिया उद्योग बचाउन खर्बपतिहरूको पैसाले भूमिका खेल्ने अपेक्षा गरिएको थियो। यो उपाय पनि असफल भइरहेको छ। त्यसमाथि समाचारको मूल्यमाथि सर्वसाधारणको विश्वास ऐतिहासिक रूपमा घट्दो छ। एउटा ठुलो तप्का त सारा समाचार नै छल्ने वा हेर्दैै नहेर्ने अवस्थामा पुगिसकेको छ।

हाम्रो वरपरका सबै कुरालाई नयाँ आकार दिन यही बेला जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) हाजिर भएको छ। उद्योगलाई पुरै परिवर्तन गर्न सक्ने क्षमता लिएर त्यो आएको छ। यस्तो पृष्ठभूमिमा निरंकुशता मन पराउने नेताहरूले पत्रकारहरूलाई राजनीतिक दुस्मन करार गर्न थालेका छन्। त्यो अमेरिकामा नै पनि देखिएको छ। अमेरिकाबाहिर पनि त्यस्तै वातावरण छ।

यसका बाबजुद अमेरिकामा अझै पनि न्युज मिडियाले हजारौंको रोजगारी सिर्जना गरेको छ। हरेक दिन अद्भूत काम भइरहेको छ। केही ठुला मिडिया त यसबीचमा आफूलाई डिजिटल युगमा समेत सान्दर्भिक बनाउँदै अघि बढिरहेका छन्।

पत्रकारिताको महŒव बुझेका केही दानी संस्थाले त स्थानीय पत्रकारिता जोगाउन लाखौं डलर खन्याइरहेका छन्। यसले स्थानीय र संघीय दुवै क्षेत्रको पत्रकारिता जोगाउने अपेक्षा गरिएको छ। यस्ता गतिविधिले गैरनाफामूलक न्युजरुमको संख्या अमेरिकाभरि नै जन्मन थालेका छन्। सानो संख्यामा रहेको यस्ता न्युजरुमले स्खलित विश्वासलाई ससाना समुदायमा क्रमशः स्थापित गर्न भूमिका खेलिरहेका छन्।

यी र यस्ता अनेकन् उदाहरणबाट पत्रकारिताको विश्वासलाई पुनस्र्थापित गर्न आखिरमा पत्रकार चाहिने निचोड निस्किएको छ। मिडियाका लागि सफल बिजनेस मोडल जति बढी आवश्यक छ, उति नै बढी स्वतन्त्र, सशक्त पत्रकार आवश्यक पर्ने भन्ने मान्यता बनेको छ।

पत्रकारहरूको बलले नै पत्रकारितामाथि सर्वसाधारणको विश्वास पुनस्र्थापित हुन्छ भन्ने भएके छ। यस्तो अवस्थामा पत्रकारिता उद्योगलाई बौराउन कल्पनाशील, मिसन लक्षित नयाँ न्युज लिडर चाहिन्छ, ताकि तिनले विगतका मोड र नमुनाबाट पाठ सिक्दै मिडियाको स्वतन्त्रता कायम राख्न यस क्षेत्रलाई पुनर्कल्पना गर्न सकून्।

उनीहरूलाई सर्वसाधारणको हितको सेवा, त्यसप्रतिको उच्च कमिटमेन्ट र संवेदना पनि हुनुपर्छ। यसपछि मात्र पत्रकारितामाथि भएका तमाम आक्रमण र अपयशलाई घटाउन सकिन्छ।

समाचार उद्योगले लामो समयदेखि आर्थिक र सांस्कृतिक विविधताको अभाव झेलिरहेको छ। त्यसले अझै अघि बढ्नुपर्ने अवस्था छ। समाचार जहिले पनि मध्यम वर्गीय, श्वेत, पुरुष पत्रकारमुखी भएर आइरह्यो। जसका कारण सर्वसाधारणको मिडियामाथिको विश्वास घट्दै जान थाल्यो।

