शिक्षा

खेती गर्दै पढ्दै विद्यार्थी, स्कुलमै तरकारी उत्पादन

म्याग्दीको मंगला गाउँपालिका–२, बावियाचौरकी सरिता बुढाले मंगला माध्यामिक विद्यालय कक्षा १२ बालीविज्ञान विषयमा अध्ययनरत छिन्।

विद्यालयमा प्राविधिक धारअन्तर्गत बाली विज्ञान विषयमा पढाइ सुरु भएपछि बुढाले तरकारी, फलफुल च्याउ उत्पादनबारेमा प्रयोगात्मक अभ्यासबाट सिक्ने अवसर पाइन्। कक्षा कोठाबाहेक खेतबारीमा समेत पुगेर कृषिसम्बन्धी जानकारी पाएकी बुढाले अहिले घरमै च्याउ खेती गरी १२ केजी च्याउ बजारमा बिक्री गरिसकेकी छन्।

विद्यालयकी छात्रा बुढासँगै कक्षा १२ का ईश्वर गिरी, वर्षा बानियाँ र कक्षा ९ की मुना बानियाँले विद्यालयमा च्याउ, तरकारी र ड्रागन खेतीमा सक्रिय छन्। घरमा खेती किसानी नगरेका विद्यार्थीले बालीविज्ञान पढ्न थालेपछि अहिले विद्यालयले भाडामा लिएको दुई रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिएको छ।

‘पहिलोपटक गरिएको च्याउ खेती सफल भएको छ, हामीले २० केजीभन्दा बढी बिक्रीसमेत गरिसकेका छौं,’ विद्यार्थी वर्षा बानियाँले भनिन्। उनले च्याउ र टमाटर, तरकारी खेतीका लागि टनेल जडानदेखि उत्पादनका लागिसमेत सबै किताबी ज्ञानबाट सिकेको बताइन्। नियमित बजारमा खपत हुने र धेरै आम्दानी हुने क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालय उमेरमै आम्दानीको कार्ययोजना समेत बनाएका छन्।

विद्यार्थीले च्याउ, बैमौसमी तरकारी, टमाटरलगायतका कृषि उपजका बारेमा अभिभावकलाई समेत सिकाउने गरेका छन्। ‘विद्यालयमा पहिलोपटक च्याउ खेतीबारेमा जानकारी पाएँ, अब मैले घरमै पनि फलाउन सक्नेगरी सिकेको छु,’ अर्की विद्यार्थी मुना बानियाँले भनिन्।

उनले बाली विज्ञानले परम्परागत खेती गर्ने गाउँघरका अभिभावकलाई नयाँ प्रविधि प्रयोग गरेर आधुनिक खेती गर्न सिकाउनसमेत सहज भएको बताइन्। उत्पादन गरेको च्याउ लिन ग्राहक बारीमै पुग्न थालेपछि टनेल थपेर बाह्रै महिना च्याउ उत्पादन गर्ने योजना बनाएको बताइन्।

पढ्दै, सिक्दै, कमाउँदै गर्ने योजनामा रहेका विद्यार्थीले फुर्सदको समयमा घरमा समेत खेतीपातीमा व्यस्त हुने गरेको विद्यालयका प्रधानाध्यापक गम केसीले बताए। उनका अनुसार २ रोपनी जमिनमा हुने खर्च कटाएर आम्दानी सबै विद्यार्थीलाई उपलब्ध गराउने बताए।

बाली विज्ञान विषय पढ्ने विद्यार्थीले भविष्यमा कृषि क्षेत्रमै सक्रिय हुने योजना बनाएका छन्। कृषि उत्पादन र आम्दानीका बारेमा बुझेका अभिभावकले समेत विद्यार्थीलाई हौसला दिन थालेपछि आगामी शैक्षिक सत्रमा विद्यार्थीको संख्या बढ्ने अनुमान गरिएको प्रअ खत्रीको भनाइ छ।

विद्यार्थीले प्रयोगात्मक अभ्यासबाटै पढाइ खर्च जुटाउने बताएपछि थप जग्गा भाडामा लिएरसमेत प्रोत्साहन गर्ने प्रअ खत्रीले बताए। विद्यार्थीले मौसम अनुकूलको उत्पादन गर्न सक्नेगरी बाली विज्ञान विषयका संयोजक विवेक किरण सापकोटा, शिक्षक करण कँडेल, दीपा केसीलगायतले प्रयोगात्मक अभ्यासलाई पाठ्यपुस्तकसरह समय विभाजन गरेपछि विद्यार्थीलाई सहज भएको छ। विद्यार्थीले विषादीरहित उत्पादन गर्ने गरेका छन्। मल बोक्ने, बारी खनजोत, गोडमेल, नियमित हेरचाह गर्ने विद्यार्थीले तालिका नै बनाएका छन्।

विद्यालयमा प्राविधिक धारतर्फ २०७६ देखि कक्षा नौदेखि १२ सम्म बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ। हाल ४४ जना विद्यार्थीले बाली विज्ञान विषय रोजेका छन्। बाली विज्ञान विषयको पाठ्यक्रमअनुसार सैद्धान्तिक ४० प्रतिशत र प्रयोगतात्मक ६० प्रतिशत हुन्छ।

सोहीअनुरूप कृषिका लागि छुट्टै प्रयोगशालासमेत विद्यालयले स्थापना गरेको छ। माटो परीक्षण, बीउ उत्पादनलगायत विषय प्रयोगशालामा विद्यार्थीलाई सिकाउने गरिएको छ। विद्यालयका विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत विद्यालयमा उत्पादन गरेको कृषिउपजको प्रदर्शनीसमेत गर्ने गरेका छन्।

प्रकाशित: २० फाल्गुन २०८० ०७:४० आइतबार

स्कुलमै तरकारी उत्पादन खेती गर्दै पढ्दै विद्यार्थी मंगला गाउँपालिका बावियाचौर बालीविज्ञान विषय मंगला माध्यामिक विद्यालय