शिक्षा

कालिकोटमा शैक्षिक सुधारका लागि पढाइ मेला

कालिकोटको नरहरिनाथ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि पहिलो पटक पालिका स्तरीय पढाइ मेला संचालन गरेको छ।

बालबालिकामा पठनपाठन गर्ने बानीको विकास गर्न पहिलो पटक बृहत् पढाइ मेला तथा शैक्षिक सामाग्री प्रदर्शनीको आयोजना गरिएको गाउँपालिकाले जनाएको छ।

मेलामा विद्यालय तथा बालबालिकाले निर्माण गरेका पठन तथा खेलका सामग्री, पाठ्य पुस्तक, अक्षर पत्ती खेल, डोजर, गाडी, जस्ता विभिन्न शैक्षिक सामाग्री प्रदर्शनीमा राखिएको थियो।

नेपाली, अङ्ग्रेजी, विज्ञान र प्रविधि, सामाजिक, खेल, चित्रकला, चित्रकथा, गणित, पेपरक्राफ्ट विधाका सामग्री मेलामा प्रस्तुत गरिएको थियो।

रमा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा निकिता भण्डाराले मेलामा आउँदा शैक्षिक सामाग्री पनि यति धेरै हुँदा रहेछन् भन्ने थाहा पाएको सुनाइन्। उनले आफूले जाने र बुझेसम्मका शैक्षिक सामाग्री लिएर मेलामा सहभागी भएको र धेरै विद्यालयले फरक-फरक सामाग्री ल्याउँदा अनुभव साटासाट गर्ने राम्रो अवसर मिलेको बताइन्।

नन्दादेवी माध्यमिक विद्यालयका शिक्षक हिरामणी सिम्खाडाले बालबालिकामा पढाइप्रति रुचि बढाउन पढाइ मेला निकै प्रभावकारी देखिएको बताए।

उनले भने, ‘मेलाले शैक्षिक सामाग्रीको प्रयोग, पठन संस्कृतिको विकास गर्न पनि मद्दत गरेको छ। विद्यार्थीलाई विषयगत विषयमा उत्प्रेरणा दिन, पढाइलाई प्रतिस्पर्धात्मक बनाउन र बालबालबालिकालाई पढाइप्रति रुचि बढाउने काम गरेको छ।’

गाउँपालिकाका उपाध्यक्ष कमलकुमार शाहले पालिकाभित्र रहेका सामुदायिक विद्यालयलाई शिक्षा क्षेत्रको नयाँ अनुभव भएको सुनाए। उनले यस्ता मेलालाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

बालबालिकामा पुस्तक तथा बालमैत्री शैक्षिक सामाग्रीको पहुँच बढाउँदै पठन संस्कृति विकास गर्ने उद्देश्यले पढाइ मेला गरिएको शिक्षा प्रमुख दुर्गलाल न्यौपानेले बताए। उनले पढाइ मेलालाई गाउँपालिकाले अगामी वर्षको शैक्षिक पात्रोमा पहिलो प्राथमिकता राख्ने प्रतिबद्धता जनाए।

मेलामा भएका प्रस्तुतिमा माध्यमिक तह उत्कृष्ट नन्दादेवी माध्यमिक र आधारभूत तह चैथिकोट अधारभुत विद्यालय भएका छन्। नरहरिनाथकै लालु गा.वि.मा २०७३ मा शैक्षिक इतिहासमै पहिलो पटक स्थानीय शैक्षिक सामाग्री पर्दशर्नी मेला भएको हो।

मेला गाउँपालिकाका १३ आधारभूत र ६ माध्यमिक विद्यालयका एक हजार बढी शिक्षक, विद्यार्थी, अभिभावक लगायत शैक्षिक सरोकारवालाहरुले अवलोकन गरेका थिए। 

प्रकाशित: २९ माघ २०८० १६:२८ सोमबार