शिक्षा

उच्च शिक्षामा छोरालाई उन्छिन्दै छोरीहरू

त्रिविको ४९औं दीक्षान्त समारोहमा सहभागी छात्रा। फाइल तस्बिर: नागरिक

पछिल्लो दशकको तथ्यांक हेर्दा उच्च शिक्षामा विभिन्न विषयतर्फ उत्कृष्ट स्थान हासिल गर्ने छात्राको संख्या बढ्दै गएको देखिएको छ। पछिल्लो दशकमा विश्वविद्यालयले विभिन्न विषयमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई प्रदान गरेका पदक पाउनेमा छात्रा अगाडि देखिएका छन्।

यो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले दीक्षान्त समारोहमा वितरण गरेका स्वर्ण पदकको अभिलेखमा आधारित हो। बितेको दशकमा व्यवस्थापन, मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङलगायत संकाय र संस्थानमा स्नातक तहदेखि एमफिलसम्म एक सय २४ छात्रा सर्वोत्कृष्ट/उत्कृष्ट भई विभिन्न पदक हात पार्न सफल भएका छन्।

गत पुस २ गते सम्पन्न त्रिविको ४९औं दीक्षान्त समारोहमा स्वर्णपदक प्राप्त गर्नेमा छात्राको बाहुल्य देखिएको छ।

भक्तपुरकी पलिस्था रञ्जितकार त्रिविअन्तर्गतको ख्वप कलेजबाट एमए अंग्रेजी साहित्यमा ३.९१ सिजिपिएसहित प्रथम स्थान हासिल गरी नरेन्द्रमणि आचार्य दीक्षित पदक र डा. मोहनप्रसाद लाखे स्वर्ण पदक प्राप्त गर्न सफल भइन्। आफूले परिश्रम गरेकै कारण दुईवटा पदक पाएको र यसबाट गर्व महसुस भएको उनले बताइन्।

२६ वर्षीया उनी अहिले त्रिविमै सोही विषयमा एमफिल गर्दैैछिन्। उनका अनुसार पछिल्लो समय घरव्यवहार मिलाउन र उज्ज्वल भविष्यको खोजीमा बिदेसिने पुरुषको संख्या उच्च छ। यसकारण पनि उच्च शिक्षा हासिल गर्ने पुरुषको संख्या कम हुँदै गएकाले यसको फाइदा महिलालाई भएको उनको बुझाइ छ।

‘उच्च शिक्षामा पछिल्लो एक दशकमा छात्राको पहुँच बढेको छ। धैर्यतापूर्वक अध्ययन गर्ने हुँदा पनि छात्रा अब्बल हुँदै गएका हुन्,’ अर्को कारण खुलाउँदै उनले भनिन्, ‘महिलालाई उच्च शिक्षामा अब्बल बनाउन पछिलो समय घरपरिवार र समाजको सोचमा भएको सकारात्मक परिवर्तनले पनि सघाएको छ। कक्षा १२ पास गर्नासाथ छोरीको बिहे गरिदिने आमाबुबाले अहिले कम्तीमा स्नातकसम्म पढाउन थाल्नुभएको छ। मेरा अभिभावकले पनि मलाई बिहेभन्दा शिक्षामा जोड दिनुपर्छ भन्नुभएको छ। त्यसैले आज म एमफिल गर्दैछु।’

पदक प्राप्त गर्ने छात्रा विज्ञान तथा प्रविधिका विषयमा भन्दा पनि सामाजिक विज्ञानतर्फ बढी रहेको तथ्यांकले देखाउँछ। कुल पदकमध्ये सबैभन्दा बढी मानविकी विषयमा छन्। पछिल्लो दशकमा मानविकीतर्फ ५७ वटा विधामा सर्वोत्कृष्ट/उत्कृष्ट भएर छात्राले पदक पाएका छन्। त्यसपछि छात्राले व्यवस्थापनतर्फ धैरे पदक पाएका छन्।

