शिक्षा

त्रिविले बनाएको ८९ वटा कानुनमाथि संसदीय समितिको चासो

त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ५ नियम,३४ विनियम,३४ कार्यविधि,१६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएको प्रति संसदीय समितिले चासो देखाएको छ।

राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा सांसदहरूले त्रिभुवन विश्वविद्यालयले बनाएको ८९ वटा कानुनप्रति चासो देखाएका हुन्।

बैठकमा सहभागी त्रिविका उपकुलपति प्रा.डा शिवलाल भुसालले ऐनले अहिलेको अवस्थालाई सम्बोधन गर्न नसकेका कारण विनियम बनाइएको बताए।

परियोजना नयाँ आउँदा त्यसकालागि नयाँ कानुनको आवश्यकता पर्ने उनको भनाइ छ। ऐनले दिएको अधिकार भन्दा बाहिर गएर नियम बनाउने नियत नभएको उनले बताए।

सांसदहरूले आफूलाई जति बेला जे कुरा चाहियो त्यसकालागि कार्यविधि बनाइएको प्रति आपत्ति जनाएका थिए। एउटा ऐनका आडमा ८९ नियम, विनियम, कार्यविधि बनाएका कारणको परिणाम त्रिविमा बेथिति निम्तिएको हो कि भन्ने आशङ्का गरिएको छ भन्दै उनीहरूले बेथिति निम्तिन नदिने गरी जान सुझाव दिएका छन्।

प्रकाशित: ३ माघ २०८० १०:२३ बुधबार

त्रिभुवन विश्वविद्यालय प्रत्यायोजित व्यवस्था तथा सरकारी आश्वासन समिति