हरेक तह र तप्कालाई मिडिया मेरो पनि हो भन्ने विश्वास हुन छाडेको कुरालाई गम्भीरतापूर्वक लिइएन। साधनस्रोत अभावले ग्रस्त मिडिया उद्योगले चलाइरहेको सानो, थोरै जनशक्तियुक्त न्युजरुमले निकै कम पत्रकारिताका दिग्गज उत्पादन गर्छ। ती दिग्गजले भविष्यका गज्जबका पत्रकारहरू जन्माउने सम्भावना निकै कम हुन्छ। यस्तो अवस्थामा उम्दा र गज्जबका पत्रकार जन्माउन पत्रकारिताका स्कुल–कलेजले मात्र सक्छन्।

यो एउटा जनसेवा र कर्तव्य पनि हो। असल रिपोर्टर र गज्जबका न्युज लिडर फेला पार्नु, तिनलाई तालिम दिनु र तिनमा नैतिक आधारशिला भरेर आलोचनात्मक चेत भर्नु, तिनलाई एउटा विश्वासिलो, भरोसायुक्त वातावरण दिएर पटकपटक प्रयोग गर्ने र असफल नहुने वातावरण मिलाइदिनुपर्छ। तिनका लागि ढोका खोलिदिने र सहयोगको नेटवर्क पनि उपलब्ध गराइदिनुपर्छ। 

(पत्रकारिताका कलेजले विविध क्षेत्रका शोधका लागि योगदान दिनुपर्छ, जस्तो कि एआईको प्रभावदेखि नयाँ बिजनेस मोडलदेखि बद्लिँदो परिवेशमा देखापरेका नयाँ खतरा पत्ता लगाउने र त्यसलाई व्यवस्थापन गर्नेसम्मका नयाँनयाँ कुरा सिकाउनुपर्ने हुन्छ।)

तर पत्रकारितामा यस्ता दक्ष जनशक्ति खोज्ने, तिनलाई दीक्षित गर्ने, तिनलाई भविष्यका लागि तयार पार्ने कुरा निकै महँगो खेल हो। यत्तिको महँगो र सशक्त तयारीका बाबजुद जब एउटा पत्रकार बाहिर निस्कँदा उसले बोक्ने ऋणको बोझ, उसले झेल्ने व्यावसायिक तगाराले क्षमतालाई खुम्च्याउने गर्छन्।

अमेरिकामा उच्च शिक्षाका लागि ऋण लिनुपर्छ। ऋणले थिचिएको एउटा पत्रकार जब काममा निस्कन्छ, उसले पाउने तलब यति कम हुन्छ कि छोटो समयमा नै ऊ पत्रकारिताबाट अघाउँछ। अमेरिकाको ब्युरो अफ लेबर स्टाटिस्टिक्सका अनुसार एउटा ठिकैको पत्रकारले वर्षमा ४६ हजार डलर मात्र कमाउँछ। यस हिसाबले घण्टाको २७ डलर मात्र।

अर्कोतर्फ गाउँघरतिरका रिपोर्टरहरूको अवस्था अझ दिक्दारलाग्दो छ। उनीहरूको वार्षिक आम्दानी जम्मा २० हजार डलर हुने गर्छ। वाल स्ट्रिट जर्नलको रिपोर्टका अनुसार ऋणको तुलनामा आम्दानीको अनुपात हेर्ने हो भने १६ वटा पत्रकारिताको स्नातकोत्तर कार्यक्रमले कुनै आम्दानी नदिने देखिएको छ। यस हिसाबले उनीहरूले तिर्ने ऋण त झन् असम्भव नै देखाएको छ।

सिटी युनिभर्सिटी अफ न्युयोर्कस्थित क्रेग न्युमार्क ग्राजुएट स्कुल अफ जर्नालिजमका डिनका हिसाबले भन्न सक्छु, पत्रकारिताका क्षेत्रमा देखिएको यस हदको व्याकुलताको कुनै समाधान छैन। कुलीन पत्रकारिताका कलेजहरूविरुद्ध कुनै वैकल्पिक संस्था उभ्याउन सकियोस् भनी सन् २००६ मा यो कलेज खुलेको थियो। यो देशकै सस्तो पत्रकारिता कलेजका रूपमा उदाएको थियो।