त्रिवि दीक्षान्त समारोह, २०६९ मा प्रदान गरिएको पदक अभिलेखअनुसार ८ जना छात्राले विभिन्न विषयमा पदक पाएको देखिन्छ। जसमध्ये विज्ञानतर्फ २, मानविकीतर्फ ३, व्यवस्थापनतर्फ २ र शिक्षातर्फ १ छात्रा थिए।

२०७० सालको दीक्षान्तमा ११ छात्रा (मानविकीमा ९ र व्यवस्थापनमा २) ले पदक पाए। २०७१ सालको दीक्षान्तमा विभिन्न विषयमा पदक पाउने छात्राको संख्या १५ (विज्ञानतर्फ १, व्यवस्थापनतर्फ ३, मानविकीतर्फ ८, शिक्षातर्फ १, कानुनतर्फ १ र इन्जिनियरिङतर्फ १ ) पुग्यो।

 २०७२ सालको दीक्षान्तमा विभिन्न विधामा १० छात्राले पदक पाए। पदक पाउने छात्रामा विज्ञानतर्फ १, व्यवस्थापनतर्फ ४, मानविकीतर्फ २, शिक्षातर्फ २ दर कानुनतर्फ १ थिए। २०७४ सालको दीक्षान्त विज्ञानतर्फ १, यवस्थापनतर्फ ४, मानविकीतर्फ ४, शिक्षातर्फ १ र कानुनतर्फ १ छात्राले पदक पाए।

२०७५ सालमा छात्राले एमफिलतर्फ पनि उत्कृष्ट स्थान हासिल गरेको त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। यो वर्ष मानविकी एमफिलतर्फ अल्काश्री श्रेष्ठले प्रथन स्थान हासिल गरी पदक प्राप्त गर्न सफल भइन्। त्यसवर्ष १५ छात्रा पदक पाउन सफल भएका थिए।

 जसमध्ये पदक पाउनेमा विज्ञानतर्फ १, व्यवस्थापनतर्फ २, मानविकीतर्फ ९ (एमफिलसहित), शिक्षातर्फ १ र कानुनतर्फ २ थिए। त्रिवि परीक्षा नियन्त्रण कार्यालयको अभिलेखअनुसार २०७६ सालको दीक्षान्तमा १२ छात्राले पदक पाएको देखिन्छ। त्यस वर्ष पदक पाउने छात्रामा विज्ञानतर्फ २, व्यवस्थापनतर्फ १, मानविकीतर्फ ६ (एमफिलसहित), शिक्षातर्फ १, इन्जिनियरिङतर्फ १ र कानुनतर्फ १ थिए।

त्यस्तै २०७७ सालको दीक्षान्तमा भने पदक पाउने छात्राको संख्या घटेर ७ मा सीमिति भयो। त्यसवर्ष विज्ञानतर्फ १, व्यवस्थापनतर्फ २, मानविकीतर्फ ३ र कानुनतर्फ १ छात्राले पदक पाए। २०७८ सालमा १३ छात्राले पदक पाए। त्यसवर्ष व्यवस्थापनतर्फ ६, मानविकीतर्फ ५, शिक्षातर्फ १ र कानुनतर्फ १ छात्राले पदक पाए। त्यस वर्ष विज्ञानतर्फ भने छात्राले कुनै पदक पाएनन्।

 २०७९ सालमा ११ छात्राले पदक पाए। यसरी पदक पाउनेमा विज्ञानतर्फ १, व्यवस्थापनतर्फ ३, मानविकीतर्फ ५, शिक्षातर्फ १ र कानुनतर्फ १ छात्रा थिए। त्यस्तै २०८० सालको दीक्षान्तमा ११ छात्राले पदक पाए। जसमध्ये विज्ञानतर्फ १, व्यवस्थापनतर्फ ३, मानविकीतर्फ ५, शिक्षातर्फ २ छन्।

