शिक्षा

बाहिरबाट उपकुलपति कति सम्भव ?

‘बौद्धिकहरूले दरखास्त हाल्दैनन्’

तीन महिनाका लागि त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपति प्राडा शिवलाल भुसालको कार्य अवधि माघ १७ गते सकिएको थियो। नयाँ उपकुलपति नियुक्ति तत्काल गर्नुको साटो उनै भुसाललाई फेरि तीन महिना म्याद थप गरिएको छ।

एकातिर समयमै पूर्णकालीन उपकुलपति नियुक्त गर्न ढिलाइ भइरहेको छ भने अर्को तिर त्रिवि ऐन अनुसार उपकुलपतिका लागि सहकुलपति एवं शिक्षामन्त्री अशोक कुमार राईको संयोजकत्वमा तीन सदस्य सर्च कमिटीले आवेदन लगिसकेको छ। तर उपकुलपति टुङ्गो अझै लागेको छैन। उपकुलपतिका लागि आह्वान गरिएको निवेदनमा २ महिलासहित ४३ ले आवेदन दिएका छन्।

शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले त्यसलाई सर्च कमिटी होइन कल कमिटी भन्दै आएका छन्। उनका अनुसार सर्च कमिटी सदस्यहरूले उपयुक्त व्यक्ति खोजी गरी त्रिविको उपकुलपतिको नाम कुलपतिसमक्ष सिफारिस गर्ने हो। 

‘तर सर्च कमिटीले आवेदन कल मात्र गर्‍यो कमिटीका सदस्यहरूले विज्ञहरूसँग छलफल गरी उपयुक्त व्यक्ति खोजी गर्न पहलै गरेन,’ कोइराला भने,‘बौद्धिक व्यक्ति दरखास्त हाल्दैनन्। सर्च कमिटीले विज्ञसँग छलफल गरी उपयुक्त व्यक्तिको छुटै रोष्टर तयार गर्नु पर्थ्यो र आवेदनको पनि मूल्याङ्कन गरी दुवै प्रक्रियामध्ये उपयुक्त नाम छनौट गरी कुलपति समक्ष सिफारिस गरिनुपर्दथ्यो।’

शिक्षाविद् प्राडा कोइरालाका अनुसार सर्च कमिटी गठन गरी उपकुलपति छनौट गर्ने प्रक्रिया विश्वव्यापी अभ्यास भए पनि नेपालको सन्दर्भमा सर्च कमिटीका सदस्यले सर्च गर्ने काम गरेका छैनन्।

कात्तिक १६ गते प्राडा धर्मकान्त बासकोटाको चार वर्षे कार्य अवधि सकिएपछि भुसालले निमित्तको जिम्मेवारी पाएका छन्।

राजनीति शास्त्री कृष्ण खनालले त्रिवि र त्रिवि बाहिर यस्ता थुप्रै योग्य तथा क्षमतावान् प्राज्ञिकहरू भएकाले उनीहरू छुटै रोष्टर बनाएर जानु पर्ने बताए। 

उनले विश्वविद्यालयमा विगतमा भएको चरम राजनीति भागबन्डाकै कारण विश्वविद्यालयको प्राज्ञिक, शैक्षिक तथा प्रशासनिक उन्नति हुन नसकेको अवगत गराउँदै उनले सरकारले कम्तीमा खुलाबाट उपकुलपति छनौट गर्ने आट गरे पनि सर्च कमिटीले नखोजेसम्म बाहिरबाट पनि खोज्नु पर्ने धारणा राखे। 

‘पहिले विश्वविद्यालयको उपकुलपति राजाले कुलपतिको हैसियतले नियुक्ति गर्ने थियो। ०४६ पछि प्रधानमन्त्रीले उपकुलपति छान्ने नियम आयो तर यो पुरै विश्वविद्यालयको हित विपरीत रह्यो ,’ राजनीति शास्त्री खनालले भने, ‘उपकुलपतिका लागि ४३ जनाको दरखास्त परेपनि बाहिर पनि थुप्रै योग्य  र सक्षम  दाबेदारहरू हुनुहुन्छ।’

‘त्रिविको मुख्य समस्या नै परीक्षा कार्यालयलाई अटोमेसनमा नलानु, त्रिविका केन्द्रीय कार्यालय र अन्य संस्थाहरूमा स्वायत्त कार्यक्रम सञ्चालन गर्न नसक्नु। जस्तै बिबिए र एक बिबिएलाई व्यवस्थित गर्न नसक्नु, आइओएम र आइओएमा आर्थिक अनुशासन कायम हुन नसक्नु लगायतका समस्या छन्,’ त्रिवि व्यवस्थापन केन्द्रीय विभागका प्राडा भोजराज अर्यालले भने, ‘त्रिविभित्र आंगिक कलेजहरू र संस्थानहरूमा पढ्ने पढाउने, शिक्षक कर्मचारी, सम्पत्ति व्यवस्थापन तथा आर्थिक व्यवस्थापन समस्या छ।’

प्रकाशित: २४ माघ २०८० १५:५१ बुधबार