कुनै उच्च नाम बनाएका पत्रकारिताका कलेजले दिने डिग्रीको तुलनामा हाम्रो सस्तो दरको कलेजले निकै राम्रो प्रतिस्पर्धा देखाएको थियो। यस वर्ष मात्र पनि ९० प्रतिशतभन्दा बढी विद्यार्थी छात्रवृत्तिमा पढिरहेका छन्। तीमध्ये २५ प्रतिशतको शुल्क मिनाहा गरिएको छ। हामीले भर्ना निवेदनजस्ता शीर्षकमा लिइने ७५ डलर शुल्क हटाइदिएका छौँ। त्यो हटाउनेबित्तिकै भर्ना दर ५० प्रतिशतले बढेको छ।

यस्ता नीतिका कारण मिडिया उद्योग असफल भइरहेका बेला हाम्रो कलेज भने सफल भइरहेको छ। हाम्रोमा ५० प्रतिशतभन्दा बढी विद्यार्थी अश्वेत र भुइँ तप्काका छन्। पर्याप्त छात्रवृत्ति दिन सकिएन भने उनीहरू त कक्षा लिनै सक्तैनन् तर हामीले गरिरहेको काम पनि पर्याप्त भने छैन। हाम्रा विद्यार्थी अझै पनि ऋणमुक्त हुन सकेका छैनन्, जबकि उनीहरूको खर्च निकै कम छ।

त्यसैले सन् २०२७ भित्र हामीले हाम्रो कलेजलाई पूर्ण रूपमा निःशुल्क कलेज बढाउने अभियान सुरु गरेका छौं। अन्य पत्रकारिताका कलेजले अन्य किसिमका आर्थिक चुनौती झेलिरहेका बेला धेरैले हाम्रो नमुना कार्यक्रम पछ्याउने आशा गरेको छु। हामीलाई त्यस्ता पत्रकार चाहिएको छ, जसको उत्तरदायित्व तथ्य मात्र होस्, जसले समाजका लागि बाँच्ने उद्देश्य लिएको होस्, उसको उत्तरदायित्व ऋण चुकाउनुप्रति नहोस्।

उसलाई जनहितको मात्र चासो होस्, आफूले तिर्नुपर्ने ब्याजको दरको नहोस्। उसले यस्तो खतरा मोलोस्, गज्जबको निर्णय गरोस्, अप्ठेरो बाटो छनोट गरोस् र जीवनको मूल उद्देश्य पत्रकारितामार्फत असल मिसनमा लाग्न सकोस्। त्यसका लागि ऊ ऋणमुक्त हुनुपर्छ। उसलाई कुन बेला जागिर खाइहालूँ र ऋण तिरिहालूँ भन्ने दबाब नरहोस्। यसका लागि पत्रकारिता स्कुल, कलेजले सहयोग गर्न सक्छन्। यस्तो अप्ठेरो समयमा विगतप्रति शोक मनाउनु स्वाभाविक छ अथवा वर्तमानप्रति पछुताउनु ठिकै हो तर भविष्य ठीक पार्न हामीले ठोस काम गर्नुपर्ने बेला आएको छ।

(लेखिका ग्रासिएला मोच्कोफ्स्की सिटी युनिभर्सिटी अफ न्युयोर्कस्थित क्रेग न्युमार्क ग्राजुएट स्कुल अफ जर्नालिजमका डिन हुन्।)

अनुवाद : अच्युत कोइराला

प्रकाशित: १२ चैत्र २०८० ०७:१४ सोमबार

पत्रकारिता पाठक सर्वसाधारण शोध अखबार ग्राहक पत्रकारिता शिक्षा निःशुल्क जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स