एक दशकअघिसम्म छोरीबुहारीले मात्र समाजिक विज्ञान पढ्ने हो भन्ने सोच थियो। अहिले त्यो सोच बदलिएको त्रिविकी प्राध्यापक संगीता रायमाझीले बताइन्। ‘पहिले अभिभावकले छोरीले प्रमाणपत्र तह पास गर्नासाथ बिहेमा जोड दिन्थे। स्नातक तहसम्म पुग्दा धेरै छात्राको बिहे भइसकेको मैले कक्षा कोठामा पढाउँदाको अनुभव छ,’ उनले भनिन्, ‘अहिले घर नजिकै कलेज पुगे। अभिभावकमा छोरी आर्थिक र शैक्षिक रूपमा सक्षम भए घरपरिवारलाई थप सहयोग गर्न सक्छिन् भनने सोचको विकास बढ्यो। र, छोरिको उच्च शिक्षामा पहुँच बढ्न थाल्यो। पहुँचसँगै अवसर पाए। पढाइमा पनि उत्कृष्ट स्थान बनाउन थाले।’

घरपरिवार सम्हालेर बचेको समयमा अध्ययन गर्नुपर्ने भएकाले विज्ञानतर्फ भने छात्राको उपस्थिति कम भएको विज्ञहरूको तर्फ छ। मानविकीबाहेक अहिले व्यवस्थापन, कानुनलगायतका विषयमा पनि छात्राको संख्या बढिरहेको छ।

एक दशकको अवधिमा मानविकीपछि व्यवस्थापन संकायतर्फ स्नातकदेखि स्नातकोत्तर तहससम्म ३३ छात्राले पदक प्राप्त गरेका छन्। एक दशकको अवधिमा मानविकीतर्फ ५७, व्यवस्थापनतर्फ ३३, विज्ञानतर्फ १०, कानुनतर्फ ९, इन्जिनियरिङतर्फ २ जना छात्राले उत्कृष्ट स्थान हासिल गरी पदक पाएका छन्। यस अवधिमा एमफिलतर्फ २ छात्रा उत्कृष्ट भएको परीक्षा नियन्त्रक जोशीले बताए।

विश्वविद्यालय अनुदान आयोगको तथ्यांकअनुसार बितेको पछिल्लो दशकमा उच्च शिक्षामा महिलाको पहुँच ह्वात्तै बढेको छ। २०७० सालमा ४ लाख ५८ हजार ६ सय २१ विद्यार्थी अध्ययन गर्थे। जसमध्ये छात्राको संख्या २ लाख ५ हजार ९ सय १५ थियो। अर्थात् उच्च शिक्षा अध्ययन गर्ने ४४ प्रतिशत महिला थिए।

२०७९/८० मा ११ वटा विश्वविद्यालय, ५ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान र २ वटा प्रादेशिक विश्वविद्यालय १८ शैक्षिक संस्थानमा ५ लाख ७९ हजार ४ सय ४८ विद्यार्थी अध्ययन गरिरहेको विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष प्राध्यापक देवराज अधिकारीले बताए। जसमध्ये छात्राको संख्या ३ लाख १९ हजार ३ सय ३७ छ। अर्थात् ५५.११ प्रतिशत छात्राको पहुँच उच्च शिक्षामा पुगेको छ। एक दशकको अवधिमा तथ्यांक ठ्याक्कै उल्टिएको छ। अधिकारीले भने, ‘यो सकारात्मक परिवर्तन हो। अझै व्यवस्थापन संकायतर्फ छात्रा बढ्दै गएका छन्।’

शिक्षाविद् विद्यानाथ कोइरालाको भनाइमा पुरुष बिदेसिएकाले पनि उच्च शिक्षामा महिलाले अवसर पाएका हुन्। ‘शिक्षालगायत प्रत्येक क्षेत्रमा आरक्षणले गर्दा पढेका महिलाले अवसर दुवै पाए। यसले गर्दा उच्चशिक्षामा महिलाको संख्या बढ्दै आएको छ,’ कोइरालाले भने, ‘पढाइमा पनि अब्बल स्थान हासिल गर्दैैछन्। यो सकारात्मक पक्ष हो।’

प्रकाशित: २ चैत्र २०८० ०७:१७ शुक्रबार

उच्च शिक्षामा छोरालाई उन्छिन्दै छोरीहरू पदक पाउनेमा छात्रा अगाडि